0 COMMENTS

नेपाली जनताको मुक्तिकामी अभियानमा सर्वप्रथम लखन थापाले सहादत प्राप्त गरे, यद्यपि यसअघि नै सहादतको प्रक्रिया सुरु भइसकेको थियो । राणाविरोधी आन्दोलनमा गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीले हाँसीहाँसी जीवनाहुति दिए । युवाविद्यार्थी चिनियाँकाजी श्रेष्ठ, क्रान्तिकारी किसान नेता भीमदत्तदेखि विद्रोही कामी बुढा मगरले पनि महान् सहादत प्राप्त गरे ।

लेखक : खेम थपलिया

पूर्वी नेपालको बारा, पर्सा, रौतहटमा २०११/०१२ तिर सशक्त किसान आन्दोलनका क्रममा सुखलाल महतोदेखि पञ्चायती निरङ्कुशताविरोधी आन्दोलनमा मधेसका कामेश्वर र कुशेश्वर यादवले पनि नेपाली धर्तीमा आफ्नो अमूल्य रगत बगाए । पञ्चायती शासनविरोधी काङ्ग्रेसले सुरु गरेको हतियारबद्घ सशस्त्र सङ्घर्षमा ओखलढुङ्गाको टिमुरबोटेमा क्याप्टेन यज्ञबहादुर थापादेखि २०२८/०२९ सालको झापा सशस्त्र विद्रोहको क्रममा नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र रामनाथ दाहालले पनि रगत बगाए । क्रान्तिकारी नेता ऋषि देवकोटा ‘आजाद’ देखि सम्झना दाहाल, टङ्क भुसाल, सात बर्से बालक अनिश शाक्यलाई पनि शासकले बाँकी राखेन, तर पनि जनताले आजसम्म बलिदानीपूर्ण प्रतिरोध जारी राखेका छन् ।

जनयुद्धका क्रममा यो बलिदानीपूर्ण प्रतिरोध उत्कर्षमा पुग्यो । सामन्तवाद, साम्राज्यवादविरुद्ध सङ्घर्ष वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म जाने लक्ष्य र उद्देश्यका साथ अघि बढेको जनयुद्धमा बलिदानको अद्वितीय पिरमीड कायम भयो । ११ बर्से दिलबहादुर रम्तेलदेखि माओवादीका ६ जना केन्द्रीय सदस्य सम्मिलित जनताको महान् उत्सव जनयुद्धको क्रममा सहादत प्राप्त गरे । तत्कालीन फासिस्ट सरकारका बर्बर आतङ्क र हत्याकाण्डले कयौंले आफ्नो सर्वस्व बलिदान दिए, अङ्गभङ्ग भए र अनगिन्ती पीडा पनि व्यहोरे; जसको शाब्दिक वर्णन असम्भव छ । नयाँ यथार्थको जगमा नेपालको इतिहासमा विविध कालखण्डमा भएका वर्गीय र न्यायपूर्ण युद्धका क्रममा उच्च सहादत प्राप्त गर्ने सहिदहरूको सम्झना र सम्मानमा हरेक वर्ष (फागुन १४-२१) बलिदान सप्ताह मनाउने नवीन सांस्कृतिक परम्परा रहिआएको छ । यतिखेर न्यायपूर्ण युद्धका महान् सहिदहरूको सम्झना र सम्मानमा मनाउँदै आएको सहिद सप्ताह निरन्तर क्रान्ति र वैज्ञानिक समाजवादी-साम्यवादी लक्ष्यभेदनार्थ प्रतिवद्धता व्यक्त गर्न आवश्यक छ ।

