0 COMMENTS

आमुख

समकालीन विश्वमा सामन्तवाद तथा भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादविरुद्ध जनताको कठोर सांस्कृतिक सङ्घर्ष चलिरहेको छ । प्रतिगामी तथा साम्राज्यवादी संस्कृतिका विरुद्ध माक्र्सवादी सौन्दर्यचिन्तन एवम् सर्वहारा सांस्कृतिक क्रान्तिको आदर्श, मूल्य र वैचारिक आलोकमा जनसंस्कृतिकर्मीहरूको त्याग, बलिदान, समर्पण, प्रतिरोधी र सङ्घर्षशील यात्रा अघि बढिरहेको छ । यसलाई अझ सुसङ्गठित, सुदृढ, एकताबद्ध र शक्तिशाली बनाउँदै वस्तुनिष्ठ योजना, कार्यक्रम, नीति र कार्यदिशाका साथ अझ धारिलो बनाउने प्रक्रिया पनि जारी छ । नेपालमा राजनीतिक उपरीसंरचनागत अंशतः परिवर्तन भए पनि संस्कृतिमा तात्त्विक परिवर्तन देखिएन । संस्कृतिमा श्रम र कौशल प्रतिबिम्बित हुन्छ, जुन मानवीय क्रियाकलापको उपज हो । संस्कृति यस्तो कला हो, जुन भाषाको उत्पत्तिपूर्व नै अस्तित्वमा थियो । भाषा कलाको महत्त्वपूर्ण क्षेत्र हो, जो संस्कृतिको बृहत् छातामुनि आबद्ध छ । सांस्कृतिक आन्दोलन मूलतः कलासाहित्यमार्फत नै अभिव्यक्त हुँदै आएको छ ।

कलानिर्माणमा करिब पाँचहजार वर्षअघिदेखि मानिसले विचार अभिव्यक्त गर्ने माध्यमका रूपमा उपयोग गर्दै आएको छ । मानिसले पुरातन संस्कृतिका विरुद्ध विभिन्न स्तर र स्वरूपका वर्गसङ्घर्षले जनसंस्कृतिको नवीन आधार खडा गर्दै आएको छ । यद्यपि वर्गसङ्घर्षको विकास र सांस्कृतिक मूल्यका बिचमा गम्भीर अन्तर्विरोध छन्, जसको पहिचान र सम्बोधन नगरी रूपान्तरणकारी प्रक्रिया प्रभावकारी बन्दैन । परिवर्तनको प्रवाह रोक्ने तमाम कुचेष्टालाई चिर्दै सबै किसिमका विचलनविरुद्ध जुधेर मात्र वैज्ञानिक समाजवादी सांस्कृतिक दिशा पक्रिइन्छ । प्रमुख दुश्मन बनेर उभिएको भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादी भूमण्डलीकृत विश्वमा विज्ञान–प्रविधिले अन्तर्राष्ट्रिय पहुँच र प्रभावलाई पनि बढाएकै छ । उत्पीडित तथा श्रमजीवी जनतामा राजनीतिक अन्तर्विरोधले पारेको प्रभाव तथा जनताको मौलिक सांस्कृतिक पहिचान गुम्दै गएको विश्व समकालीनतामा सांस्कृतिक स्वत्व र अपनत्वका लागि समाजवादी सांस्कृतिक शिविरलाई सुदृढ तुल्याउनुको विकल्प छैन । ‘कलासाहित्य, सौन्दर्यचिन्तन र संस्कृति’ शीर्षक विमर्श यिनै विषयसित सम्बन्धित रहेका छन् ।

१. ऐतिहासिक पर्यवेक्षण

मानव जीवनका विभिन्न सांस्कृतिक आधार छन् । आदिम साम्यवादी समाजको श्रमिक संस्कृति दासयुगमा दास–स्वामी संस्कृतिमा विकास भयो । ग्रीक, रोमन, चिनियाँ, मिश्री र हरप्पा संस्कृति दास–श्रमिकहरूको आँसु, पसिना र रगतबाट बनेका हुन् । जतिबेला संस्कृतिमा मानवीय कठोर जीवनवादी तर समानतामूलक संस्कृति रहेको पाइन्छ । ग्रीस, रोम, इजिप्टको संस्कृतिलाई दास–स्वामीहरूको संस्कृतिका रूपमा लिइन्छ; जतिबेला शिल्पको विकास तीब्र बनेको थियो । अरस्तुले दासत्वलाई स्वाभाविक र प्राकृतिक भन्नुभएको छ । कलाचिन्तन, साहित्यिक एवम् बौद्धिकताले क्रमशः विभिन्न सांस्कृतिक आधार खडा गर्दै गएको देखिन्छ । दासकालीन संस्कृतिपछि सामन्तवादी संस्कृति अघि बढेको देखिन्छ । दरबार, सामन्त र पुरोहितको दबदबा रहेको सामन्तवादी संस्कृतिपछि पुँजीवादी सांस्कृतिक आधारको निर्माण भएको पाइन्छ । युरोपको तुलनामा भारत, नेपाल, चीनलगायतका देशमा सामन्तवादले दीर्घकालीन रगगज गरेको देखिन्छ । संस्कृतिमा पुँजीवादको क्रूर अर्थसम्बन्धको प्रभाव अर्थात् साम्राज्यवादी पासविकता उल्लेख्य छन् । समकालीनतामा पुँजीवादी संस्कृति र साम्राज्यवादी संस्कृति घालमेल भएको छ । यस सन्दर्भमा रोजाको “मजदुर आन्दोलन केवल रोटी र नौनीको प्रश्न मात्र होइन, यो त एक बृहत्तर सांस्कृतिक आन्दोलन पनि हो” भनाइ महत्त्वपूर्ण रहेको छ । हरेक सभ्यताको हरेक ज्ञानविज्ञान, शिल्प, कला, साहित्य, सङ्गीत, दर्शनको विकासमा श्रमिकको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । युगहरूको विकास, त्यसमा श्रमिकहरूको भूमिका र सामाजिक ज्ञानको आयातन, आवश्यकता र तिनको परिपूर्तिका लागि गरिएका सङ्घर्ष एवम् वर्ग, वर्गपक्षधरता, विचारधारात्मक कार्य तथा साम्यवादी सपना साकार तुल्याउन उत्पीडित तथा श्रमजीवीवर्गको निरन्तर सङ्घर्षले जनसंस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पर्याएको छ । कलासाहित्यमा समाजवादी यथार्थवादको उपस्थितिले मानिसले आफूलाई नयाँ मानिसका रूपमा विकास गर्दै लगेको अनुभूति गर्दैछ, जो उन्नत सांस्कृतिक चेतनाको प्रतिबिम्बन हो ।

संस्कृतिको उत्पत्ति, विकास र प्रभावको विषय विराट छ । जहिलेदेखि मानवजातिको विकास भयो, त्यहीबेलादेखि संस्कृति उत्पत्ति भयो । मानिसले चार पाउको सट्टा दुई पाउले मात्र हिंड्न थालेपछि कलाको सन्दर्भ जोडिन्छ । विभिन्न अध्ययनका अनुसार करिब एक करोड चालीस लाख वर्षयता क्रमशः माटो, काठ र चट्टान–संस्कृति, हाड र ढुङ्गेसंस्कृति एवम् ढुङ्गाको हतियारको विकास हुँदै आएको छ । अमेरिकी समाजशास्त्री एलएच मोर्गानले मानव–सभ्यता र संस्कृतिलाई जङ्गली, अर्धजङ्गली र सभ्य भनी तीन चरणमा वर्गीकरण गरेका छन् । मार्क्स–एङ्गेल्सले श्रम र सभ्यताको अध्ययन गरी समाज विकासक्रमको ऐतिहासिक भौतिकवादी सिद्धान्त अघि सार्नुभएको थियो । करिब ३ हजार वर्षसम्म दासकालीन संस्कृति र त्यसपछि करिब १९ औँ शताब्दीसम्म सामन्ती संस्कृति र त्यसपछि आधुनिक पुँजीवादी संस्कृति कायम रहेको देखिन्छ । अनुसन्धानकर्ताहरूका अनुसार परिवर्तित वातावरणमा अभ्यस्त हुन मानवले कैयन् सङ्घर्ष गर्दै संस्कृतिलाई विकसित गर्दै आएका हुन् । सांस्कृतिक अध्ययनमा गोत्र–व्यवस्था र त्यसबाट विकसित सांस्कृतिक धाराको महत्त्वपूर्ण स्थान छ । अध्ययनकर्ताहरू गोत्र र गणचिह्नलाई आदिम सांस्कृतिक अभिव्यक्तिका रूपमा लिन्छन् । गोत्र राज्यको उदयपूर्व सामाजिक एकाइको रूपमा थियो, जसलाई संरचनात्मक राज्यका आदिमस्वरूप मानिन्छ । गणचिह्नलाई टोटेम भनिन्छ । राज्य, पारिवारिक संरचना र निजी सम्पत्ति अस्तित्वमा नरहेको समयमा तत्कालीन सामाजिक व्यवस्थाका रूपमा ‘गोत्र–व्यवस्था’ अर्थात् ‘टोटेमवाद’ थियो । समकालीनतामा पनि भाइबन्धु, वंश, गोत्र आदिको खोजी गरिएको पाइन्छ, जुन प्राचीन गोत्र–व्यवस्थाको अवशेष हो । गोत्र भनेको रक्तसम्बन्धमा आधारित आदिम सामुदायिक व्यवस्था हो । एङ्गेल्सले आदिम गोत्रहरूको चर्चा गर्नुभएको छ । उहाँका अनुसार एउटै गोत्रभित्र विवाहको अधिकार हुँदैनथ्यो; जुन परम्परागत नियमले गोत्रलाई एकताबद्ध गरेको थियो; जसले सकारात्मक परिणाम देखिएको थियो ।

युगीन वस्तु र तिनको प्रयोगको आफ्नै सांस्कृतिक जीवन रहँदै आएको छ । नेपाली समाजमा भान्सामा प्रयोग हुने ओखलहरू ढुङ्गेयुगका अवशेष हुन् । सिकारी खेल सिकारी युगको अवशेष हो । काठका भाडावर्तन काठेसंस्कृतिको पहिचान हो । इडवर्ड बर्नेट टेलरको सन् १८७१ मा प्रकाशित ‘प्रिमिटिभ कल्चर’ पुस्तकमा सांस्कृतिक विविधताको चेत र व्यावहारिक विधिको आवश्यकता औँल्याइएको छ । टेलरले आदिम, मध्ययुगीन र आधुनिक संस्कृतिको अवधारणा ल्याउनुभएको छ । पन्ध्रौँ र सोह्रौँ शताब्दीमा युरोपमा आदिम संस्कृतिको बृहत् अभ्यास थियो । आदिवासी समुदाय कला, अक्षर र समाजविना बाँचिरहेको भन्ने थोमस हब्सको तर्कलाई अनुसन्धानकर्ताहरू अनौठो मान्छन् । मानव जीवन र मानव समाजको लामो प्रक्रियामा आगो, भाषा, संस्कृति र मनोविज्ञानले अकल्पनीय परिवर्तनको आभास गरायो । हरदिनको आवश्यकता हरदिन पूरा गर्ने सिलसिलाका बिच खाद्यवस्तु सञ्चय गर्न थालेपछि मान्छेलाई दैनिक दौडधुपबाट फुर्सदिलो अनुभूति गरायो । त्यसपछि मान्छेले प्रकृति, मानवजीवन, हावा, पानी, खोलानाला, चट्याङ आदिबारे सोच विचार र खोज अनुसन्धान गर्न थाल्यो । मान्छेले कतिपय दुःखमा पनि सुखको अनुभूति गर्न थाल्यो भने कतिपय सुखमा पनि दुःखको अनुभूति हुन थाल्यो । यसै प्रक्रियाबाट दर्शन जन्मियो । दर्शनपछि मात्र सौन्दर्यचेतना अघि बढेको पाइन्छ । दर्शनले सौन्दर्यशास्त्रलाई लामो समयसम्म आफ्नो एक शाखाको रूपमा परिचय दिँदै आए पनि अहिले सौन्दर्यशास्त्रलाई स्वतन्त्र विधाको रूपमा अध्ययन गरिन्छ ।

