0 COMMENTS
नेपाली राजनीतिमा केही वर्षयता विभिन्न स्तर र विभिन्न काेणका अराजनीतिक र अस्वाभाविक गतिविधि हुँदै आएका छन् । क्रान्तिकारीहरूलाई भयानक दमन र नक्कली गणतन्त्रवादीहरूलाई ब्रह्मलुटन्त्रात्मक सत्ताको बम्पर सुम्पिइएको छ । यथास्थितिवादी तथा पुनत्थानवादीहरूलाई सडकमा जनताको बलिदानबाट जन्मिएको गणतन्त्रका विरुद्ध मैमत्त उफ्रिन छुट दिइएको छ ।
आज इतिहासको पाङ्ग्रोलाई स्वाभाविक अग्रगतिका विरुद्ध ज-जसले पछि धकेल्ने धृष्टता गरिरहेका छन्, तिनले राष्ट्रका क्रान्तिकारी योद्धाहरूको अपमान गरिरहेका छन् । सडकमा निर्लज्ज दक्षिणपन्थीहरूको बेमौसमी चौपल नचाउने काम भइरहेको छ । यति बेला नेपालका राजनीतिक दलहरू कति स्वाधीन छन् र उनीहरूले कति स्वाधीन राजनीति गरिरहेका छन् भन्ने गम्भीर प्रश्न खडा भएको छ । यो स्वाधीन राष्ट्रका निमित्त सङ्घर्षरत अग्रगामी शक्तिका लागि गम्भीर चिन्ताको विषय हो ।
सैद्धान्तिक, वैचारिक र दार्शनिक हिसाबले राजनीति दुई किसिमका हुन्छन्, कम्युनिस्ट राजनीति र बुर्जवा राजनीति । अर्थात् यसो भनौँ, कुनै पनि देशमा उत्पीडित तथा श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टी अर्थात् वैज्ञानिक समाजवादी र बुर्जवा पुँजीवादी-साम्राज्यवादीहरूको प्रतिनिधित्व गर्ने पुँजीवादी पार्टीहरू हुन्छन् । यिनका वर्गीय पक्षधरता र सेवाको क्षेत्र पनि अलग-अलग र आ-आफ्नै हुन्छ । यिनका चरित्र, चिन्तन र सांस्कृतिक मूल्य पनि आ-आफ्नै हुन्छन् । खासमा भन्ने हो भने विश्वमा बलिदानको महागाथा कोर्ने, नयाँ विश्वको मञ्जिल खडा गर्ने, मानव समुदायलाई नयाँ मानव जातिको शिखरमा उठाउने पनि कम्युनिस्ट नै हुन् । साथै, विश्वमा अलि बढी भ्रम छर्ने पनि कम्युनिस्ट नै बनेका छन् । नेपालको सन्दर्भमा पनि कुरा यही हो । त्यसैले कम्युनिस्ट राजनीति र राजनीतिक दलको स्वत्व, निजत्व र अपनत्व निकै महत्वपूर्ण रहेकाे छ ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको दिन विवादमै छ । संस्थापक महिला सदस्य मोतीदेवीलाई अझै पनि संस्थापक मान्न राजनीतिक दलहरू र तिनका नेता तयार देखिँदैनन् । नेपालमा निकै लामो समयसम्म कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले ‘गद्दार’ को आरोप खेप्नुपर्यो । यसले सुरुदेखि नै नेपालको कम्युनिस्ट पार्टीको चिन्तनधारासहित बनोट र बुनोटमा गम्भीर समस्या रहेको देखाउँछ । रूपमा जे-जे भए पनि र जसले जेजे भने पनि सारतः नेपालका अधिकांश पार्टीहरूमा वर्णाश्रम व्यवस्थामा आधारित सङ्गठनसम्बन्धी समस्या मूलभूत रूपमा एउटै देखिन्छ । झन् संसदीय धारका पार्टीहरूका समस्या त सोलोडोलो रूपमा उही र उस्तै देखिन्छ ।