फागुन १४ को सन्दर्भ

२०५२ साल फागुन १ गतेबाट तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा सुरु गरिएको महान् जनयुद्ध वीरता, बलिदान, सहादत अनि अमरताको ऐतिहासिक घटनाक्रम थियो । वर्गविहीन समाजको परिकल्पनामा जनता पहिलोपटक वर्गबैरीका काला र दुःसाध्य अखडाहरूमा धावा बोल्न मात्रै तयार भएनन्, मृत्युलाई जितेर स्वर्णिम इतिहास निर्माणका लागि अभिप्रेरित भए । त्यसरी मृत्युलाई जितेर महान् सहादतको कोटिमा आफूलाई परिचित गराउनेमध्ये एक हुनुहुन्छ, गोरखाका दिलबहादुर रम्तेल । जनयुद्ध सुरु भएको १३ औं दिनमा नै एघार वर्षीय रम्तेललाई आततायीहरूले कायतापूर्ण तरिकाले हत्या गरे । त्यसैगरी, जाजरकोट लहं निवासी मानबहादुर ओली र मानबहादुर रावललाई फागुन १३ गते गिरफ्तार गरी फागुन १४ गते बिहान ८ बजे नलगाडमा हुत्याएर एकैसाथ हत्या गरिएको थियो ।

सामन्ती दासताविरुद्ध पहिलोपटक जनताले हतियार उठाएको १३ औँ दिन बित्दै थियो । गोरखा-जराङस्थित ब्रह्मचारिणी निमाविमा कक्षा ४ मा अध्ययनरत कलिला विद्यार्थीहरूलाई तर्साएर-धम्क्याएर जनयुद्ध रोक्ने दुस्साहस गरियो । फागुन १४ गते घ्याम्पेसालबाट निस्केको एक प्रहरी जत्थाद्वारा सूर्यज्योति माविका प्रधानाध्यापक वीरवहादुर गुरुङलाई पोखाराटारको सुकेटारस्थित एक गैरसरकारी संस्थामा आगजनी गरेको आरोपमा विद्यालयभित्रै छोपियो । इमानदार र लोकप्रिय आफ्ना गुरुलाई स्कुलहाताभित्रैबाट अमानवीय र अन्यायपूर्ण गिरफ्तार गर्न खोजेपछि झन्डै ७ सय विद्यार्थीहरूले प्रहरीको कडा प्रतिवाद गरे । प्रधानाध्यापक गुरुङलाई नछोडेपछि विद्यार्थीहरू प्रहरीकै पछिपछि नजिकै रहेको ब्रह्मचारिणी निमाविमा आइपुगे । जनदबाब र प्रतिरोधपछि आतङ्कित प्रहरीले जथाभावी गोली प्रहार गर्न थाल्यो । प्रहरीद्वारा भीडमा अन्धाधुन्दा गोली चलाउँदा ११ वर्षीय दिलबहादुर रम्तेल र स्थानीयवासी रामप्रसाद भट्ट गम्भीर घाइते हुनुभयो । घाइते दुवैजनालाई उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा तारलेडाँडामा दिलबहादुरको सहादत भयो ।

फागुन २१ को सन्दर्भ

झापाको सुखानीमा २०२९ साल फागुन २१ गते नेपाली कम्युनिस्ट आन्दोलनका अगुवाहरूलाई प्रहरीले गोली हानी हत्या गरेको थियो । झापाका विद्रोहीहरूलाई २०२९ कात्तिकमा प्रहरीद्वारा पक्राउ गरेर झापा जेलमा राखिए पनि विद्रोह झन् तीव्र भयो । त्यतिखेर झापाली कम्युनिस्टले जमिनदारलाई सफाइ गर्ने अभियान ‘एक्सन’ अघि बढाइरहेका थिए । झापाबाट इलाम जेल सार्ने बहानामा फागुन २१ गते राती सुखानीको जङ्गलमा पाँचै जनालाई गोली हानेर हत्या गरिएको थियो ।