२. विश्लेषणका विविधता
२.१ कलासाहित्य
२.१.१ कलासाहित्यको परिचय

कला सभ्यताहरूको अजम्बरी हस्ताक्षर हो । मानजीवनको समग्रतालाई कला मानिन्छ । यसलाई चलनचल्तीको भाषामा कलासाहित्य शब्दावलीको प्रयोग गरिएको पाइन्छ । कलाको उत्पत्ति र विकासमा श्रमको महत्त्वपूर्ण भूमिका छ । कला सामाजिक चेतना र मानव क्रियाकलापको विशिष्ट रूप हो । वस्तु र चेतनाको विकाससँगै कलाको पनि विकास हुँदै आएको छ । कला त्यस्तो मानवीय रचना हो, जो भौतिक आवश्यकताको परिपूर्ति गर्ने माध्यम हो । कलाको सौन्दर्यात्मक मूल्य हुन्छ । कला वैचारिक सङ्घर्षको महत्त्वपूर्ण साधन हो । यसको रूपान्तरणकारी भूमिका हुन्छ । कला संज्ञानात्मक, विचारधारात्मक र सौन्दर्यात्मक रूपमा अभिव्यक्त हुँदै आएको छ । कला सौन्दर्यको केन्द्रीकृत अभिव्यक्ति र यथार्थको कलात्मक पुनरुत्पादन हो । बेनेडिट्टो क्रोचेका अनुसार अभिव्यक्ति नै कला हो । कलाले जीवन–जगत्को यथार्थबोध गर्न मानव–ज्ञानका सम्पूर्ण क्षेत्रलाई समेट्छ । कला बिम्बमार्फत अभिव्यक्त हुन्छ । लेनिनका अनुसार कलासाहित्य सर्वहारावर्गीय उद्देश्य पूर्ति गर्ने यात्राको अभिन्न सहयात्री हो । सबैभन्दा उन्नत समाजवादी–यथार्थवादी कलाका उदाहरण म्याक्सिम गोर्की र समाजवादी–यथार्थवादका प्रस्तावक स्टालिन हुनुहुन्छ ।

कलावादी जर्मन दार्शनिक कान्टको ‘कला कलाका लागि’ जीवनविरोधी चिन्तन हो । मार्क्सवादी कलाचिन्तनले कला जीवनका लागि, कला जनताका लागि, कला परिवर्तनका लागि जस्ता विषयको पक्षपोषण गर्दछ । मार्क्सका अनुसार “मानिसका श्रममूलक क्रियाकलापकै प्रतिफलका रूपमा कलाको उत्पत्ति भएको हो”, (सांस्कृतिक शैक्षणिक नोट : खेम थपलिया) । एङ्गेल्सका अनुसार “श्रमबाट कलाको उत्पत्ति भएको हो”, (उही) । भाषा–साहित्य कलाको विशिष्ट रूप हो । भाषा सङ्केतहरूको यादृच्छिकता हो । शब्दको माध्यमद्वारा यथार्थको कलात्मक प्रतिबिम्बन गर्नु नै साहित्य हो । पूर्वीय परम्परामा साहित्यको कारक प्रतिभा, व्युत्पत्ति र अभ्यास मानिन्छन् । साहित्य समाजको युगीन तथा सामूहिक चेतनाको कलात्मक अभिव्यक्ति हो । यसले गतिशील यथार्थको उद्बोधन गर्दै समाजको समतामूलक एवम् आमूल रूपान्तरणका लागि योगदान पुर्याउँछ । माओले अर्धसामन्ती–अर्धऔपेनिवेशिक मुलुकमा कला–साहित्यिक आन्दोलनको प्रकृतिको व्याख्या गर्नुभएको छ । लेनिनले सौन्दर्यशास्त्रका यथार्थको कलासाहित्यसँगको सम्बन्ध, साहित्यमा यथार्थको प्रतिबिम्बन, कलासाहित्यमाथि सामाजिक प्रभाव, कलासाहित्यको वर्गीय पक्षधरता, लेखकीय स्वतन्त्रता र प्रतिबद्धता एवम् कलासिर्जनाको उद्देश्यमाथि प्रकाश पार्नुभएको छ ।

समाजवादी–यथार्थवादी कला मार्क्सवादी दर्शनमा आधारित कला हो । व्यक्तिकेन्द्रित पुँजीवादी कलामा शुन्यवाद, अमानवीयता, निराशा, निर्धोपन, एक्लोपन, आत्मग्लानी र रुग्णता हुन्छ । जर्ज लुकासका अनुसार “आधुनिकतावाद कलाको समृद्धीकरण होइन, बरु कलाको निषेध हो”, (उही) । कला र सौन्दर्यको उत्पत्ति र विकासमा श्रमको महत्त्वपूर्ण भूमिका छ । श्रम, सौन्दर्य र कलाको सम्बन्धलाई उद्घाटन गर्ने काममा मार्क्स–एङ्गेल्सको विशेष योगदान छ । एङ्गेल्सअनुसार श्रम र वाणीजस्ता शक्तिका आधारमा मानिसको उत्पत्ति तथा विकास भयो । मानिस पहिलो औजार निर्माणकर्ता हो । भौतिक र सांस्कृतिक उपयोगितामा आधारित छन्– उपयोगी कला र ललित कला । उपयोगी कलाले मानिसका भौतिक आवश्यकताको परिपूर्ति गर्दछ, जसअन्तर्गत मानिसद्वारा निर्मित सबै उत्पादन शिल्प, कौशल, शारीरिक बनावट, केशसज्जा, भवन निर्माण, डिजाइन, फेसन, पार्करचना, दैनिक प्रयोगमा आउने वस्तु पर्दछन् । ललितकलाले मानिसका सांस्कृतिक आवश्यकताको परिपूर्ति गर्दछ, जसअन्तर्गत साहित्य, सङ्गीत, चित्र, मूर्तिकला आदि पर्दछन् । कलाको आन्तरिक पक्षलाई अन्तर्वस्तु र बाह्य पक्षलाई रूप भनिन्छ । कलाको अन्तर्वस्तु विचार, अनुभूति, जीवनमूल्य, मनोभावको संश्लेषणबाट बन्छ । कलाको रचनाप्रक्रिया आत्मगत र वस्तुगतबिचको द्वन्द्वात्मक अन्तरक्रियाबाट हुन्छ । कला सामाजिक चेतनाको एउटा रूप हो, जसलाई भिन्न देखाउने विशिष्ट तत्त्व सौन्दर्य हो । प्रारूपीकरण यथार्थको युगसापेक्ष कलात्मक प्रतिबिम्बनमा आधारित छ । यसको अर्थ सामाजिक जीवनको नयाँ यथार्थ र युगचेतनालाई प्रतिनिधिमूलक परिघटना विचार, भाव र चरित्रको सिर्जना गरी रूपाङ्कन गर्नु हो ।

२.१.२ कलासाहित्यको उद्देश्य

हरेक कलासाहित्य निश्चित विचारधाराद्वारा निर्देशित हुन्छन् । दुई विश्वदृष्टिकोणका आधारमा कलासाहित्यका पनि तिनै दृष्टिकोणअनुसार फरक–फरक उद्देश्य रहँदै आएको छ । यिनीहरूले आ–आफ्नो उद्देश्य मुताविक आ–आफ्नो वर्गको सेवा गरिरहेका हुन्छन् । पुँजीवादी दृष्टिकोणमा कलासाहित्यको उद्देश्य यसप्रकार रहेको छ :
(क) कलासाहित्य अरूका निम्ति होइन, आफ्नै मन बहलाउन ‘स्वान्त सुखाय’ का लागि सिर्जना गरिन्छ ।
(ख) कलासाहित्य केवल मनोरञ्जनका साधन हुन्, यिनको अन्य सामाजिक उद्देश्य हुँदैन ।
(ग) जसमा सबैको हित गर्ने भावना हुन्छ, त्यही साहित्य हो ।
(घ) कलासाहित्य स्वतन्त्र र पवित्र कुरा हुन्, यसलाई राजनीतिसित जोड्नुहुँदैन ।
(ङ) कला कलाकै निम्ति हुन् ।

मार्क्सवादी दृष्टिकोणमा कलासाहित्यको उद्देश्य यसप्रकार रहेको छ :

(क) कलासाहित्य र संस्कृतिका अङ्गहरूलाई निर्विवाद रूपमा क्रान्तिको साधनको रूपमा प्रयोग गर्नुपर्दछ ।
(ख) दुश्मनका जालझेलपूर्ण सैद्धान्तिक धरातल भत्काई जनक्रान्तिको सैद्धान्तिक पृष्ठभूमि तयार पारेर जनतालाई चेतनशील र सङ्गठित पार्न एवम् सर्वहारावर्गको पक्षमा उमङ्ग र उत्साहलाई अन्तिम विजयसम्म दिगो र दरिलो राख्न क्रान्तिकारी अग्रिमदस्ताको भूमिका निर्वाह गर्नुपर्दछ ।
(ग) कलासाहित्यको क्षेत्रमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोण लागू गर्नुपर्दछ ।
(घ) कलासाहित्यलाई क्रान्ति, जनता र परिवर्तनको पक्षमा लगाउनुपर्दछ ।
(ङ) कलासाहित्यलाई राजनीति, वर्गपक्षधरता र सांस्कृतिक क्रान्तिको भावधारासित जोड्नुपर्दछ ।

२.१.३ कलासाहित्यको राजनीतिक चरित्र

हेगेलको आदर्शवादी द्वन्द्ववाद, फायरबाखको अधिभूतवादी भौतिकवाद र डार्बिनको विकासवादबाट माक्र्सले हेगेलीय द्वन्द्ववाद, फायरबाखीय भौतिकवाद र डार्बिनको विकासवादलाई वैज्ञानिक संश्लेषण गरेर द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण निर्माण गरे, जसबाट आदर्शवादी स्वर्गमा अधिभूतवादी पञ्जाले जकडिएको कलासाहित्य द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोणद्वारा समृद्ध भयो । मार्क्सवादको निर्माणमा काल्पनिक समाजवादीहरूका दृष्टिकोणले पनि महत्त्वपूर्ण सघाउ पुर्याएका छन् । ‘पार्टी सङ्गठन तथा पार्टी साहित्य’ (सन् १९०५) मा लेनिनले कलासहित्यको वर्गीय पक्षधरतामाथि प्रकाश पार्नुभएको छ । माओले ‘कला किन र कसका लागि’ भन्ने प्रश्नको जवाफमा ‘क्रान्ति, परिवर्तन र जनताका लागि’ भन्नुभएको छ । वर्गीय समाजमा कलासाहित्य पनि वर्गीय हुन्छ । कलाकृति समाजको वर्गसंरचना तथा वर्गहितको परिणामस्वरूप उत्पन्न वर्गीय मनोविज्ञानमा आधारित हुन्छन् । कलासाहित्य वैचारिक सङ्घर्षका साधन हुन् ।

माओका अनुसार “आजको दुनियाँमा सम्पूर्ण संस्कृति र कलासाहित्य निश्चित वर्गहरूका नै हुन्छन् । तिनलाई निश्चित राजनीतिक कार्यदिशाअनुरूप ढाल्ने गरिन्छ । वास्तवमा ‘कलाका लागि कला’ को सिद्धान्त मान्ने कला, वर्गहरूभन्दा माथि रहने कला र राजनीतिबाट अलग रहने अथवा स्वतन्त्र रहने कला नामको कुनै चीज हुँदैन । सर्वहारावर्गको कलासाहित्य सम्पूर्ण क्रान्तिकारी कार्यको एक अङ्ग हो, लेनिनका शब्दमा “त्यो सम्पूर्ण क्रान्तिकारी मेसिनका दाँती र पेचकै समान छ ।” मार्क्स–एङ्गेल्सले कलासाहित्यलाई विचारधाराको रूप र यसको जन्म समाजको भौतिक आधारलाई मान्नुभएको छ । लेनिनको विचारमा साहित्य सर्वहारावर्गको साझा उद्देश्यको एक अङ्ग बन्नुपर्दछ, समस्त मजदुरवर्गको अभिन्न र महान् सामाजिक जनवादी क्रान्तिको मेसिनको दाँती र पेच हुनुपर्दछ । जनसमुदायको जीवन नै क्रान्तिकारी कला र साहित्यको एक मात्र स्रोत हो । कलासाहित्यको अध्ययनमा माओको ‘येनान प्रवचन’ को विशेष महत्त्व छ । माओले भन्नुभएको छ, “हाम्रो अडान सर्वहारावर्ग र जनसमूहकै अडान हो । कम्युनिस्ट पार्टीका समस्याहरूको निम्ति यसको अर्थ हो– पार्टीकै अडानबमोजिम चल्नु । पार्टीको भावना र पार्टीको नीतिबमोजिम चल्नु । यस समस्याबारे गलत सोचाइ राख्ने वा यसलाई प्रस्टसित नबुझ्ने हाम्रा केही लेखक र कलाकर्मीहरू छन् कि ? मेरो विचारमा त्यस्ता मानिसहरू अझै छन् । हाम्रा कति कमरेडहरू सही अडानबाट बारम्बार चिप्लिएका छन्, (येनान प्रवचन, सन् १९४२) ।” स्रष्टा–सिर्जना उनीहरूको दर्शन–विश्वदृष्टिकोण, विचार र राजनीतिसित अन्योन्याश्रित हुन्छ । कलासाहित्य जीवन–जगत्को व्याख्या–विश्लेषण–आलोचना मात्र होइन, समाजको आधारभूत परिवर्तनको साधनसमेत हो । यही प्रक्रियामा नै यो मानवमुक्तिको सङ्घर्षको व्यापक प्रक्रियाको अङ्ग बन्दछ ।

