0 COMMENTS

चैत २७, सुर्खेत । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नवउदारवादी नीतिलाई अँगालेर समाजवादको कुरा गर्नेहरु कम्युनिस्टको आवरणमा बदमास भएको टिप्पणी गर्नुभएको छ । सुर्खेत पुगेर एउटा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नवउदारवादी नीतिलाई अँगालेर कम्युनिस्टहरुले भन्ने गरेको वैज्ञानिक समाजवादमा पुग्न नसकिने स्पष्ट विचार व्यक्त गर्नुभएको छ । कमरेड हर्कबहादुर शाहीको स्मृति दिवसको सन्दर्भ पारेर “जनआन्दोलन दिवस र कम्युनिस्टहरु’ शीर्षकमा राखिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष समेत रहनु भएका कमरेड किरणले यस्तो विचार व्यक्त गर्नुभएको हो ।

उहाँले संयुक्त जनआन्दोलन गरेर पञ्चायतलाई ढाल्ने, दीर्घकालीन किसान आन्दोलन गर्नुपर्ने लगायतका नीति र कार्यक्रमहरु कमरेड पुष्पलालका सही भएको भन्दै २००७ सालको क्रान्ति र दशवर्षे जनयुद्धलाई नेपालको राजनीतिक इतिहासको महान परिघटना भएको बताउनु भयो । उहाँले दशवर्षको जनयुद्ध नभएको भए नेपालमा गणतन्त्र स्थापना नहुने पनि दावी गर्नुभयो । गणतन्त्र जनयुद्धका कारणले मात्रै स्थापित भएको भए पनि ००७ सालको क्रान्ति र दशवर्षको जनयुद्धले शासनसत्ता मात्रै बदलेको तर राज्यसत्ता बदल्न नसकेको उहाँको भनाइ थियो ।

उहाँले स्पष्ट पार्नुभयो, “राज्यसत्ता र शासन सत्ता एउटै कुरा होइन । राज्यसत्ता भनेको एउटा वर्गको हातमा रहेको सत्ता अर्को वर्गको हातमा जानु हो । तर शासन सत्ता मात्र बदलिनु भनेको राजनीतिक स्वरुप बदलिए पनि घुमिफिरि एउटै वर्ग सत्तामा रहिरहनु हो । राणा शासनदेखि अहिलेसम्म एउटै वर्गको हातमा नेपालको राज्यसत्ता रहेको छ ।”

उहाँले खण्डन र गालीलाई मानिसहरुले एउटै अर्थमा बुझ्ने गरेको भन्दै कम्युनिस्टहरुले बोल्दा र लेख्दा व्यक्तिगत तुच्छ गालीगलौजको भाषा प्रयोग गर्न नहुने पनि बताउनु भयो । उहाँले अहिलेको दलाल संसदीय व्यवस्थाको अन्त्य गरेर मुलुकमा संघीय जनगणतन्त्र स्थापना गर्नु अपरिहार्य बनिसकेको भन्दै छरिएर रहेका सबै कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकताबद्ध हुन आव्हान समेत गर्नुभयो ।

कार्यक्रम हर्कबहादुर शाही स्मृति प्रतिष्ठानले गरेको थियो । कार्यक्रममा वामपन्थी लेखक नरेन्द्रजंग पिटरले कार्यपत्र पेश गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष दिपक शाहीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।