फागुन २१ गतेको बिहान क्रान्तिका लागि हिँडेका योद्धाहरूलाई जेल सार्ने निहुँमा झापाको चन्द्रगढीस्थित कारागारबाट निकालिँदै थियो । त्यो दिन अरू दिनभन्दा कारागारमा बेग्लै किसिमको त्रास थियो । त्यहाँ सयौं बन्दीहरू थुनिएका थिए तर ती बन्दीहरूमध्ये पाँच जनालाई मात्रै जेल सार्ने बहानामा बाहिर निकालिँदै थियो । झापा विद्रोहमा सामेल भएका र त्यसैको अभियोगमा समातिएका बन्दीहरूलाई नेल, हत्कडी र शरीरै ढाकिने गरी डोरीले बाँधिँदै थियो । यो दृश्य प्रत्यक्ष आँखाअगाडि नै देखिरहेका अरू बन्दीहरूको मनमा भने नराम्ररी चिसो पसेको थियो । उनीहरू खासखुस गर्दै थिए- यो सबै तयारी सरुवाको हो कि सफायाको ! बन्दीहरूले जे आशङ्का गरेका थिए, आखिर त्यही भयो जेल सरुवाको नाममा झापाको चन्दगढीबाट इलामको लागि भनेर लगिएका बन्दीहरूलाई झापाको सुखानीखण्डमा पुरयाएर हत्या गरियो र भनियो– सुरक्षाफौजको नियन्त्रणबाट भाग्न खोज्दा पाँच जना बन्दीहरू सुरक्षा फौजको कारबाहीमा मारिए । तत्कालीन अञ्चलाधीश छिरिङ तेञ्जिनको ठाडो निर्देशनमा उनीहरूको हत्या गरिएको थियो । पञ्चायती शासकहरूले झापामा किसान विद्रोहको नाममा आतङ्क फैलाएको कथित आरोपमा क्रान्तिका लागि वर्गसङ्घर्षको मैदानमा उत्रिएका पाँच जना योद्धाहरू नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र रामनाथ दाहालको नृशंस हत्या गरे ।

सहिद सप्ताह (फागुन १४–२१) को सन्दर्भ

महान् सहिदहरूको त्याग र बलिदानलाई भयानक अवमूल्यन गर्ने प्रवृत्तिका विरुद्ध माओवादीले सचेत पहलकदमीका साथ बलिदान दिवस-सहिद सप्ताहलाई मनाउने निर्णय गरेको थियो । १० बर्से भीषण जनयुद्धका क्रममा जब क्रान्तिकारी योद्धाहरू ढल्दै जान थाले, त्यसले पार्टीभित्र वेदना, व्यथा, पीडा र निराशासमेत हुन सक्ने कुरालाई ध्यान दिंदै तिनमा क्रान्तिकारी उत्साह र आशावाद जोगाइराख्न बलिदान दिवस मनाउन सुरु गरिएको थियो । वर्गसङ्घर्ष उच्चतामा जान थालेपछि तथा बलिदान र वीरताको गाथा कोरिँदै जान थालेपछि महान् सहिदहरूको सपनालाई सम्झिँदै पार्टी-पङ्क्तिभित्र क्रान्तिकारी ऊर्जा जोगाइराख्न बलिदान-सहिद दिवस मनाउन सुरु गरिएको हो ।

क्रान्तिका मोर्चाहरू फरक भए पनि क्रान्तिकारीहरूको उद्देश्य एउटै हुने सच्चाइलाई आत्मसात् गर्दै माओवादीले सुखानीका महान् सहिदहरूको बलिदानलाई समेत ऐतिहासिक कडीका रूपमा जोड्दै सहिद सप्ताह मनाउन थालिएको हो । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलदेखि सुखानीका सहिदहरूको बलिदानलाई जोडेर सहिद सप्ताहका रूपमा सुरुआत गरेको विषय माओवादीको आफ्नो दस्तावेजमा अत्यन्तै महत्वका साथ उल्लेख गरिएको छ । बलिदान दिवसका रूपमा मनाइने यसलाई माओवादीले दोस्रो राष्ट्रिय सम्मेलन (२०५७) ले दस्तावेजमै लिपिबद्ध गरेको भए पनि २०५४ सालबाटै बलिदान दिवस मनाउन थालिएको थियो । त्यसबेलादेखि सहिद सप्ताहलाई केन्द्र, जिल्ला र गाउँ तहसम्म आफ्नो सापेक्षतामा मनाउने गरिएको छ ।