२.२ सौन्दर्यचिन्तन
२.२.१ सौन्दर्यचिन्तनको परिचय

सुन्दरसम्बन्धी चिन्तन नै सौन्दर्यचिन्तन हो । सुन्दरता, सौन्दर्यमूल्य, सौन्दर्यानुभूति सौन्दर्यचिन्तनसित सम्बन्धित छन् । ‘सुन्दर’ आधार पदमा ‘य’ प्रत्यय जोडिएपछि सौन्दर्य शब्द बन्दछ । सौन्दर्य वस्तु–परिघटनासित सम्बन्धित विशिष्ट संवेदना र बोध हो, जुन मानवीय श्रम तथा रचना–प्रक्रियाबिचबाट जन्मिन्छ । सौन्दर्यको उत्पत्ति र विकाससितै सौन्दर्यचेतनाको विकास हुन्छ । सौन्दर्यचेतनाको उत्पत्ति र विकास मानवजातिको इतिहासमा विशिष्ट परिघटना हो । सौन्दर्यको जन्म श्रमप्रक्रियामा आत्मगत र वस्तुगत पक्षको संश्लेषणबिचबाट भएको हो । प्रारम्भमा श्रमप्रक्रियाबिचबाट निर्माण भएका कला भौतिक उपयोगिताका दृष्टिले मात्र मूल्यवान थिए, सौन्दर्यात्मक दृष्टिले थिएनन् । मानिसले श्रमप्रक्रियाबाट पहिले कला र त्यसपछि सौन्दर्यतर्फ पाइला चालेको थियो । सौन्दर्य सम्बन्धित वस्तुको विशिष्ट गुण हो, जो मनमोहक, आनन्ददायी र आह्लादमयी हुन्छ । सौन्दर्य प्रकृति, मानव जीवन र कला पाइन्छ । प्रकृति, श्रम तथा सिर्जनकार्यद्वारा मानवीकरणका क्रममा मात्र सुन्दर हुन्छ । सौन्दर्यको अभिव्यक्ति कलामा हुन्छ । कलामा नै प्रकृतिका साथमा मानवजीवन पनि सौन्दर्यात्मक ढङ्गले प्रतिबिम्बित हुन्छ । सुन्दर र कुरूपको सङ्घर्षबिचबाट सौन्दर्यको सृष्टि हुन्छ । दुःखान्तक तथा सुखान्तक वा प्रहसनात्मक, उदात्तता तथा निचता, सङ्गति तथा असङ्गतिजस्ता पक्ष पनि सौन्दर्यबोधसित जोडिन्छन् ।

सौन्दर्य निर्माणमा आन्तरिक र बाह्य तत्त्व हुन्छन् । आन्तरिक मानव जीवन हो, जसमा सुख–दु:खका असङ्ख्य अनुभूति, विचार र भाव हुन्छन् । बाह्य जीवनको स्थूल–संरचना हो, जसको रूपाङ्कन, आकृति निर्माण र बिम्बविधानको विषय हो । आन्तरिक र बाह्य तत्त्वबिच सङ्गति भएमा सौन्दर्य हुन्छ । सौन्दर्य पनि वर्गीय हुन्छ । मानवीय श्रमप्रक्रियाको इतिहासमा निजी सम्पत्ति र वर्गको उत्पत्तिसितै जुन विमानवीकरणको प्रक्रियाको थालनी भयो, जसबाट सौन्दर्यानुभूति र सौन्दर्यबोध पनि वर्गीय हुन पुग्यो । सौन्दर्यचिन्तन सामाजिक जीवन र जगत्को सौन्दर्यात्मक आत्मसातीकरणका मूर्त तथा अमूर्त, सामान्य तथा विशिष्ट र अन्तर्वस्तु तथा रूपका विभिन्न पक्ष एवम् तिनका द्वन्द्वात्मक सम्बन्धको शृङ्खलाबद्ध चिन्तन हो । सौन्दर्य संज्ञानात्मक रूपमा सत्य र सङ्कल्पात्मक रूपमा शिवसित जोडिएको हुन्छ । सौन्दर्य भौतिक उपयोगितासित सम्बन्धित छ, जसले सांस्कृतिक उपयोगितामा फड्को मार्दछ । सुन्दर कलाले मानिसका सौन्दर्यपरक आवश्यकताको पूर्ति गर्दछ । उत्पीडित तथा श्रमजीवीवर्ग दलाल पुँजीपति एवम् भूमण्डलीकृत साम्राज्यवादी उत्पीडन र विमानवीकरणमा परिरहेका छन्, यसका विरुद्ध सङ्घर्षको आवश्यकता हुन्छ । ऋग्वेदको उषसुक्तमा सौन्दर्य शब्द उल्लेख छ, जसले सौन्दर्यको अनुभूतिलाई अलौकिक मान्दछ । वाल्मीकि रामायणमा सुन्दरताको चर्चा पाइन्छ । भौतिक परिवेशभन्दा एकान्तमा चिन्तन गर्नु पूर्वीयचिन्तनको विशेषता हो । वेदान्त दर्शनले वस्तुगत सौन्दर्यलाई मिथ्या प्रपञ्च मान्दछ, जसअनुसार ब्रह्म सत्य र जगत् मिथ्या हो । कालिदासको सौन्दर्य प्रकृति र नारीमा केन्द्रित छ । प्लेटोका अनुसार सौन्दर्य निरपेक्ष, शाश्वत्, अपरिवर्तनीय विचार हो; कलाद्वारा रचित इन्द्रियानुभूति यही विचारका प्रतिबिम्ब मात्र हुन् । पूर्वीय सौन्दर्यचिन्तन मूलतः सामन्तवादी जीवनदर्शनमा आधारित छ ।

सौन्दर्य मानवीय संवेदना, स्वत्व र सिर्जनात्मक ऊर्जासित सम्बन्धित छ । साहित्य, सङ्गीत, नृत्य, चित्र, मूर्ति, स्थापत्य, रङ्गमञ्च, चलचित्र आदि कलाबाट सौन्दर्य उत्पन्न हुन्छ । सौन्दर्यपरक आदर्श सौन्दर्यमूलक आवश्यकताको सर्वोच्च अभिव्यक्ति हो । माक्र्सका अनुसार “कलाको कुनै वस्तुले यस्ता जनताको सृष्टि गर्दछ, जसमा कलात्मक रुचि हुन्छ र जो सौन्दर्यको आनन्द लिन सक्षम हुन्छ, यही कुरा कुनै अन्य उत्पादनका बारेमा पनि भन्न सकिन्छ । यसरी उत्पादन न केवल आत्माका लागि विषय उत्पन्न गर्दछ, अपितु वस्तुका लागि आत्मा पनि उत्पन्न गर्दछ ।” सत्य, शिव, सुन्दरजस्ता सर्वोच्च सांस्कृतिक मूल्य पनि सौन्दर्यमूूल्यकै सन्निकट हुन्छन् । जेहाउ ली र जेने कवेलले मार्क्सको सौन्दर्यको नियमबारे भन्नुभएको छ, “सौन्दर्यलाई आत्म र वस्तुको, केवल वस्तुगत यथार्थ र आत्मगत व्यवहारको अन्तक्र्रियाको चेतनाका रूपमा प्रस्तुत गर्न सकिन्छ ।” मार्क्सको सन् १८४४ को ‘आर्थिक तथा दार्शनिक पाण्डुलिपिहरू’ मा उल्लिखित ‘त्यसैले मानिसले सौन्दर्यको नियमअनुसार पनि वस्तुको रचना गर्दछ’ भन्ने वाक्यलाई उद्धृत गर्दै उनीहरूले भन्नुभएको छ, “त्यसैले’ भन्ने शब्दले आत्म र वस्तुको एकरूपतालाई सङ्केत गर्दछ किनभने मानवजाति, उद्देश्यको आन्तरिक मापसँग सम्बन्धित रही आत्मको व्यवहारका रूपमा प्रकृतिको वस्तुगत नियमअनुसार उत्पादनमा भाग लिन समर्थ छ, यो त्यसैले आफ्ना आत्मगत आवश्यकताको परिपूर्तिका लागि प्राकृतिक वस्तुको नियमअनुसार वस्तुगत जगत्लाई रूपान्तरण गर्न समर्थ छ । रूपान्तरित जगत्को रूप सौन्दर्य हो ।”

२.२.२ सौन्दर्यशास्त्रको इतिहास

दर्शनकोशका अनुसार सौन्दर्यशास्त्रको उत्पत्ति साढे दुईहजार वर्षपहिले दासमालिक समाजको युगमा मिश्र, बेबिलोन, भारत र चीनमा भएको थियो । ग्रीकमा सौन्दर्यशास्त्रले ऐन्द्रिक सुखको चेतनालाई जनाउँथ्यो । यसको प्रयोग सर्वप्रथम सन् १७५० मा संवेदन क्षमताको अर्थमा जर्मनीका अलेकज्यान्डर बाउम गार्टेन र उनका सहयोगी फ्रेडरिख ओल्फले गर्नुभएको थियो । गार्टेनले सौन्दर्यशास्त्रसम्बन्धी पुस्तक नै लेख्नुभएको थियो । ग्रीक शब्द एस्थेटिकोस’ बाट अङ्ग्रेजी शब्द एस्थेटिक्स ‘सौन्दर्यशास्त्र’ जन्मिएको हो । यसलाई संवेदनात्मक विज्ञान पनि भनिन्छ । सोभियत विश्वकोशका अनुसार ‘सौन्दर्यशास्त्र दर्शनशास्त्रको त्यो शाखा हो, जसमा मानवीय मूल्यको संसारसितको सम्बन्धको विशिष्ट प्रकटीकरणका रूपमा सौन्दर्यात्मक र मानवीय कलात्मक गतिविधि दुवै क्षेत्रको अध्ययन गरिन्छ’, (सांस्कृतिक शैक्षणिक नोट : थपलिया) । हेगेलले सौन्दर्यशास्त्रलाई कलादर्शनको अर्थमा व्याख्या गर्नुभएको छ । यसले क्रमशः सौन्दर्यको अध्ययन र कलाकृतिको मूल्याङ्कनलाई बुझाउन थालेको पाइन्छ । यसलाई दर्शनशास्त्रको शाखा पनि भनियो । चाल्र्स मोरोंले सौन्दर्यशास्त्रलाई मनोविज्ञानको शाखा भन्नुभएको छ ।