सङ्गठनको सन्दर्भमा भीआई लेनिनले भन्नुभएको थियो, “हामीलाई एउटा क्रान्तिकारी सङ्गठन देऊ, हामी रुसलाई पल्टाइदिन्छौँ ।” लेनिनको यो भनाइमा असामान्य रणनीति र सार्वभौम अर्थ अन्तर्निहित छ । कम्युनिस्ट-सर्वहारावर्गको सर्वोच्च राजनीतिक संस्था कम्युनिस्ट पार्टी हो । माक्र्स र एङ्गेल्सले सर्वहारावर्ग र श्रमिक जनसमुदायको मुक्तिकामी सङ्घर्षको बाटोलाई आलोकित गर्नुभएकाे थियो । उहाँहरूले महत्वपूर्ण रणनीतिक कुरा के पनि गर्नुभएको छ । सर्वहारावर्गको मुक्तिको लागि त्यसको आफ्नो स्वाधीन पार्टीको ठूलो आवश्यकता पर्दछ । माक्र्स-एङ्गेल्सको यो मर्मलाई नेपालका राजनीतिक दलहरूले आत्मसात गरिरहेका छैनन् । नेपालमा समाजवादको ब्यानरमा बेमौसमी दलाल पुँजीवादी भोजभतेर भइरहनु स्वाधीन पार्टी नहुनु हो ।
माक्र्स र एङ्गेल्सका विचारलाई समृद्ध गर्दै लेनिनले नयाँ खालको पार्टी अर्थात् बोल्सेबिक पार्टी अघि बढाउनुभयो, जसले महान् अक्टोबर क्रान्ति सम्पन्न गर्यो । यसले विश्वलाई नयाँ क्षितिजको दृष्टिगोचर गरायो । आज पनि बोल्सेभिक पार्टी अर्थात् बोल्सेबिक स्पिरिट भन्नेबित्तिकै छुट्टै किसिमको क्रान्तिकारी झनझनाहट पैदा गर्दछ । हामीलाई यस्तै झनझनाहट कम्युनिस्ट पार्टी चाहिएको छ ।विश्वभर कम्युनिस्ट पार्टी निर्माणको सन्दर्भमा बोल्सेबिक स्पिरिटको सन्दर्भ आइहाल्छ । कम्युनिस्ट पार्टीका प्रत्येक सदस्यहरूको जिब्रोमा जनवादी केन्द्रीयता झुन्डिएकै हुन्छ । कम्युनिस्ट भनेको यस्तो जीवतत्व हो, जाे समाजवादी भविष्यद्वारा ओतप्रोत हुन्छ ।
कम्युनिस्ट भनेको यस्तो विशेष धातुले बनेका मान्छे हुन्, जो नयाँ सामाजिक व्यवस्थाको निर्माणार्थ सम्पूर्ण रूपले होमिएका र उत्पीडित तथा श्रमजीवी जनतासित अभिन्नरूपले गाँसिएका हुन्छन् । यथार्थतः कम्युनिस्ट पार्टी मात्र स्वाधीन राजनीतिक दल हुन सक्तछ, उसले मात्र स्वाधीन राजनीति गर्न सक्तछ । कम्युनिस्टले मात्र देश र जनतालाई बरालिएको राजनीति र चुनावी षड्यन्त्रकारी र भमपूर्ण धरापबाट मुक्त गर्न सक्तछ । कम्युनिस्टले मात्र स्वाधीनताको लडाइँको नेतृत्व गर्न सक्तछ । कम्युनिस्टले मात्र देश र जनतालाई स्वाधीन बनाउन सक्तछ ।
कम्युनिस्ट पार्टीको काँधमा ठूलो अभिभारा रहेको छ । वर्गहीन मानव समाजको स्थापना गर्न उत्पीडित तथा श्रमजीवी जनताको सङ्घर्षमा कम्युनिस्ट पार्टीले अगुवाको भूमिका खेल्नुपर्दछ । कम्युनिस्ट पार्टी भनेको क्रान्तिकारी विचार र सिद्धान्तको निर्देशनमा चल्नेका जनताको राजनीतिक संस्था हो । दलालहरूको मूल नेतृत्व र तिनले थोपरिरहेको अन्यायी सत्ताको तख्ता पल्टाउने विषय महत्वपूर्ण छ । लेनिनले एक सन्दर्भमा भन्नुभएको छ, “सत्ता प्राप्त गर्ने सङ्घर्षमा सर्वहारासित सङ्गठनसिवाय अर्को कुनै हतियार छैन । पुँजीवादी जगतमा अराजक होडबाजीको शासनबाट छिन्नभिन्न रहेको, पुँजीका निमित्त बाध्य भएर गरिने मिहिनेतबाट थिचिएको बेहद अभाव, बर्बरता, पतनको