महान् सहिदहरूको त्याग, बलिदान, वीरता तथा शौर्यलाई आत्मसात गर्दै कम्युनिस्ट-सर्वहारा वर्गको आमूल परिवर्तन र मुक्तिका खातिर प्रेरणास्वरूप सुरु गरिएका सप्ताहहरूले साँच्चै क्रान्तिको कडीलाई नयाँ ढङ्गले जोड्ने मद्दत पुगेको छ । सुखानीको वीरता अनि जनयुद्धभित्रको अदम्य साहसलाई बलिदान सप्ताहले लिपिबद्ध गरेको छ । यसले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल मारिएको दिन फागनु १४ गते र झापा आन्दोलनका क्रममा सहादत प्राप्त झापाका अग्रणी योद्धालाई मारिएको फागुन २१ गतेको सुखानी हत्याकाण्डको दिनलाई जोडेर सहिद सप्ताहका रूपमा मनाउँदै आएको ऐतिहासिकतालाई जोडेको छ । बलिदान दिवसभित्र राणाशासनविरुद्ध विद्रोह गरेका गोरखाका प्रथम सहिद लखन थापाको बलिदानलाई समेत जोडिएको छ ।

नेपालमा विगतदेखि आगतसम्म भएका क्रान्ति, सङ्घर्ष र बलिदानको कडी तथा महत्वपूर्ण घटनाहरूलाई जोड्ने आमूल परिवर्तन, अग्रगमन, जनताको मुक्ति र परिवर्तनप्रतिको चाहनालाई आत्मसात गर्नका लागि बलिदान दिवस सहिदी मूल्य र तिनका सपना पूरा गर्न महत्वपूर्ण छ । देश र जनताका लागि लडेर सहिद हुनुभएका महान् सहिदहरूका स्मरण, सम्झना, सम्मानस्वरूप आयोजित सहिद सप्ताह (फागुन १४-२१) महान् सहिदहरूको स्मरण र सम्झना गर्ने महान् सन्दर्भ हो । यो देश र जनताका मुक्तिका लागि क्रान्तिकारी धारा दरोसित पक्रन्छु भन्ने प्रतिबद्धता गर्ने बेला सन्दर्भ पनि हो । जनयुद्धलाई झापा विद्रोहकै निरन्तरता र त्यसको कडीको रूपमा व्याख्या गर्दै दस्ताबेजमा भनिएको छ, ‘झापा विद्रोह नेपाली क्रान्तिको एउटा कोशेढुङ्गा हो, त्यसलाई हामीले जनयुद्धको माध्यमबाट त्यसका लक्ष्य र उद्देश्यहरूलाई जोडेर नेपाली क्रान्तिलाई विजयको सन्निकट पुरयाएका छौँ । अब नेपाली क्रान्ति केही समयमै विजयी बन्नेछ र झापा विद्रोहको सपनासमेत पूरा हुनेछ । सहिदको रगत र जनयुद्धका क्रममा पोखिएको रगत र बलिदान दिएका सहिदको सपना पूरा गर्नु आम क्रान्तिकारीहरूको दायित्व हो ।’