जर्ज सन्तयानाले सौन्दर्यशास्त्रको सम्बन्ध मूल्यबोधसँग गाँसेका छन् । चेर्नीशेब्स्कीले सौन्दर्यशास्त्र र कलासिद्धान्तलाई छुट्टाछुट्टै भौतिकवादी अवधारणामा प्रस्तुत गर्नुभएको छ । पूर्वमा भरतको नाट्यशास्त्रलाई प्रारम्भिक सौन्दर्यशास्त्रको कृति मानिन्छ । माक्र्सवादले सौन्दर्यशास्त्रको उद्भव र विकासलाई वैज्ञानिक ढङ्गले व्याख्या गरेको छ । कड्वेलका अनुसार पुँजीवादी समाज र पुँजीवादी संस्कृतिबिचबाट कुनै सौन्दर्यशास्त्र जन्मिँदैन । जर्ज लुकासको माक्र्सवादी सौन्दर्यशास्त्रको विकासमा उल्लेख्य योगदान छ । रुसका अब्नेर जीस पनि उल्लेख्य सौन्दर्यशास्त्री हुनुहुन्छ । अन्स्र्ट फिसरले पनि कलाबारे विवेचना गरेका छन् । माआले मार्क्सवादी सौन्दर्यशास्त्रमा राष्ट्रियतालाई सौन्दर्यतत्त्वको प्रवेश गराउनुभएको हो । कलामा ‘निरन्तर क्रान्ति’ को चेतना माओको सौन्दर्यचिन्तन हो । नेपालमा कम्युनिस्ट पार्टीको स्थापना (२००६) पछि मात्र माक्र्सवादी सौन्दर्यशास्त्रबारे चिन्तन सुरु भएको हो । जनयुद्धसिर्जित नयाँ यथार्थले माक्र्सवादी सौन्दर्यशास्त्रीय विकासमा महत्त्वपूर्ण आधारभूमिको काम गरेको छ । सौन्दर्यशास्त्रको विकासमा मार्क्स–एङ्गेल्स महत्त्वपूर्ण योगदान छ । सौन्दर्यशास्त्र, कला र यथार्थताको सम्बन्धका प्रश्नमा उनीहरूले वैज्ञानिक समाधान दिनुभएको छ ।

दर्शनकोशका अनुसार सौन्दर्यशास्त्र मानिसद्वारा संसारको सौन्दर्यात्मक आत्मसातीकरणका नियम, सौन्दर्यका नियमअनुसार सिर्जनात्मक कामको सार र रूपको अस्त्र हो । सौन्दर्यशास्त्र कलाको दर्शन हो । सौन्दर्यशास्त्रलाई (ब्युटी अफ साइन्स) ‘सुन्दरताको विज्ञान’ पनि भनिन्छ । सामाजिक जीवन, कलासाहित्य र संस्कृतिमा परिवर्तित सुन्दरसम्बन्धी धारणा, सौन्दर्यबोध, सौन्दर्यपरक आदर्श, नयाँ सौन्दर्यमूल्य, रुचि, वर्गीय चेतनाका साथै; कुरूप र सुरूपको ध्रुबीकरण, सौन्दर्यानुभूति, सामूहिकता, उत्तरआधुनिकता र त्यसका मूल्यहरूको प्रतिरोध, आतङ्क र आनन्दको अनुभूति, त्याग र समर्पणमा सुन्दरताको अनुभूति नै सौन्दर्यशास्त्र हुन् । चेर्नीशेब्स्कीका अनुसार सौन्दर्य नै जीवन हो । उनको सौन्दर्यशास्त्रलाई जीवनको सौन्दर्यशास्त्र पनि भनिन्छ । सौन्दर्यशास्त्रको नियममा विचारधारा आउँछ । सौन्दर्यशास्त्रमा पुँजीवादी सौन्दर्यशास्त्र र माक्र्सवादी सौन्दर्यशास्त्रका दुई धारा छन् । जेहाउ ली र जेने कवेलले ‘फोर एस्सेज अन एस्थेटिक्स : टुवार्डस अ ग्लोबल भ्यु’ मा सौन्दर्यशास्त्रलाई तीन भागमा विभाजन गर्नुभएको छ– दार्शनिक सौन्दर्यशास्त्र, ऐतिहासिक सौन्दर्यशास्त्र र वैज्ञानिक सौन्दर्यशास्त्र ।

२.२.३ मार्क्सवादी सौन्दर्यशास्त्र

मार्क्सवादी सौन्दर्यशास्त्र क्रान्तिकारी चिन्तनको संश्लेषणसित सम्बन्धित छ । जीवन र जगत्को व्यापक र उच्च धरातल कलात्मक प्रतिबिम्बन गर्नु मार्क्सवादी सौन्दर्यशास्त्रको क्षेत्र हो । यथार्थको विरोध, पक्षधरताको त्याग, वर्गसमन्वयको पक्षपोषण, विचारधारात्मक र संज्ञानात्मक तत्त्वको बहिस्कार, न्यायपूर्ण युद्धको विरोध, कला र राजनीतिलाई पृथकीकरण, प्रतिबद्धताको विरोध तथा रूपवाद र उत्तरआधुनिकतावादतिर प्रवृत्त हुने चिन्तनसित मार्क्सवादी सौन्दर्यशास्त्रले कठोर सङ्घर्ष गर्दछ । यसले कलाको मूल्य, त्यसको सार र सामाजिक चेतनाका रूपहरूसँगको सम्बन्धमाथि प्रकाश पार्दछ । लेनिनले सौन्दर्यशास्त्रका यथार्थको कलासाहित्यसँगको सम्बन्ध, साहित्यमा प्रतिबिम्बनको सामग्री, कलासाहित्यमाथि सामाजिक प्रभाव, कलासाहित्यको वर्गीय पक्षधरता, लेखकीय स्वतन्त्रता र प्रतिबद्धता र कला सिर्जनाको उद्देश्यमाथि प्रकाश पार्नुभएको छ । नेपालमा कम्युुनिस्ट पार्टीको स्थापना (२००६) सँगै मार्क्सवादी सौन्दर्यशास्त्रीय चिन्तन सुरु भएको हो । यो मार्क्सवादका तीन सङ्घटक अङ्ग (दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद) सित अभिन्नरूपमा जोडिएको छ । मार्क्सवादी सौन्दर्यशास्त्र मार्क्सदेखि माओसम्मका दार्शनिक तथा वैचारिक चिन्तकहरूले विकास गरेका सौन्दर्यसम्बन्धी धारणाहरूको मोठ रूप हो ।

‘येनान गोष्ठीमा साहित्य र कलाबारे प्रवचन’ (सन् १९४२) मा माओले दिनुभएको साहित्य–कलासम्बन्धी प्रवचनको उच्च सौन्दर्यशास्त्रीय मूल्य छ । येनान प्रवचनले प्रतिबद्धता, सांस्कृतिक सेना, आधार अधिरचनाबिचको द्वन्द्वात्मक सम्बन्ध, रूप र अन्तर्वस्तु, संयुक्त मोर्चा, इतिहासको मूल्याङ्नजस्ता गहन र सार्वभौमिक विचार प्रस्तुत गरेको छ । गोर्कीले भन्नुभएको छ, “समाजको सौन्दर्यपरक चेतनाको स्तर प्रतिबिम्बित हुने कलासाहित्यमा कलात्मक बिम्बको मूर्तरूप दिने विचारधारात्मक शिक्षा–दीक्षा मात्र होइन कि भावनात्मक शिक्षा र मानिसलाई आनन्द र प्रेरणाको स्रोत दिने ज्ञान सिद्धान्त सौन्दर्यशास्त्र हो”, (सांस्कृतिक शैक्षणिक नोट : थपलिया) । मार्क्सवादी सौन्दर्यचिन्तनको विकासमा प्लेखानोभ गोर्की, लुनाचास्र्की, लु सुन, क्रिस्टोफर कड्वेल, राल्फ फाक्स, ज्दानोभ, हावर्ड फास्ट, जर्ज लुकाच, फिसर थोम्सनजस्ता कलाचिन्तकको पनि महत्त्वपूर्ण योगदान छ । प्लेखानोभले भन्नुभएको छ, “सौन्दर्यशास्त्रको वैज्ञानिक सिद्धान्त अब केवल त्यो बेला अगाडि बढ्न सक्तछ, जब त्यसलाई इतिहासको भौतिकवादी अवधारणामा आधारित गरिन्छ”, (उही) । जर्ज लुकासले भन्नुभएको छ, “माक्र्सवादी सौन्दर्यशास्त्र तथा साहित्यको इतिहासको व्यापक सिद्धान्त ऐतिहासिक भौतिकवादको सिद्धान्तमा पाउन सकिन्छ । ऐतिहासिक भौतिकवादको सहायताले हामी साहित्य र कलाको उद्भव, तिनका विकासका नियम र विभिन्न दिशाको जानकारी हासिल गर्न सक्तछौँ, जसको अनुसरण तिनले समग्र प्रक्रियामा आफ्नो उत्थान र पतनका अवधिमा गर्दछन्”, (उही) ।

मार्क्सवादी सौन्दर्यशास्त्रका अनेक प्रवर्ग छन् । सौन्दर्यानुभूतिका विशेष अभिव्यक्तिले प्रवर्गको काम गर्दछन् । प्रवर्ग वस्तु वा सङ्घटनाबारे ज्ञानको शृङ्खला (हाँगा) हो । सौन्दर्यपरक प्रवर्गको निर्माण श्रमप्रक्रियाका बिचमा तथा ऐतिहासिक रूपमा विकसित सामाजिक जीवनको वस्तुगत र आत्मगत पहलुको द्वन्द्वात्मक संश्लेषणबाट हुन्छ । सुन्दर, उदात्त, त्रासदी र प्रहसनात्मकतालाई मार्क्सवादी सौन्दर्यशास्त्रका प्रमुख प्रवर्ग मानिन्छन् । ‘नयाँ यथार्थ’ लाई पनि एउटा प्रवर्गको रूपमा लिन थालिएको छ । पछिल्लो चरणमा मार्क्सवादी सौन्दर्यशास्त्रमा जनयुद्धको सौन्दर्यशास्त्रको अध्ययन पनि हुन थालेको छ । जनयुद्धको सौन्दर्यशास्त्रले ध्वंस र निर्माणको द्वन्द्वात्मक सम्बन्ध अनि आनन्द र आतङ्कको द्वन्द्वात्मक सम्बन्धलाई उजागार गर्दै क्रान्ति र परिवर्तनका लागि सङ्घर्षका सबै रूपहरूलाई सौन्दर्यात्मक ढङ्गले आत्मसात् गर्दछ । वैज्ञानिक समाजवादी क्रान्तिचेत मार्क्सवादी सौन्दर्यशास्त्रको सौन्दर्यदृष्टि हो । यो निरन्तर क्रान्तिको सौन्दर्यचेतनामा आधारित छ । यो सौन्दर्यशास्त्र असीम त्याग, वीरता, बलिदान र शौर्यका अनगिन्ती शृङ्खलाबाट निर्माण भएको छ । मार्क्सवादी सौन्दर्यशास्त्रको जग द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो, जसका आधारमा सौन्दर्यपरक प्रवर्ग, सौन्दर्यको स्वरूप, सौन्दर्यपरक आवश्यकता तथा आदर्श, सौन्दर्यानुभूति, सौन्दर्यमूल्य, कलाको प्रकृति तथा रचनाप्रक्रियासहित कलामीमांसाको सैद्धान्तिक तथा पद्धतिगत विवेचना हुन्छ । यसले संसारको व्याख्या र विश्लेषण मात्र होइन, त्यसलाई बदल्ने प्रक्रियामा सौन्दर्यबोध गर्दछ । यो मानवीकरण, विमानवीकरण र पुनःमानवीकरणको प्रक्रिया मानवीय सारतत्त्वको अभिव्यक्तिसँग सम्बन्धित छ, जुन उत्पीडित जनताको मुक्ति र साम्यवादको महान् आदर्शसँग परिपूरक छन् । नेपालमा मार्क्सवादी सौन्दर्यशास्त्रको उन्नयनमा चैतन्य, निनु चापागाईं, डा. ऋषिराज बराल र घनश्याम ढकालहरूको महत्त्वपूर्ण भूमिका देखिन्छ ।

२.३ संस्कृति
३.३.१ संस्कृतिको परिचय

विश्वभर झन्डै दसहजारको हाराहारीमा संस्कृति रहेको अनुमान छ । संस्कृतिले व्यक्तिगत र सामूहिक अभ्यासको मार्गनिर्देशन गर्न पुस्तान्तरण हुँदै सामाजिक समूहको भौतिक र आत्मिक शृङ्खलालाई जनाउँछ । यसले भाषा, प्रक्रिया, जीवनशैली, चलन, परम्परा, बानी, मान, बान्की, उपकरण र ज्ञान समावेश गर्दछ । मानिसको श्रम, सिप र कौशलको केन्द्रीकृत रूप संस्कृति हो । मानिसले प्रकृतिसित सङ्घर्ष गर्ने प्रक्रियामा संस्कृतिको जन्म भएको मानिन्छ । समाज विकासको ऐतिहासिक प्रक्रियामा निर्मित भौतिक र आत्मिक मूल्यको समुच्चय स्वरूप नै संस्कृति हो । संस्कृतिको शब्दार्र्थ ‘सुध्रेको स्थिति’ हुन्छ । मध्ययुगमा संस्कृतिका परिचय ‘खेती गरिएको भूमि’ हुन्थ्यो । पुनर्जागरण–युगमा यसले ‘खेती गरिएको’ मानिस, जो साहित्य र ललितकलामा शिक्षितको परिचय पायो । अठारौँ शताब्दीदेखि यसले प्रवुद्ध ज्ञानको परिचय बनायो । उन्नाइसौँ शताब्दीमा यसले राम्रो बानीबेहोरा र चलन समेट्यो । बिसौँ शताब्दीमा यो एउटा शक्तिशाली सामाजिक विज्ञानको रूपमा अगाडि आएको छ ।