गहिरो खाल्डोमा जाकिएको सर्वहारा वर्ग तब मात्र एउटा अजेय शक्ति बन्न सक्तछ र अनिवार्य रूपमा बन्नेछ, जब माक्र्सवादका सिद्धान्तहरूको आधारमा हुने त्यसको विचारधारात्मक एकतालाई सङ्गठनको भौतिक एकताद्वारा दरिलो बनाइनेछ । यस सङ्गठनले लाखौँलाख श्रमिकहरूलाई मजदुर सेनामा एकगठ पार्नेछ । यस सेनाको सामु न रसियाली जारशाहीको थोत्रिसकेको शासन टिक्न सक्छ, न अन्तर्राष्ट्रिय पुँजीको जीर्ण शासन नै टिक्न सक्तछ ।”
कम्युनिस्ट पार्टी कम्युनिस्ट-सर्वहारावर्गको सबभन्दा अगुवा र राजनीतिक दृष्टिले सबभन्दा सचेत दस्ता हो । यसले क्रान्तिकारी-सर्वहारा क्रान्तिलाई दिशानिर्देश र त्यसको सफलतापूर्वक नेतृत्व गर्दछ । कम्युनिस्ट राजनीतिमा अगम्य तागत हुन्छ । राजनीतिमा अनेक कोणबाट विचारहीन, सिद्धान्तहीन र नैतिकहीन हमला भइरहेका हुन्छन्। क्रान्तिकारी जनता, क्रान्तिकारी पार्टीले मात्र क्रान्तिकारी पहलकदमीपूर्ण लालझन्डालाई विजयको शिखरमा फराउन सक्तछ । यो महान् कार्यभार यसै र यत्तिकै पूरा हुँदैन ।
यसको निम्ति कम्युनिस्ट पार्टीमा असल मान्छेहरूको केन्द्रीकरण हुनैपर्दछ । जस्तो पायो त्यस्तो मान्छे भेला पारेर सही कम्युनिस्ट पार्टी बन्दैन । कम्युनिस्ट पार्टीलाई क्रान्तिकारीवर्गको सच्चा र अग्रणी संस्था बनाउन अधिकतम राम्रा प्रतिनिधिहरू सामेल हुनैपर्दछ । लेनिनले भन्नुभएझैँ त्यस्तो व्यक्ति मात्र कम्युनिस्ट पार्टीको सदस्य बन्न लायक हुन्छ, जसले कम्युनिस्ट पार्टीको राजनीतिक कार्यदिशा र त्यसको फैसलाहरूलाई निर्देशन मानेर जीवन-व्यवहारमा उतार्न अधिकतम प्रयत्न गर्दछ । पार्टीबाट गरिने कामको लागि प्रत्येक सदस्यले जिम्मेवारीबोध गर्नुपर्दछ, प्रत्येक सदस्यले जे-जस्तो काम गर्दछ, पार्टीले त्यसको जिम्मेवारी लिनुपर्दछ । नेपालमा काम राम्रो बने नेताको र काम बिग्रिए कार्यकर्ता हुने जुन प्रचलन बढ्दै गएको छ, यो कम्युनिस्ट आचरण अनुकूलको कुरा होइन ।
लेनिनले कम्युनिस्ट पार्टीले सदस्यको गुणात्मकतामा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको छ । पदलोलुपतावादी, सरकारी दानापानीवाला र छलीहरू जम्मा पारेर स्वाधीन पार्टी र स्वाधीन राजनीति बन्नै सक्तैन । स्वाधीन राजनीति बनाउनका सदस्यहरू पनि स्वाधीन हुन अपरिहार्य छ । जसका विरुद्ध सङ्घर्ष गर्नुपर्ने हो, तिनकै प्रतिनिधि राखेर कुनै पनि राजनीतिक उद्देश्य पूरा हुँदैन । नेपालका राजनीतिक दलमा यो गम्भीर समस्याका रूपमा देखा परेको छ । त्यसैले, कम्युनिस्ट पार्टीले क्रान्तिकारी सर्वोत्तम तत्वहरूलाई आफूमा समाविष्ट गर्नुपर्दछ । उच्च चरित्रयुक्त कम्युनिस्ट पार्टी निर्माण गर्न सदस्यहरू पनि चरित्रवान हुन आवश्यक हुन्छ । पार्टीको राजनीतिक गतिविधि, त्यसको कार्यनीतिक-रणनीतिक एवम् त्यसको नेतृत्वका आधारमा त्यो