सहिदीमूल्य र सपनाको सन्दर्भ

आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण एवम् स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्ति नै सहिद हुन्छ । आफ्नै विवेकका आधारमा आफ्नो देश र जनताको निम्ति सङ्घर्षमा उत्रँदा बलिदान दिने व्यक्ति सहिद हुन्छ । सहिद र सहिदी मूल्यलाई यसरी नै बुझ्नुपर्दछ । यसर्थ, देश, जनता र समाजको मुक्ति, प्रगति र अग्रगामी परिवर्तनका लागि आफूलाई सचेत ढङ्गले बलिदान गर्ने महान् व्यक्ति नै सहिद हुन्छ । असचेत मृत्यु सहिदी मूल्यमा पर्दैन । अचेल उद्देश्यहीन असचेत मृत्युलाई पनि सहिदी मृत्युमा गणना गर्न थालिएकाले सहिदको अवमूल्यन हुँदै गएको छ । सामन्तवादले खडा गरेका विभेद, दासता, शोषण र दमनका पर्खालहरू भत्काउन नेपालमा विभिन्न समयमा थुप्रै सपूतहरूले रगत बगाएका छन् । सबै किसिमका मानवता विरोधी देशी, विदेशी, उत्पीडित र शोषणबाट मुक्त भएर सुन्दर समाज, सुन्दर जीवन अनि सभ्य र उच्च समाजको निर्माण नहुँदासम्म सहिदी प्रक्रिया आवश्यक हुन्छ ।

परिवर्तनको अर्को नाम नै बलिदान हो । नेपालमा इतिहासको प्रत्येक चरणमा सहिदहरूको बलिदानले यथास्थितिको एउटा पर्खाल भत्काएको छ र अग्रगामी परिवर्तनको ढोका खोलेको छ तर त्यसलाई संस्थागत गर्न नपाउँदै सहिदका महान् उद्देश्यलाई प्रतिगामी तत्वले कुल्चँदै आएको छ । अग्रगामी परिवर्तन र मानवमुक्तिकै लागि नेपालमा जनयुद्ध भएको थियो । जनयुद्ध सबैखाले दासता र पराधीनताको अस्वीकृति थियो । यही अभिव्यक्ति स्वरूप जनताले महान् बलिदान गरे । नेपालको इतिहासमा यो बलिदान अद्वितीय छ । जनयुद्धमा अभिव्यक्त भएको महान् त्याग र समर्पणले सामन्ती राजतन्त्रको गजुरलाई धुलोमा सुताइदिएको भए पनि अग्रगामी परिवर्तनका ढोकाहरू पुनः अवरुद्ध हुने अवस्थामा पुरयाइएका छन् । सहिद कुनै एक्लो व्यक्ति होइन, त्यो मुक्ति, क्रान्ति, प्रगति, न्याय, समानता, र अग्रगामी परिवर्तनको समष्टि हो । यो गद्दारी, आत्मसमर्पण, बेइमानी र विसर्जनविरुद्धको खबरदारी पनि हो । यो त्याग, बलिदान, समर्पण, उदात्तता, मानिसको सुन्दर भविष्य र जनकल्याणको प्रतिबिम्बन हो । यो मुक्ति र स्वतन्त्रताको कहिल्यै ननिभ्ने ज्योतिपुञ्ज हो । त्यसैले सहिदसँग जीवनको स्पन्दन छ, सुन्दरता छ, गन्तव्य छ र परिवर्तनको अविरल धारा छ । मावनमुक्ति, उन्नति र प्रगतिका मूल्य, विचार र आदर्शहरूमा सहिद बाँचेको हुन्छ । सहिदको आदर्श ओझेलमा पार्नु भनेको अधोगति हो । हामीले इतिहासको यस सङ्गीन घडीमा महान् सहिदहरूको सपना साकार तुल्याउन प्रतिवद्धता जाहेर गर्ने सन्दर्भ पनि हो ।