संस्कृति समाजको राजनीति र अर्थतन्त्रको विचारधारात्मक प्रतिबिम्बन हो । यसलाई भौतिक र आत्मिक संस्कृतिका रूपमा बुझ्ने गरिन्छ । मानिसद्वारा उत्पादनका निम्ति गरिने सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगका प्रक्रियामा प्राप्त गुणात्मक उपलब्धि स्तर भौतिक संस्कृति हो भने मानिसको प्रकृति तथा सामाजिक जीवनसम्बन्धी संस्कृति आत्मिक संस्कृति हो । गोर्कीको भाषामा मानवीकृत दोस्रो प्रकृति नै संस्कृति हो । जिज्ञासाको परिणाम धर्म र दर्शन जन्मिएको मानिन्छ । सौन्दर्यको खोज गर्दा त्यो सङ्गीत, साहित्य, मूर्ति, चित्र र वास्तु आदि कला जन्मिए । संस्कृति कुनै खास व्यक्तिका पुरुषार्थको फल होइन, असङ्ख्य मानिसका भगीरथ प्रयत्नको परिणाम हो । संस्कृति सामाजिक अन्तक्रिया एवम् सामाजिक व्यवहारका उत्प्रेरक प्रतिमानहरूको समुच्चय हो । संस्कृति सामाजिक विशिष्टताका बिचबाट पुस्तान्तर हुँदै जाने र पुस्तान्तरणले नवीन सांस्कृतिक आदर्श जन्माउँदै जाने प्रक्रियाका बिचबाट अगाडि बढ्दछ । संस्कृति सामाजिक जीवनप्रवाहको उद्गमस्थली र सभ्यता प्रवाहामी हो । युरोपमा संस्कृति रिफाइनमेन्ट, स्विटनेस आदिका रूपमा परिचित छ । युरोपका म्याथ्यु आर्नोल्डले ‘कल्चर एन्ड अनार्की’ मा लेख्नुभएको छ, ‘संस्कृति भनेको स्विटनेस र लाइट हो, अनार्की होइन ।’ आजभोलि पञ्जेबाजा, दुबोको माला, टाइसुट र नेपाली टोपीको ठिमाहा (क्वाँटी) संस्कृति हाबी हुँदै गएको देखिन्छ । संस्कृति पहिले पहिले घोडा चढेर आउँथ्यो, आजकल प्रविधि चढेर तुरुन्ताका तुरुन्तै आउने गरेको छ । समकालीनतामा नेपाल भारतीय तथा अमेरिकी साम्राज्यवादी सांस्कृतिक हेजोमोनीका विरुद्ध सङ्घर्ष गरिरहेको छ ।

२.३.२ संस्कृतिका विशेषता

संस्कृतिलाई अनेक विशेषताका आधारमा चिनाउन सकिन्छ । कैयौँका अध्ययन तथा बुझाइका सीमा पनि आ–आफ्ना ठाउँमा छँदैछन् । मूलतः संस्कृतिका निम्नानुसारका विशेषता रहेका छन् :

(क) संस्कृति समय र ठाउँअनुसार फरक हुन्छ ।
(ख) संस्कृतिलाई भाषा (माध्यम) ले प्रभाव पार्दछ ।
(ग) संस्कृति मानिसले निर्माण गर्दछन्, जो सिक्ने व्यवहार हो ।
(घ) संस्कृति गतिशील, रूपान्तरणकारी र हस्तान्तरित हुन्छ ।
(ङ) प्रत्येक समाजको आ–आफ्नै विशिष्ट संस्कृति हुन्छ ।
(च) संस्कृतिमा सामाजिक गुण हुन्छ, जो सभ्यताको प्रतिबिम्बिन हो ।

२.३.३ सांस्कृतिक रूपान्तरण

सांस्कृतिक रूपान्तरणमा वैकल्पिक संस्कृति प्रारम्भिक एवम् सकारात्मक पहल हो । सचेतपूर्ण पहलबाट वैकल्पिक संस्कृति जनसंस्कृतिका आधार बन्न सक्छन् । वैकल्पिक संस्कृतिको निर्माण दुई किसिमले हुँदै आएको छ– एक, समयक्रमसँगै रूपान्तरण हुँदै गएर बन्ने विकल्प र अर्को, सचेतन प्रयत्नद्वारा रूपान्तरण हुँदै निर्माण भएको नयाँ विकल्प । नेपालका धेरै संस्कार–संस्कृति फेरिँदैछन् । विकल्प तयार हुँदै जाँदा ती जनसंस्कृतिमा बदलिन सक्छन् । उदाहरणका रूपमा रुसमा लेनिनको ‘घन्टाको दृष्टान्त’ र नेपालमा ‘हलो क्रान्ति’ लाई लिन सकिन्छ । नेपालका संस्कृतिलाई ‘संरक्षण गर्नुपर्ने’, ‘परिमार्जन गर्नुपर्ने’ र ‘हटाउनुपर्ने’ तीन भागमा वर्गीकरण गरी तिनलाई सोहीअनुसार प्रयोगमा लैजाँदा वैकल्पिक संस्कृति तयार हुँदै जान्छन् । संस्कार–संस्कृतिसम्बन्धी अधिकार प्रयोग गर्ने निकाय, सरोकारवाला वा सङ्घ–संस्थाले छलफल गरी निश्चित मानक बनाउँदै जाँदा राष्ट्रियस्तरमा विकल्प दिन सकिन्छ । जनयुद्धकालमा वैकल्पिक संस्कृति निर्माणमा केही पहल भएको देखिन्छ । यद्यपि त्यो रूपान्तरण कम र निर्देशनात्मक बढी थियो । सांस्कृतिक रूपान्तरण विरेचन सिद्धान्तसित पनि सम्बन्धित छ, विरेचन एरिस्टोटलको विश्वप्रसिद्ध साहित्यिक सिद्धान्त पनि हो । एक किसिमको जीवनपद्धतिसँग हिंडिरहेको समुदायलाई अर्को किसिमको जीवनपद्धतिमा हिंडाउन अर्को नयाँ बाटो दिनुपर्दछ । होची मिन्हका अनुसार ‘कम्युनिस्ट नैतिकता र सांस्कृतिक रूपान्तरण’ समाजवादी क्रान्तिको चासोका विषय हुन् । आलोचना र आत्मालोचना रूपान्तरणका आधारभूत सर्त हुन् ।

सांस्कृतिक रूपान्तरणका आत्मसङ्घर्ष, अन्तर्सङ्घर्ष र वर्गसङ्घर्ष गरी तीन चरण हुन्छन् । यो सर्वहारा सांस्कृतिक क्रान्तिको प्रक्रियामा हुन्छ । सांस्कृतिक रूपान्तरण भनेको सामन्ती, पुँजीवादी तथा निम्न पुँजीवादी संस्कृति र संशोधनवादी विश्वदृष्टिकोणका विरुद्ध सर्वहारा संस्कृतिको अवलम्बन गर्नु हो । यो वर्गीय र भावनात्मक रूपान्तरण अनि व्यक्तिवादको विरोध र समाजवादलाई अवलम्बन गर्ने प्रश्नसित सम्बन्धित छ । सर्वहारावर्गीय आदर्श, इमानदारिता तथा मालेमावादी सैद्धान्तिक प्रतिबद्धता आधारभूत सांस्कृतिक मानक हुन् । सांस्कृतिक रूपान्तरण सारतः ज्वारभाटाबाट सिर्जना हुने नवीन मूल्यमा आधारित छ । लक्ष्यमा अघि बढ्नु, नीति, नियम, आचारसंहिता पालना गर्नु, कम्युनिस्ट नैतिकता, आदर्श र जीवनशैली अपनाउनु, आफ्नो वर्गप्रति प्रेम र वर्गबैरीप्रति घृणा गर्नु, विचारअनुरूप आचरण र व्यवहार गर्नु रूपान्तरणका प्रक्रिया हुन् । राजनीतिलाई कमान्डमा राख्नु, विचारधारात्मक क्षेत्रका समस्यालाई द्वन्द्ववादी भएर समाधान गर्नु, विश्वदृष्टिकोणका आधारमा हरक्षेत्रमा दक्षता प्राप्त गर्नु, जनसमुदायलाई साथमा लिएर संशोधनवादविरूद्ध लड्नु, मालेमावादलाई दृढताका साथ अवलम्बन गर्दै फड्को मार्नु रूपान्तरणका आधार हुन् ।

सांस्कृतिक रूपान्तरणको प्रश्नमा चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति निकै महत्त्वपूर्ण सन्दर्भ हो । चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको मुख्य सिद्धान्त ‘क्रान्तिको निशाना आफैँलाई बनाऊ’ (सेल्फ सुड बी द टार्गेट अफ रिभोलुसन) थियो । सांस्कृतिक क्रान्तिमा ४ खराबी (पुरानो विचार, पुरानो आचरण, पुरानो संस्कृति, पुरानो बानी) का विरुद्ध लड्न आह्वान भयो– डिस्ट्रोय द फोर वल्डक (वल्ड आइडिया, वल्ड कस्टम्स, वल्ड कल्चर, वल्ड ह्याबिट्स) । यसलाई विचार, भावना, आदत तथा संस्कारमाथि विजय प्राप्त गर्दै अघि बढ्ने तथा पुँजीवादको पुनस्र्थापना रोक्ने कार्य र संशोधनवादको मूलोच्छेदन गर्ने उद्देश्यमा आधारित सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्तमा आधारित राजनीतिक क्रान्तिका रूपमा बुझ्नुपर्दछ । सांस्कृतिक क्रान्तिको उद्देश्य विश्वदृष्टिकोणको समस्या समाधान गर्नु हो । पुरानो विचारधारा, संस्कृति, चालचलन, बानीबेहोरा, साहित्य तथा कला, सामाजिक चिन्तन, धर्ममाथिको क्रान्ति नै सांस्कृतिक क्रान्ति हो । माओ र सांस्कृतिक क्रान्तिका पक्षधर चियाङ चिङ, चाङ चिङ, चियाओ, वाङ हङ बेन र याओ बनेइ वान थिए । राजनीतिलाई शीर्षासनमा राख्नु, सयौँ फूलहरूलाई फुल्न दिनु, लाल र निपूर्ण बन्नु एवम् क्रान्तिकारी उत्तराधिकारी तयार पार्नुजस्ता विषय सर्वहारा सांस्कृतिक क्रान्तिका मुख्य मान्यता थिए ।