पार्टीको चित्रण निर्धारण हुन्छ । कम्युनिस्ट इन्टरनेसनलको दोस्रो महाधिवेशनमा लेनिनले भन्नुभएको थियो, “कुनै पार्टी साँच्चिकै मजदुरहरूको राजनीतिक पार्टी हो कि होइन भन्ने कुरा मजदुरहरूको सदस्यतामा मात्र भर पर्दैन, बरु सो कुरा त्यसको नेतृत्व गर्ने मानिसहरू र त्यसका कारबाही र त्यसका राजनीतिक कार्यनीतिको सारतत्वमा पनि भर पर्छ । यसले मात्र हाम्रो सामु साँच्चिको सर्वहारावर्गको पार्टी छ कि छैन भन्ने कुरालाई निर्धारित गर्छ ।”
अहिले नेपालमा राजनीतिक दलहरूले उटपट्याङ कुरा गरेर जनतामा विषाक्त भ्रम छरिरहेका छन् । यसो गरिनुको पछाडि उनीहरू स्वाधीन नबन्नु हो । वस्तुतः संसदीय धारका नेपालका अधिकांश पार्टीको टुटफुट वा जुटमा कतै न कतै शक्तिकेन्द्रको रुची मिसिएकै हुन्छ । उनीहरूको पतनमुखी प्रतिस्पर्धा त्यसैको प्रतिबम्बन हो । बिग्रन पनि कहाँ सजिलो छ र, पतनशीलहरूका लागि पनि पूर्वाद्र्धका विचार, दर्शन र सिद्धान्तको छाता ओढ्नैपर्ने हुन्छ ।
माक्र्सले भन्नुभएको थियो, डाउट एभ्रिथिङ अर्थात् सबै चीजमाथि सन्देह गर । यसको अर्थ हामीले सबै कुरामा शङ्का गर्नुपर्दछ तर शङ्कावादमा फस्नुहुँदैन भन्ने हो । समकालीन नेपाली मनोविज्ञान कि देवत्वकरण, कि त राक्षसीकरणतर्फ उद्यत हुँदै छ । समाजमा भौतिकवादी जीवनदृष्टि गौण बन्दै गएको छ । नक्कली राजनीति र तिनका व्यवहारका कारण सक्कली राजनीतिमाथि शङ्का-उपशङ्का पैदा हुँदै छ । आदर्शहरूको अकल्पनीय अश्लीलीकरण एवम् बिम्बहरूको भयानक विद्रूपीकरणको यो मौसममा नेपाली राजनीतिमा साम्राज्यवादीहरू हर्ताकर्ता बन्दै छन् । राजनीतिमा प्रभाव रहनु र उसकै कठपुतली बन्नु व्यापक अलग-अलग कुरा हो ।
पञ्चायतकालमा काङ्ग्रेसीहरूले नारा चर्काउँथे- कम्युनिस्ट दरबारमा, काङ्ग्रेस जेलमा । कसैलाई गाली गर्नुपर्यो भने ‘तेरो घरमा काङ्ग्रेस पसोस्’ भनिन्थ्याे ! नेपालको कम्युनिस्ट आन्दोलनमा रायमाझी नकारात्मक बिम्ब हुन् । आजभोलि केही काङ्ग्रेस र अझ बढी खरानी घसिएका कम्युनिस्ट नेताहरू ठुलै स्वरमा ‘उस्तै परे ज्ञानेन्द्र ल्याइन्छ’ भन्दै छन् । आवरणमा राजनीतिक दलका सदस्य जस्ता देखिए पनि सारतः तिनीहरू पुरानो सत्ताका विभिन्न तहका प्रतिनिधि हुन् । नेपाली राजनीतिमा ‘दरबारको टाट्नामा घाँस खाएको’ आहानै छ । नेपालको कम्युनिस्ट राजनीतिमा सबैभन्दा बढी खतरानाक कम्युनिस्ट भनिनेहरू नै सावित हुँदै छन् ।