सहिदका सपना पूरा भएका छैनन् । हाम्रा अगाडि महान् सहिदहरूका रगतले लेखेको इतिहास, उनका जीवनोत्सर्ग, आस्था, बलिदानका सपना र विचारको निष्ठाले औंला ठड्याएर आज पनि सचेतना दिइरहेको छ कि नयाँ नेपाल निर्माणको सपना नभुल्नू, सर्वहारा वर्गको राज्यव्यवस्था स्थापनाको सङ्कल्प नछोड्नू, सामनता, न्याय र स्वतन्त्रताको समाज स्थापना गर्ने दृढ अठोट नबिर्सनू, सामन्ती र साम्रान्वादी उत्पीडन, दमन र शोषण विरुद्ध सधैं जागिरहने निष्ठा र समर्पणलाई नछोड्नू आदि । तिनले हामीलाई प्रतिरोध संस्कृति, त्याग, बलिदानको संस्कृति र वर्गसङ्घर्षको संस्कृतिलाई निरन्तर अगाडि बढाउन सन्देश दिइरहेका छन् । शौर्य, साहस र वीरताको १० बर्से जनयुद्ध वर्गसंस्कृतिको स्मरण गराइरहेछन् । मुक्तिका लागि क्रान्तिबेदीमा आत्माहुति चढाउन तयार रहनु आजको आवश्यकता हो । विगतमा शासकका बर्बर र अमानवीय तानाशाही सत्ताले क्रूरताको पीरामीड खडा गरयो । तिनले वर्गीय विचार र आस्थामा धावा बोले तर जनताले त्यसको सशक्त प्रतिरोध गरे । त्यो निरन्तर सङ्घर्षको सन्देश पनि थियो । त्याग, निष्ठा र समर्पणको निरन्तर आत्मसातीकरणबिना हामीले अग्रगमनको यात्रा गर्न सक्तैनौं । वर्गमुक्तिको यात्रामा वर्गचेतना, वर्गप्रेम र वर्गघृणालाई साम्यवादी युगसम्म जीवित राख्ने र वर्गसङ्घर्षलाई लगातार अघि बढाउँदै सर्वहारा वर्गलाई अन्तिम विजय नहुँदासम्म सङ्घर्ष जारी राख्न आवश्यक छ ।

सहिदका सपना जिउँदै छन्, जनताको आमूल परिवर्तनको आकाङ्क्षा ताजै छन् । तर पनि यतिबेला सहिद परिवारहरू अत्यन्तै कष्टकर जिन्दगी जिउन बाध्य छन् । तिनका आफन्तले देखेको आमूल परिवर्तनको सपना कुहिरोको काग जस्तै बनेको छ । आज सहिद परिवार भनिरहेका छन्– खोइ सहिद हुने त सहिद भएर गइहाले तर सहिदका परिवारलाई हेर्ने तिनको दुःखसुखमा साथ दिने काम कोही कसैबाट भएको छैन । राष्ट्रका लागि बलिदान दिनेहरूले त दिए, हाम्रो हेरचाह गर्ने काम पार्टीले गरेन । हामीले पार्टीबाट त्यस्तो केही अपेक्षा त गरेका छैनौं तर समय-समयमा सम्झिदिए मात्रै पनि लाख हुन्थ्यो । देशमा सामन्ती राजतन्त्रको अन्त्य, एकात्मक तथा केन्द्रीकृत शासन प्रणालीविरुद्ध आफ्नो जिउज्यान आहुति दिने सहिद तथा तिनका परिवारमाथि राज्यले उचित व्यवहार गर्न सकेको छैन । बरु जनयुद्धका सहिदको बलिदानलाई न्यून मूल्याङ्कन गर्ने, तिनको बलिदानको खिल्ली उडाउने काम भएको छ । नेताहरू भनिरहेका छन्– सहिदहरूको बलिदान खेर जानेछैन, तिनका सपना अपूरा रहनेछैनन् । सहिदका सपना पूरा गर्नका लागि जस्तोसुकै त्याग गर्न हामीहरू तयार छौँ । सहिद परिवारका अवमूल्यन गर्ने तिनका सपना खण्डित गर्ने परिवर्तनलाई स्वीकार नगर्ने काम यदि कोही कसैबाट भयो भने जनतासँगै हातमा हात मिलाएर लड्न तयार छ । महान् कामका लागि जीवनोत्सर्ग गर्ने व्यक्ति नै सहिद हुन्छ ।