जुन देशमा जुन वर्ग र जुन विचारको हैकम चल्दछ; धर्म–संस्कृतिले पनि त्यही वर्गको सांस्कृतिक आधारशिलाको काम गरिरहेको हुन्छ । संस्कृति जनताका सांस्कृतिक जीवनसँग अभिन्न रूपले जोडिएका विषय हुन् । यसमा सांस्कृतिक निर्माण, रूपान्तरण, पुनर्भाष्यकरण र निषेधीकरणजस्ता विषय पर्दछन् । नेपालका कम्युनिस्टहरूमा सिद्धान्त र व्यवहारबिचमा ठूलो अन्तर देखिन्छ । नेपालमा धर्मभीरु कम्युनिस्ट बढी देखिएका छन् । यथार्थमा ईश्वर भय र अन्धकारको उपज हो । ईश्वर अन्याय र अत्याचारका लागि शोषक–उत्पीडकहरूको उपकरण हो । लेनिनले भन्नुभएको छ, “धर्म आर्थिक शोषणको एउटा यस्तो रूप हो, जसले हरेक ठाउँ अरूका लागि निरन्तर श्रम गर्ने, अभाव र एकाङ्कीपनका कारण पहिलेदेखि सन्त्रस्त भएका जनसमूहको जीवनलाई अझ धेरै भार थपिदिएको छ । शोषकवर्गका विरुद्धको सङ्घर्षमा शोषितवर्गको अशक्तताले मृत्युपछि सुखद् जीवनको एउटा विश्वासको परिकल्पनाले त्यस्तै स्थितिको बोध गराएको छ, जसरी प्रकृति–विरुद्धको सङ्घर्षका क्रममा आदिम जातिहरूको अनभिज्ञताले देउता, दानव, चमत्कार आदि कुरा हो सृष्टि गरिदिएको थियो । मान्छेहरू जो जीवनभर मिहिनेत गरेर पनि अभावै–अभावको जीवन व्यतीत गर्न बाध्य छन्; धर्म, तिनलाई यस लोकमा विनम्र भएर धर्मवान हुन र परलोकमा सुख प्राप्त गर्ने आशा र सान्त्वनाको उपदेश दिने गर्दछ । परन्तु ती मान्छेहरू, जो अरूको श्रममा मोजमस्ती गर्छन् धर्म, यस जीवनमा मालिक बनेर दानदक्षिणा दिने उपदेश दिंदै शोषणको रूपमा उसको सम्पूर्ण अस्तित्व र औचित्य सावित गर्ने आधार प्रदान गर्दछ अनि स्वर्गमा आनन्द र सुख प्राप्त गर्ने सस्तो मोलमा टिकट बिक्री गर्ने गर्दछ । धर्म जनताका लागि अफिम हो ।” धर्म मानिसको भ्रान्तिपूर्ण धारणामा अडिएको आदिम विश्वास हो; जो गोत्र, वंश र जातिगत वृत्तमा घुम्दै हुर्कियो । उन्नाइसौँ शताब्दीतिर धर्मलाई राजनीतिले हस्तक्षेप नगर्ने सहमतिस्वरूप धर्मनिरपेक्षताको अवधारणा जन्मिएको थियो । नेपाल यस्तो धर्मनिरपेक्ष राष्ट्र बनेको छ, जहाँ धर्मसापेक्ष गतिविधि तीव्रतामा भइरहेका छन् । नेपालमा धर्मनिरपेक्षताको ठूलो उपहास भइरहेको छ ।

३. सांस्कृतिक क्षेत्रमा गर्नुपर्ने कामहरू

‘कलासाहित्य, सौन्दर्यचिन्तन र संस्कृति’ लाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ । यसलाई मोठ रूपमा सांस्कृतिक क्षेत्रमा गर्नुपर्ने कामका रूपमा अध्ययन गर्नु सही हुन्छ । नेपालमा सांस्कृतिक कार्य मूलतः उपदेशात्मक र निर्देशनात्मक रहेको छ । यहाँ ‘अंशलाई समग्र र समग्रलाई अंशमा’ अर्थात् ‘जङ्गल सम्झँदा रुख बिर्सने र रुख सम्झँदा जङ्गल’ बिर्सने प्रवृत्ति छ । शब्द र कर्मका बिचको एकत्वबिना सांस्कृतिक कार्यभार पूरा हुँदैन । सांस्कृतिक आन्दोलनमा आवधिकता अपरिहार्य छ । उदारवाद–नवउदारवादले जनताका संस्कृति तहस–नहस पार्दैछ । सांस्कृतिक कार्यभारको अन्तर्य विद्रूपतालाई सुन्दरतामा फेर्नु हो । साम्राज्यवादको प्रभाव, सूचना साम्राज्यवाद, सांस्कृतिक भूमण्डलीकरण, विखण्डन, अराजकता, उदारवादका रूपमा विश्वव्यापी प्रभाव कायम गर्दै आइरहेको वैज्ञानिक समाजवादी सांस्कृतिक धाराको पुँजीकरणमा जोड दिन आवश्यक छ । वैज्ञानिक समाजवादी राज्यसत्ता प्राप्तिको सङ्घर्षसँगै नूतन सांस्कृतिक मूल्यका पक्षमा सङ्घर्ष गर्नु सांस्कृतिक क्षेत्रमा गर्नुपर्ने काम हो ।

नेपाली सामाजिक जीवन भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादसामु निरीह देखिँदैछ । भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादले विषाक्त संस्कृति ह्वारह्वार्ती फैलाइरहेको छ । यसले संस्कृतिको भयानक विद्रूपीकरण गरेको छ । कुनै पनि देशमा राजनीतिकभन्दा सांस्कृतिक विजय धेरै चुनौतीपूर्ण हुन्छ नै, तर जति चुनौतीपूर्ण भए पनि जनएकता र वैज्ञानिक विचार तथा सही राजनीतिक कार्यदिशाद्वारा त्यसलाई पराजित गर्न सकिन्छ । नेपालको मौलिक र नूतन संस्कृतिको ऐतिहासिक उत्खनन्, अन्वेषण, पहिचान र मूल्याङ्कन गरी जनसंस्कृतिको प्रचार–प्रसार गर्न भौतिकी तागतको आवश्यकता पर्दछ । वैज्ञानिक समाजवादी राज्यसत्ता प्राप्तिको सङ्घर्षका तीब्रतासँगै समाजवादी संस्कृतिको निर्माणमा पनि सँगसँगै जोड दिनुपर्दछ । ‘पहिले राजनीतिक काम गरौँ, त्यसपछि सांस्कृतिक काम गरौँला’ भन्ने मनोविज्ञानमा व्यापक र आमूल परिवर्तन गरी राजनीतिक आन्दोलनसँगै सांस्कृतिक आन्दोलनलाई फेर्दै र फेरिँदै गति र उचाइमा लैजानु आजको सांस्कृतिक क्षेत्रमा गर्नुपर्ने काम हो ।

सांस्कृतिक क्रान्ति निरन्तर क्रान्तिमा जोडिनुपर्दछ । यसले पुँजीवादी र पतनशील मूल्यचेतनाका विरुद्ध सङ्घर्ष गर्नुपर्दछ । भूमण्डलीकृत साम्राज्यवादी संस्कृतिको सशक्त प्रतिरोध गर्दै मौलिक, वैज्ञानिक, राष्ट्रिय र जनसंस्कृतिको स्थापना गर्र्नुपर्दछ । कलासाहित्यको माध्यमबाट वैज्ञानिक समाजवादी साहित्यिक–सांस्कृतिक शिविरलाई समृद्ध तुल्याउनुपर्दछ । सांस्कृतिक क्षेत्रको काम दीर्घकालीन सांस्कृतिक युद्धमोर्चासित सम्बद्ध छ । वैज्ञानिक समाजवादी सांस्कृतिक आन्दोलन हाम्रो सांस्कृतिक आन्दोलनको दिशा हो । क्रान्तिकारी लेखक, साहित्यकार तथा संस्कृतिकर्मीहरूले समाजवादी–यथार्थवादी धारालाई आत्मसात् गर्दै आइरहेका छन् । राजनीतिक रूपले नेपाली जनताको प्रधान अन्तर्विरोध दलाल पुँजीवादसँग भएजस्तै क्रान्तिकारी संस्कृतिकर्मीको प्रधान अन्तर्विरोध पनि दलाल पुँजीवादी संस्कृतिसितै छ । हाम्रो प्रहारको निशाना पनि त्यही हो । द्वन्द्ववादका आधारमा वैज्ञानिक संस्कृतिको पक्षमा प्रचारात्मक तथा क्रियात्मक आन्दोलनलाई अगाडि बढाउनुपर्दछ । नूतन सांस्कृतिक मूल्यबोधलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, वैज्ञानिक समाजवाद र साम्यवादको उदात्त आदर्शसित पनि जोड्नु सांस्कृतिक क्षेत्रमा गर्नुपर्ने काम हो ।

जनसङ्घर्ष एवम् बलिदानद्वारा स्थापित मूल्य समग्र समाजको संस्कृति बन्न निश्चित समय र प्रयत्नको आवश्यकता पर्दछ । जनयुद्ध दिवस, सहिद सप्ताह, सांस्कृतिक प्रतिरोध दिवस, सांस्कृतिक बलिदान दिवस, किसान दिवस, विभिन्न मोर्चा, नेतृत्वको कार्यक्षेत्र, जन्म, बलिदानसित जोडिएका क्षेत्र, पार्टी स्थापना दिवस, अन्तर्राष्ट्रिय नारी दिवस, अन्तर्राष्ट्रिय मजदुर दिवसलगायतलाई पुँजीकृत गर्दै जानुपर्दछ । सामन्तवादी अवशेषका विरुद्धमा जनतालाई अपिल गर्नु, सामन्ती चिन्तनलाई परिवर्तन गर्नु, वैज्ञानिक समाजवादी लक्ष्यतिर आकर्षित गर्नु र दलाल पुँजीवादप्रति चरम घृणा उब्जाउनु आदि हाम्रा सांस्कृतिक काम हुनुपर्दछ । हामीले सांस्कृतिक तथा सिर्जात्मक काममा सांस्कृतिक सौन्दर्यमूल्य झल्काउनुपर्दछ । मार्क्सवादी स्रष्टाहरूलाई सङ्गठित गर्नु, संयुक्त सांस्कृतिक मोर्चा बनाउनु, उनीहरूको प्रतिभाको परिष्कारको परिवेश बनाउनु, तिनलाई वैचारिक रूपले माझ्नु एवम् तिनलाई सङ्गठित गर्दै अग्रगामी परिवर्तनका निम्ति सर्जकीय हस्तक्षेपसहित सशरीर सङ्घर्षमा ओर्लने वातावरण बनाउनुपर्दछ । जनमुक्ति सेनाद्वारा नेपालको माक्र्सवादी कलासाहित्यको क्षेत्रमा पुर्याइएको योगदानको दस्तावेजीकरण गर्नु पनि हाम्रो अर्को महत्त्वपूर्ण काम हो । प्रतिक्रियावादी सत्ताको तावेदारीका विरुद्ध अग्रगामी र प्रतिरोधी प्रवाहमा जोड्नु र जोडिनु पनि सांस्कृतिक क्षेत्रमा गर्नुपर्ने काम हो ।

प्रतिरोधी हिम्मतको अभावमा कैयौँ स्रष्टा स्वतन्त्रताको सपना देखेर पनि उदासीनता, आलस्य, निराशा र कुण्ठाको बाटो समाएका हुन्छन्, निर्जन विपत्तिका बिचबाट तिनलाई अगाडि बढाउनुपर्दछ । कविता–गोष्ठी, सांस्कृतिक कार्यक्रम, सांस्कृतिक पदयात्रा, गीत–सङ्गीत, नाटक, चलचित्रको प्रदर्शन, चित्रकला गोष्ठी, अन्तक्रिया तथा विधागत दक्षतालाई माथि उठाउँदै आवश्यकताअनुरूप सांस्कृतिक कारबाही पनि गर्नुपर्दछ । टुप्पीदेखि पैतालासम्म सुधारवाद, संसद्‌वाद र दक्षिणपन्थी संशोधनवादमा भासिएकाबाट नयाँ संस्कृति निर्माणको अपेक्षा गर्नुहुँदैन । साम्राज्यवादी सांस्कृतिक प्रदूषण र अतिक्रमणको अन्त्य गर्न दृढताका साथ भारतीय चलचित्र, अश्लील श्रव्य–दृश्यलगायतका सामग्रीमाथि रोक लगाउनुपर्दछ । वैज्ञानिक संस्कृति निर्माण गर्नु भनेको जनताले निर्माण गरेका सबै सकारात्मक एवम् उपयोगी सांस्कृतिक मूल्यलाई मिलाएर अगाडि बढ्नु हो । यद्यपि झन्डै दस हजार वर्षदेखि समाजका हरेक तन्तुमा आनीबानी, संस्कार–संस्कृति अन्तर्घुलित भएको हुँदा सांस्कृतिक रूपान्तरण तुरुन्ताको तुरुन्त हुँदैन । सांस्कृतिक आन्दोलनमा सचेतता, धैर्यता र गम्भीरता निकै महत्त्वपूर्ण सवाल हुन् । सिद्धान्त र जीवन–व्यवहारलाई एकरूपतामा ल्याउन कम्युनिस्ट पार्टीभित्र समाजवाद र पार्टीबाहिर जनवाद हुने परिस्थितिको निर्माण गर्नु पनि सांस्कृतिक क्षेत्रमा गर्नुपर्ने काम हो ।