राजनीतिमा राजनीतिक स्वामित्व धेरै महत्वपूर्ण कुरा हो । जुन वर्गले लडेर राजनीतिक परिवर्तन गर्दछन्, सत्तामा तिनै वर्गको अग्राधिकार झन् महत्वपूर्ण कुरा हो । तर नेपालमा जति पनि राजनीतिक परिवर्तन भएका छन्, तिनमा सङ्घर्षरत पक्षको राजनीतिक स्वामित्व कायम हुनै सकेन । सत्तामा उनीहरूको अग्राधिकार पनि कायम भएन । जहिले पनि परिवर्तन विरोधीहरू नै सत्तामा रहिरहने अवस्था रह्यो । नेपालका मूलतः संसदीय धारका राजनीतिक दलहरू स्वाधीन देखिएनन् । उनीहरूको राजनीति स्वाधीन रहेन । यिनीहरूको तुलनामा वैज्ञानिक समाजवादी धारका कम्युनिस्ट राजनीतिक दलहरु केही हदसम्म स्वाधीन छन् । तिनको कम्युनिस्ट राजनीति स्वाधीन छ । त्यसैले, कम्युनिस्टहरूको विजय सुनिश्चित रहेको छ । वैज्ञानिक समाजवादी व्यवस्था निर्विकल्प र अपरिहार्य बन्दै गएको छ ।
यति बेला नेपाली राजनीतिमा भूराजनीति असामान्य बन्दै गएको छ । यसले नेपालको भावी जनविद्रोह, जनआन्दोलन, प्रतिरोध आन्दोलन वा वैज्ञानिक समाजवादी क्रान्तिमाथि हददर्जाको फासिवादी क्रूरता प्रदर्शन गर्नेमा कुनै शङ्का छैन । हामीमाथि प्रतिबन्ध लगाउनेहरू पनि त यिनै थिए । यिनीहरूका राजनीतिले ‘घीउ बेचुवा र तरवार बेचुवाको कथा’ लाई चरितार्थ गरेका छन् । जस्तो कि, एक जना घीउ बेच्नेले डब्बाको मुखमा घीउ राखेर तल पिँडालु राखेर बजारमा बेच्न गएछ । अर्को एक जना तरबार बेचुवा रहेछ । उसले काठका केही तरबार तयार गरेर फलामको जस्तो रङ लगाएर बजारमा बेच्न लगेछ । घीउ बेचुवासँग घीउ किन्न आउनेहरूले चम्चाले तलसम्मको घीउ हेर्न खोज्दा ऊ रिसाएर हेर्नै नदिँदो रहेछ । हेर्न नपाएपछि घीउ बिक्ने कुरै भएनछ । उता तरबार बेच्नेको तरबार समातेर कसैले केही काटेर जाँच्न खोज्दा ऊ रिसाउँदो रहेछ र हेरेर मात्र लग्नुपर्ने भन्दो रहेछ । रातीसम्म दुवैका सामान पटक्कै बिकेनछ । रात पर्दै गएपछि सबै मानिस आ-आफ्नो बाटो लागेछन् । अन्ततः त्यहाँ उनीहरू मात्र बाँकी भएछन् । एकले अर्कोलाई झुक्याउन उठेर बिचैमा भेटेछन् । दुवैले अर्कोको माल पारख गर्ने कुरै भएनछ । बरु वाक्क भएका दुवैले आफ्नो सामानको गुणगान गर्दै एक-अर्कालाई साट्ने गरेर जिम्मा लगाएछन् । दुवैले एक-अर्कालाई झुक्याउन सफल भएकोमा दङ्ग भएछन् । घरमा गएर हेर्दा घीउको तल भएको पिँडालु पूरै कुहेको रहेछ र सँगै खन्याएकाले घीउ पनि काम लागेनछ । उता तरबार लग्नेले काठमा हान्दा काठलाई केही भएनछ, तरबार नै भाँचिएछ । अरू तरबार पनि भाँचिएपछि काठ त हो रहेछ, अब दाउरा बनाउँछु भन्दा त खिर्रो (आगो नबल्ने काठ) पो रहेछ । पटक्कै बलेनछ । प्रायः सबैले सुनेका-पढेका कथाहरूमध्ये जीवनभरि स्मरणमा रहिरहने एक रोचक कथा यही हो । यसको सार भनेको विगतको परिचित छबि आर्जेका व्यक्तिहरूले झुक्काउन कोही बाँकी नभएपछि अन्त्यमा एक-आपसलाई नै झुक्काउने गर्दछन् । नेपालकाे संसदीय अ-राजनीतिक गठबन्धनकाे म्युजिकल चेयर त्यही घीउ बेचुवा र तरवार बेचुवाको कथाकाे सटिक उदाहरण हाे । र, कमसेकम याे कुराकाे ख्याल गराैँ-
दुश्मनी जम कर करो लेकिन ये गुंजाइश रहे
जब कभी हम दोस्त हो जाएँ तो शर्मिंदा न हो ।
स्रोत : मूलबाटाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।