उच्च तहबाट सहादत र तथ्याङ्कमा सहिदको सन्दर्भ

जनयुद्धमा उच्च तहबाट पनि सहादत भएको छ । तत्कालीन पोलिटब्युरो सदस्य वाग्ले ‘बासु’ लाई २०५६ साल भदौमा गोरखाको गाँखुमा प्रहरीहरूले गिरफ्तारपछि हत्या गरयो । उहाँसँगै भीमसेन पोखरेललाई पनि पासविक तरिकारले हत्या गरियो । रोल्पाका जनमुक्ति सेनाको चौथो डिभिजन कमान्डर किमबहादुर थापा ‘सुनिल’ लाई रोल्पामा कमान्डो प्रशिक्षण चलिरहेको बेला शाहीसेनाले हानेको एचएमजीको गोली लागि सहादत भयो । केन्द्रीय सदस्य परिवर्तन, कुमार, विशाल र प्रतापको पनि जनयुद्धका क्रममा उच्च सहादत भयो । पोस्टबहादुर बोगटी र हितराज पाण्डेका छोरा रवि बोगटी र मिलन पाण्डेको पनि सहादत भयो । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का दुई भाइको पनि सहादत भयो । उहाँका भाइ योद्धा जनमुक्ति सेनाको बटालियन कमान्डर हुनुहुन्थ्यो भने अर्का भाइ जिल्ला नेता । त्यसैगरी, तत्कालीन जनमुक्ति सेनाका प्रमुख नन्दकिशोर पुन ‘पासाङ’ को भाइको पनि जनयुद्धमा सहादत भयो भने तत्कालीन अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष जयपुरी घर्तीले जीवनसाथी गुमाउनुभयो ।

गोरखा जेलब्रेककी कमान्डर उमा भुजेल, नेताहरू सरला रेग्मी, दामा शर्मा, धर्मशिला चापागाईं, कञ्चन खनाल, शोभा कट्टेलले पनि जीवनसाथी गुमाउनुभयो । महान् वर्गसङ्घर्षमा सहादत प्राप्त गरेका सहिदहरूको तथ्याङ्क अझै पनि पूर्ण भइसकेको छैनन् । सहिद प्रतिष्ठानअनुसार सहिद तथ्याङ्कमा कोचिला २८६, लिम्बुवान किराँत ४१५, अवध २१६, भोजपुरा २४८, मिथिला ३६१, ताम्सालिङ १११४, नेवाः ४०, तमुवान ४५१, मगराँत १८८८, थारुवान १००३, भेरी-कर्णाली १५१३, सेती-महाकाली ५५७, जनआन्दोलन ३२, गौर हत्याकाण्ड २८ गरी कूलमा यो सङ्ख्या ८,८९५ रहेको छ । ऐतिहासिक परम्पराको यही कडीमै जनयुद्धका सहिदहरूसँग समकालीन सहिदहरू पनि अभिन्न रूपमा जोडिएका छन् ।