केपी ओली नेतृत्वको सरकारले २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएपछि सिङ्गो देश नै जेलमा परिणत भयो । नेपाल एउटा ‘कम्युनिस्ट’ ले अर्को कम्युनिस्टलाई प्रतिबन्ध लगाउने देश बन्यो । हजारौँ नेता–कार्यकर्तालाई झुट्टा मुद्दा लगाएर जेल–हिरासतमा राखियो । दर्जनको हत्यासमेत गरियो । लेखक, कलाकार, साहित्यकारहरूलाई पनि झुट्टा मुद्दा लगाएर थुनियो । त्यसप्रकारको प्रतिकूल घडीमा पनि जेलभित्रैबाट प्रतिरोधी सिर्जना जन्मिए । कलाकारहरूले प्रतिरोधी सांस्कृतिक अभियान चलाए । लेखकहरूले सामाजिक फासिवादी सत्ताविरोधी लेख, कथा, निबन्ध, नाटक लेखे । कविहरूले सशक्त कविता कोरे । गायकहरूले विभिन्न मञ्चमा प्रतिरोधी गीत गाए । यी परिघटनाका विशिष्ट महत्त्व रहेको छ । कालापानी, लिपु लेक र लिम्पियाधुरासम्बन्धी सङ्घर्ष, राष्ट्रघाती ‘इम्बोस्ड नम्बरप्लेट’ विरुद्धको आन्दोलन, इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड ‘आईफा’ विरुद्धको सफल सङ्घर्ष, सलमान खानको ‘द बङ्ग द टुर’ को सफल प्रतिरोध नेपालको जनसांस्कृतिक आन्दोलनमा कोशेढुङ्गा बनेका छन् । विभिन्न रूपमा भाषा आन्दोलन र तिनको व्याकरणात्मक मूल्यमाथिको बहस पनि जारी छ । बलिदानको सांस्कृतिक तथा सौन्दर्यात्मक दस्तावेजीकरण हुन जरुरी छ । यिनलाई एउटै संरचनाको सङ्घर्षमा डोलायमान तथा चलायमान गर्न आवश्यक छ । कोरोनापछि विश्वभर प्रकृतिमैत्रीको कुरा उठिरहेको छ, जसलाई संस्कृतिसित जोड्न आवश्यक छ । हामीले आदतको सत्ता भत्काउनु त छँदैछ, पार्टीका नेता–कार्यकर्ताको आचरण र व्यवहारसम्बन्धी नियमित सांस्कृतिक श्वेतपत्र जारी गर्ने पद्धतिको विकास गर्नुपर्दछ । प्रतिरोधी सांस्कृतिक चेतनाको विकास गर्नु र संस्कृतिको जनपक्षीय स्वत्वको रक्षा गर्नु आजको सांस्कृतिक क्षेत्रमा गर्नुपर्ने महत्त्वपूर्ण काम बनेको छ ।

दलाल सत्ताको सांस्कृतिक क्षेत्रमा गम्भीर प्रभाव परेको छ । अझ यो मैमत्त सामाजिक फासिवादी संस्कृतिमा परिणत हुँदै गएको छ । संस्कृतिलाई नाफाको साधन बनाइएको छ । सांस्कृतिक सन्दर्भहरू बहुराष्ट्रिय कम्पनीको मुनाफाखोर रजाइँमा बदलिएका छन् । उपभोक्तावादले हाम्रो सांस्कृतिक मूल्यको हलाल गरिरहेको छ । पहिचानको राजनीतिको नाममा अनेकन दुष्प्रभाव फैलाइएको छ । पहिचानको राजनीतिले अग्रगामी शक्तिलाई आफ्नो मूलभूत एजेन्डाबाट विचलित गराउँदै लगेको छ । यसले दलाल पुँजीवादी सांस्कृतिक धरातल सिर्जना गरिरहेको छ । निर्वाचनमा ‘माओवादीहरू रुखमा भोट हाल्ने र एमालेहरू हलोमा भोट हाल्ने’ गतिविधिले विचारको भयानक विसर्जन, आदर्श तथा निष्ठाविहीनता, सिद्धान्तविहीनता, विचारविहीनतालाई झल्काएको छ । टाउकाको मूल्यमा तोक्ने र तोकिनेहरूबिचको गठजोड विचलनको पराकाष्ठा हो । जनताको महान् बलिदानबाट प्राप्त भएको गणतन्त्रमा ‘कमरेड कमल थापा’ जन्मनु दलाल राजनीतिको सांस्कृतिक अभिव्यक्ति हो । यो संसदवादी दलहरूको गठबन्धनको संस्कृति तिनका पलायनता र भागदौडको अभिव्यक्ति पनि हो । यसप्रकारको असामाजिक, अराजनीतिक, असांस्कृतिक गतिविधिका विरुद्ध सङ्घर्ष गर्नु सांस्कृतिक क्षेत्रमा गर्नुपर्ने महत्त्वपूर्ण काम हो ।

देश, काल र परिस्थितिको मागअनुसार वैज्ञानिक समाजवादी क्रान्तिकारी चरित्रकै संस्कृतिको रूप हुनुपर्दछ । नयाँ संस्कृति निर्माण कठोर तर महत्त्वपूर्ण सवाल हो । हामीले यो पृथ्वी नै सत्य हो; समाजमा गरिब–धनी हुनुका कारण यहीँकै सामन्ती, पुँजीवादी र साम्राज्यवादी व्यवस्था हुन्, यिनको उन्मूलन गरी समाजवाद र साम्यवाद कायम गरेमा निश्चित रूपले समाजमा समानता आउँछ; भाग्यवाद र पूर्वजन्म भन्ने कुरा शोषक वर्गका जनता ठग्ने कल्पना हुन्; जातभात, छूत–अछूत आदि कुरा अरू कसैले हैन; सामन्ती व्यवस्थाले बनाएको हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्दछ । प्रत्येक मानिस समान हुन्; नारी–पुरुष समानता, नारीलाई आफ्नो इच्छामुताविक बिहेको अधिकार, सम्पत्तिमा समान अधिकार, प्रेमविवाहको स्वतन्त्रता, बालविवाह र वृद्धविवाहको अन्त्य, मानवको सारा मिहिनेत क्रान्ति र नवनिर्माणमा लगाउनुपर्दछ । कथित उच्चकुलीन सामन्तवादका अवतार, उँचनीच र भेदभाव अवैज्ञानिक, ईश्वर कपोलकल्पित, संसारको सिर्जना भौतिक पदार्थको द्वन्द्वात्मक नियमबाट भएको, वेद–पुराणादि र ऋषिसूक्त पुरातन ज्ञानको पहुँचसम्म मात्र सीमित रहेको, ती धेरैजसो सामन्तवादी स्वार्थअनुरूप रहेकोले तिनका सहीलाई अवलम्बन गर्दै गलत कुरा हटाउँदै जानुपर्दछ । धर्म मान्नुको अर्थ चलिआएको शोषणमूलक व्यवस्था र धर्म जनतालाई बेहोस बनाएर शोषण गर्न शोषकवर्गले सिर्जना गरेको अफिम भएकोले कुरा हामीले स्थापित गर्नुपर्दछ । संसारका सबै जाति समान छन्, कोही पनि ‘श्रेष्ठ’ र ‘महान्’ छैनन् भन्ने कुरामा जोड दिनु पनि सांस्कृतिक क्षेत्रमा गर्नुपर्ने काम हो ।

कहिलेकाहीँ बढी बाठो बन्न खोज्दा लडिन्छ । जस्तो, पुँजीवादीहरूले बठ्याइँका साथ समाजवादी प्रभावबाट जोगिन खोज्दा वर्णशङ्कर (सामन्ती र पुँजीवादी) संस्कृति जन्मिएको छ । हामीले यस किसिमको संस्कृतिको विरुद्ध सङ्घर्ष गर्नुपर्दछ । व्यक्ति समाजको एकाइ हो, ऊ समाजका हितविरुद्ध स्वच्छन्द हुनै सक्तैन । यौनस्वतन्त्रता मानवीय प्रवृत्ति हैन, पासविकता हो । विज्ञानको परिधिलाई ननाघी प्रेमविवाहको पूर्ण स्वतन्त्रता र एकनिष्ट विवाह नै समाज विकासको वास्तविकता हो । भौतिक र रासायनिक द्वन्द्वात्मक अन्तक्र्रियाबाट विश्वको सृष्टि भएको हो । माक्र्सवादले नै विकासको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी पद्धतिअनुसार व्याख्या गरेकोले एवम् सम्पूर्ण वैज्ञानिक परीक्षाबाट समेत सत्य प्रमणित भएकोले माक्र्सवाद वैज्ञानिक कुरा हो । वर्गसङ्घर्षबाहेक समाज बदल्ने अर्को बाटो नै छैन, अहिंसात्मक शान्तिपूर्ण सङ्क्रमण फट्याइँ हो । साम्राज्यवादले अनेक सांस्कृतिक साधन प्रयोग गरिरहेको छ । आज पुँजीवादको भौतिकवादी ऐतिहासिक वर्गचरित्र समाप्त भएको छ । आज प्रतिक्रान्तिकारीहरूमा मार्क्सवादको संशोधन गर्ने प्रवृत्ति देखा पर्दैछ । अमेरिकनहरू रकेट प्रक्षेपण गर्दा ईशाको प्रार्थना गरिहेछन् । अमेरिकामा करिब १७०० पत्र–पत्रिकामध्ये १२०० जतिले राशिफल छापिरहेछन् । नेपालमा पनि विभिन्न पत्रपत्रिका र टेलिभिजनबाट राशिफल प्रसारण गरिन्छ । अमेरिका, युरोपदेखि भारतसम्म टुनामुना र तन्त्रमन्त्र प्रचार गर्ने होड छ । साम्राज्यवादी संस्कृतिले मुखमा शान्ति र व्यवहारमा युद्धको प्रचार गरिरहेछ । श्रेष्ठ जातिवाद, कालो र गोरा पुर्वेली र पश्चिमेली भेदभाव, भविष्यप्रति अनेक भ्रम र अनास्थाको प्रचार, अङ्ग्रेज–अमेरिकी चालचलन र संस्कृति नै सर्वश्रेष्ठ, समाजवादी देशहरूका बारेमा अनेक लाञ्छना लगाइरहेको छ । यसका विरुद्ध सङ्घर्ष गर्नु सांस्कृतिक क्षेत्रमा गर्नुपर्ने काम हो ।