अतः वर्ग मेटाउने र वैज्ञानिक समाजवाद-साम्यवाद स्थापना गर्ने उद्देश्यका साथ जनताले आफ्नो जीवनाहुति दिए । उनीहरू जनमुक्ति र सुन्दर सपना साकार पार्न दीपशिखा बनेका छन् । उत्पीडित जनताको मुक्तिका लागि जनताले कोरेको बलिदानको इतिहास अनुपम छ । न्याय, समानता र स्वतन्त्रताको यो लामो अभियानमा हजारौँ सर्वोत्तम छोराछोरीले दिएको बलिदान सामान्य छैन । जब क्रान्तिकारी योद्धाहरू ढल्दै जान्छन्, वेदना, व्यथा, पीडा थपिँदै जान्छ । जितहारको शृङ्खला थपिँदै जान्छ । महान् उद्देश्य प्राप्तिको महासागरमा बलिदान र वीरताको गाथा कोरिन्छ अनि सहिदहरूको सपना पूरा गर्ने अठोट पनि सच्चा क्रान्तिकारीहरूले गर्दछन् । जुन देशमा सामाजिक, आर्थिक र राजनीतिक क्रान्ति भएका छन्; त्यहाँ स्वतन्त्रता, प्रजातन्त्र र मुक्तिका लागि बिनास्वार्थ देशका लागि नागरिकहरूले बलिदानी दिएका छन्, जसको मूल्य र सपना उच्च छ । महान् सपना पूरा गर्ने आकाङ्कक्षीको छाती निकै फराकिलो हुँदाहुँदै पनि यतिबेला जनताका घरआँगनमा दुश्मन मार्चपास गर्ने खोजिरहेछ ।

क्रान्तिमा केही नेताले धोका दिन सक्छन् तर पनि क्रान्तिकारी प्रवाह रोकिँदैन । क्रान्तिको सामूहिकीकृत उध्र्वगामी दिशा पक्रनु आजको आवश्यकता हो । क्रान्तिको उध्र्वगामितामा सहिदीमूल्य हुन्छ । सहिद मुक्ति, क्रान्ति, प्रगति, न्याय, समानता, र अग्रगामी परिवर्तनको समष्टि हो । यो हरेक गद्दारी, आत्मसमर्पण, बेइमानी र विसर्जनविरुद्धको खबरदारी पनि हो । यो त्याग, बलिदान, समर्पण, उदात्तता, सुन्दर भविष्यको प्रतिबिम्बन पनि हो । सहिद मुक्ति र स्वतन्त्रताको कहिल्यै ननिभ्ने ज्योतिपुञ्ज हो । त्यसैले सहिदसँग जीवनको स्पन्दन छ, सुन्दरता छ, गन्तव्य छ अनि परिवर्तनको अविरल धारा छ । मानवमुक्ति, उन्नति र प्रगतिका मूल्य, विचार र आदर्शहरूमा सहिदहरू बाँचेका हुन्छन् । साम्यवादमा पुग्न कैयौँ बलिदान र कठिनाइका साथ महान् सर्वहारा सांस्कृतिक क्रान्तिहरू पार गर्नुपर्नेछ । यही भावका साथ कम्युनिस्ट-सर्वहारा वैज्ञानिक समाजवाद-साम्यवादमा पुग्नेछन् । सहिदको जीवन, जसले आफ्नो सारा सामथ्र्य र बुद्धि मानवमुक्तिको महान् तथा उच्च लक्ष्यमा लगाएर, आफ्नो सम्पूर्ण जीवन त्यसको हेतु सङ्घर्षमा बिताएर आखिरमा बडो सन्तोषका साथ मृत्युलाई अङ्गीकार गर्छ, जुन अमरताको प्राप्ति हो । आज ‘जनयुद्ध’ र ‘माओवाद’ लाई अनेक प्रपञ्चका साथ गिजोल्ने षड्यन्त्र भइरहेको छ, जसको सशक्त प्रतिवाद गर्नु अपरिहार्य छ । ल्याटिन अमेरिकी देश उरुग्वेका लेखक एदुआर्दो गालेआनोको भनाइ प्रस्तुत गर्दछु, “एक जना मजदुरले मलाई भन्यो, सहिदप्रति जनताको अपार प्रेम छ तर उसको मृत्युपछि मात्र । त्यसअघि त ऊप्रति केवल गुनासो थियो ।” अन्त्यमा, सम्पूर्ण अमर सहिदहरूप्रति अभिवादन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।