साम्राज्यवादले विश्वभर भ्रष्ट–अराजकतावादी प्रवृत्ति फैलाइरहेको छ । उसले अमूर्तवादी, निराशावादी, पलायनवादी, नग्न–वासनावादी विकृत कलासाहित्य, सङ्गीत, नृत्य, चलचित्रको प्रचार गरिरहेको छ । उसले शान्तिसेनाका नामले विश्वभर जासुसहरू फैलाउने, सुन्दरी प्रतियोगिता गराउने, अरूका कलाकृति चोरी–निकासी गर्ने, आफ्ना दूतहरूद्वारा भाङ, धतुरो, गाँजा, अफिम, रक्सी आदि र छाडा यौनक्रियाको प्रचार गर्नेजस्ता घृणित काम गरिरहेको छ । उसले विभिन्न स्कलरसिपको नाममा आफ्नो जासुस उत्पादन गरिहेको छ, (उदाहरणार्थ, भारतको जवाहरलाल विश्वविद्यालय, बेलायतको अक्स्फोर्ड र क्याम्ब्रिज विश्वविद्यालय) । हामीले न्यायपूर्ण युद्धको समर्थन र अन्यायपूर्ण साम्राज्यवादी युद्धहरूको विरोध गरी शान्तिपूर्ण सहअस्तित्वको माग गर्दै मानिसलाई वर्गसापेक्ष हेरी श्रेष्ठ जातिवादी भावना र काला–गोरा, पूर्वेली–पश्चिमेली आदि भेदभावका विरुद्ध सम्पूर्ण जातिको सम्मान र समानताको समर्थन गर्नुपर्दछ । वैज्ञानिक समाजवाद–साम्यवादप्रति पूर्णआस्था र दृढविश्वासको प्रचार गर्नु, प्रत्येक देश र जातिका श्रमिकवर्गले निर्माण गरेको संस्कृति, रहन–सहन, भेषभूषा, गीत, लय, शिल्प, आदिको परिमार्जन र विकास गर्नु, समाजवादी देश र व्यवस्थाहरूको ठोस समर्थन र उनीहरूका विरुद्ध प्रचार गरिएका झुट्टा र कुत्सित प्रचारको भण्डाफोर गर्नु हाम्रो कर्तव्य हो । हामीले प्रत्येक देशका इतिहासको सही वैज्ञानिक व्याख्या, प्रत्येक देश र जातिका जनताले आफ्ना–आफ्ना मातृभाषाको विकास गर्ने अवसर र त्यसैका माध्यमबाट शिक्षादीक्षा, धर्मप्रचारको आडमा साम्राज्यवादी घुसपैठ रोक्नुपर्दछ । समाजवादी अन्तर्राष्ट्रिय भावनाका साथ राष्ट्रिय भावनाको उत्थान गर्नु, कुनै पनि प्रकारको वैदेशिक हस्तक्षेपबिना आफ्नो लक्ष्य निर्धारण गर्न र त्यसमा स्वतन्त्र रूपले अघि बढ्न पाउने अधिकार सुनिश्चित गर्नु, प्रत्येक देशका जाति–उपजातिले समान नागरिक हक र विकासको समान अवसरका लागि सङ्घर्ष गर्नु, गोर्खाभर्ती केन्द्र, पीसकोर, प्लान नेपालजस्ता संस्थाको विरोध गर्नु पनि हाम्रो दायित्व बनेको छ । कलासाहित्य र संस्कृति क्रान्तिका निम्ति र आम जनताको भविष्य निर्माणका निम्ति हो भन्ने कुरालाई स्थापित गर्दै शोषक वर्गका सबै किसिमका तानाशाहीको विरुद्ध लड्दै शोषित वर्गको सत्ता प्राप्तिको दिशामा अघि बढ्नु हाम्रो सांस्कृतिक कार्यभार बनेको छ । वैज्ञानिक समाजवादी सांस्कृतिक भूमण्डलीकरणको निर्माण गर्नु आजको सांस्कृतिक क्षेत्रको अर्को महत्त्वपूर्ण काम हो ।

यथार्थतः संस्कृति जनताका सम्पत्ति हो तर आज यो जनताको अधीनमा छैन । चाडपर्व जनसमुदायका हार्दिक तथा भावनात्मक सन्दर्भ हुन्, तर आजकल त्यस्तो परिस्थिति छैन । नेपालमा प्रचलित चाडपर्व दसैँ, तिहार र तीजलाई एकैपटक अन्त्य गर्न सकिँदैन । दसैँ मूलतः कृषिपर्वमा आधारित भए पनि अहिले यसलाई विद्रूपीकरण गरिएको छ । तिहार पनि घरपरिवार, जनता र प्रकृतिसित जोडिएको पर्व हो । तीज नारी विद्रोहसित जोडिएको पर्व हो । यी पर्वहरू सांस्कृतिक बजारीकरणद्वारा ध्वस्त हुँदै गएका छन् । शिवरात्री, गौरा, रामनवमी गढीमाई, जनैपूर्णिमा, बालाचतुर्दशी र श्रीपञ्चमी धार्मिक पर्व हुन् । धर्मको प्रगतिशीलता भन्ने नै हुँदैन । समकालीनतामा संस्कृति कम, विकृति ज्यादा छ । अहिले विकृत संस्कृतिसित जनसांस्कृतिक धाराको घमासान लडाइँ परिरहेछ । पुरातन र जनविराधी संस्कृतिले मानवजातिको सार्वभौम समानताको सम्मान गर्नै सक्तैन । अरूलाई प्रगतिशीलीकरण गर्न खोज्दा–खोज्दै आफैँ विजातीय सांस्कृतिक गर्तमा जाकिएकाहरूको ठूलो पङ्क्ति पनि हाम्रै अगाडि छन् । यस सन्दर्भमा सोनाम साथीको यो भनाइ प्रस्तुत गर्नु उपयुक्त हुन्छ, “नेपालका कम्युनिस्ट नेताहरू अक्टोबर क्रान्ति सम्झिँदैनन्, कृष्णाष्टमी र शिवरात्री धुमधामले मनाउँछन् ।” समस्या अरूमा मात्र होइन, हामीभित्र पनि छन् । सांस्कृतिक आन्दोलनमा कैयौँ कडी टुटेका छन् । जनयुद्धको प्रचार र इच्छुकको हत्याविरुद्ध विश्वभर प्रतिरोधी आवाज मुखरित भएजस्तै क्रान्तिकारी संस्कृतिकर्मीको आवाजलाई भूमण्डलीकृत गर्नबाट टुटेको अन्तर्राष्ट्रिय कडी जोड्नुपर्दछ । माओले भन्नुभएको छ, “हरेक क्रान्तिका लागि दुई प्रकारका सेनाको आवश्यकता पर्दछ– एउटा आधारभूत सेना, जसले मुख्य सङ्घर्षको नेतृत्व गरोस् र दोस्रो, सांस्कृतिक सेना जसले मुख्य मोर्चालाई सहयोग गरोस् ।” यसर्थ, हरेक संस्कृतिकर्मीले सांस्कृतिक सेना बन्नुपर्दछ ।

उपसंहार

संस्कृति विचारधारात्मक क्षेत्र हो । समकालीनतामा पुँजीवादी संस्कार, संस्कृति र सिर्जनाको जबर्जस्तीमा छ । वर्गीय सांस्कृतिक अपनत्वको रक्षार्थ जनसंस्कृति अझ बढी गतिशील र प्रभावकारी हुनुपर्दछ । प्रतिक्रियावादी सांस्कृतिक धारा मानवश्रममाथि शोषण दमनात्मक विचारको रक्षात्मक धारा हो । यो गतिछाडा ‘प्रगतिशील’ हरूसँगको सहकार्यमा रमाइरहेको छ । यतिबेला जनसंस्कृतिले हरक्षेत्रमा सांस्कृतिक साम्राज्यवादका विरुद्ध वैचारिक सङ्घर्ष चलाउन जरुरी छ । संस्कृतिकर्मीहरूले राष्ट्रिय आत्मसमपर्णवाद, दलाल पुँजीवाद र संसदीय संशोधनवादको विरोध तथा राष्ट्रिय स्वाधीनताको पक्षमा आम जनसमुदायका बिच विशिष्ट सांस्कृतिक अभियान सञ्चालन गर्नुपर्दछ । माओको ‘बमवार्ड द बुर्जुवा हेडक्वार्टर’ को अन्तर्यलाई आत्मसात् गर्दै ‘रातो झन्डा ओढेर रातो झन्डालाई नै समाप्त पार्न खोज्नेहरू’ का विरुद्ध सशक्त भण्डाफोर आजको आवश्यकता हो । स्वाभाविक कुरा हो कि कोही कसैले पनि स्वप्नशील नबनी गतिशील यथार्थ पक्रिन सकिँदैन । नेपालको क्रान्तिकारी सिर्जना माओको येनान प्रवचनद्वारा अनुप्राणित छ । नेपालका संस्कृतिकर्मीहरू सांस्कृतिक पल्टनका रूपमा कलम र बन्दुकका साथ वर्गसङ्घर्षमा होमिएर अनेकौँ कीर्तिमान राखेका छन्, जसमा कृष्ण सेन ‘इच्छुक’ को उच्च बलिदानलाई लिन सकिन्छ । जनयुद्धले सांस्कृतिक क्षेत्रलाई र सांस्कृतिक क्षेत्रले जनयुद्धलाई प्रशस्त ऊर्जा दिएकै हो । जनयुद्धले सांस्कृतिक क्षेत्रमा सौन्दर्यात्मक, विचारधारात्मक र रूपान्तरणकारी मूल्य प्रदान गरेको छ । राजनीतिक अन्तर्विरोध जटिल बनिरहेको यतिबेला सांस्कृतिक आन्दोलनले राजनीतिक आन्दोलनलाई नयाँ आदर्श र दिशा दिनुपर्दछ ।

सांस्कृतिक आन्दोलनमा आदर्श र सपना मर्न दिनुहुँदैन । साम्यवादी उदात्त आदर्शलाई प्राप्त गर्ने र क्रान्तिको सपनालाई साकार तुल्याउने दिशातिरको गतिशील र दृढ पाइला आजको आवश्यकता हो । सांस्कृतिक आन्दोलन सर्वहारामुक्तिको मार्गबाट विचलित हुन सक्तैन । सामन्तवाद र भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादसित यसको चर्को लडाइँ परिरहेको छ । क्रान्तिकारी भावधारालाई दह्रोसित पक्रिँदै यथास्थितिवाद, प्रतिक्रियावाद, सबैखाले संशोधनवादका विरुद्ध निर्मम सङ्घर्ष गर्न आवश्यक छ । मालेमावादलाई भौतिक र आत्मिक रूपमा आत्मसात् गरेर मात्र आन्तरिक तथा बाह्य विसङ्गति, विचलन र विकृतिमाथि विजय हासिल गर्न सकिन्छ । सही विचारको आलोकमा सही कार्यनीति र कार्यदिशाको शृङ्खलालाई द्वन्द्ववादका माध्यमबाट हरेक चुनौतीलाई सम्भावनामा फेर्न सकिन्छ । क्रान्तिकारी राजनीतिलाई निष्ठा र आदर्श भावका साथ अग्रगति दिन सांस्कृतिक क्षेत्रको अहम् भूमिकाबारे कुनै दुविधा छैन । सांस्कृतिक आन्दोलन सपनालाई विपनामा फेर्दै अघि बढ्ने आन्दोलन हो । सार्वभौम र विशिष्टतालाई कुशलतापूर्वक समायोजन गर्दै नयाँ विचारसहितको क्रान्तिकारी प्रयोगशीलता र गतिशीलता आजको आवश्यकता हो । आलोचना–आत्मालोचनालाई रूपान्तरणको मानक बनाउँदै, सांस्कृतिक आन्दोलनका तमाम उल्झनलाई पन्छ्याउँदै, आत्मसङ्घर्ष–अन्तरसङ्घर्ष–वर्गसङ्घर्षका माध्यमबाट पूर्ण सांस्कृतिक सामथ्र्यका साथ निरन्तर क्रान्तिमार्गमा अघि बढ्नु ‘कलासाहित्य, सौन्दर्यचिन्तन र संस्कृति’ विषयक विमर्शको मूल कुरा हो ।

प्रमुख सन्दर्भ–सूची

१. चैतन्य (२०६६), मार्क्सवाद र सस्कृति, काठमाडौँ : सहिद स्मृति प्रकाशन ।
२. चापागाईं, निनु (२०५९), सन्दर्भ : संस्कृति र सांस्कृतिक रूपान्तरण, ललितपुर : साझा प्रकाशन ।
३. बराल, डा. ऋषिराज (२०६६), सत्ता र संस्कृति, काठमाडौँ : अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन प्रालि ।
४. ढकाल, घनश्याम (२०६६), सौन्दर्यशास्त्रको आँखीझ्याल, काठमाडौँ : अखिल नेपाल लेखक सङ्घ, केन्द्रीय समिति ।
५. पुष्पलाल, छानिएका रचना, काठमाडौँ : भाग ३, पुष्पलाल स्मृति प्रतिष्ठान ।
५. हिन्टन, विलियम (२०६४), पुँजीवादी मुकाममाथि बमवर्षा, (अनु. दीपक सापकोटा), काठमाडौँ : सहिद स्मृति प्रकाशन ।
६. माओ (मे १९४२), येनान गोष्ठीमा साहित्य र कलाबारे प्रवचन, काठमाडौँ : माओका सङ्कलित रचनाहरू, भाग ३ ।
७. मार्क्स–एङ्गेल्स, संस्कृतिको इतिहाससम्बन्धी भौतिकवादी धारणा, काठमाडौँ : विविध पुस्तक भण्डार ।
८. अभ्नेर जिस (२०७२), मार्क्सवादी सौन्दर्यशास्त्रका आधार, (अनु. हरिहर खनाल), काठमाडौँ : नेपाल प्रज्ञा–प्रतिष्ठान ।
९. मार्क्स–एङ्गेल्स (सन् १९८६), कम्युनिस्ट घोषणापत्र (अनु. कृष्णदास श्रेष्ठ), काठमाडौँ : अग्निपरीक्षा जनप्रकाशन प्रालि ।
१०. सम्बन्धित विकिपिडिया, न्यु मिडिया र कुराकानीहरू ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।