असार २२, काठमाडौँ । इच्छुक प्रतिष्ठानको आयोजनामा हुँदै आएको मासिक कार्यक्रम ‘सिर्जना र संवाद’ को ११औं शृङ्खला हिजो शनिबार प्रतिष्ठानकै हल घट्टेकुलोमा सम्पन्न भएको छ । कुनै पनि कृति, कविता वा समसामयिक विषयमाथि विमर्श गर्ने गरिएको यस कार्यक्रमको हिजको शृङ्खलामा विशेष गरेर कविता वाचन र गीत प्रस्तुत गरिएको थियो ।
प्रतिष्ठानकी सदस्य गौरी देवकोटाको संयोजनमा हरेक महिनाको तेस्रो शनिबार २ बजे हुँदै आएको यस कार्यक्रममा शनिबार आयोजित ११औं शृङ्खलामा २४ जना स्रष्टाद्वारा सिर्जना प्रस्तुत गरिएको थियो । सिर्जना प्रस्तुत गर्नेहरूमा प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखी, प्रा.डा. जगदीश चन्द्र भण्डारी, मित्रलाल पंज्ञानी, मोदनाथ मरहट्टा, छायाँदत्त न्यौपाने, बलराम तिमल्सिना, गौरी देवकोटा, अग्नि पौडेल, आस्था घिमिरे, मनु वि क थिए । यसैगरि पूण्यप्रसाद आचार्य, डा.चूडा ढकाल, राधा कार्की, अशोक सुवेदी, मदन लामा, समर्पण न्यौपाने, पुष्पा दाहाल, खगेश्वर सापकोटा, जय दाहाल, अर्जुन कुमार ओली, कविता राय ‘कोहिनूर’, कमला नेपाली, जानुका गौतम र भावना बरालबाट आआफ्ना गीत तथा कविता प्रस्तुत गरिएको थियो ।
वाचित कविता तथा गीतहरूमाथि सङ्क्षिप्तमा प्रा.डा.नन्दीश अधिकारीबाट समीक्षा गरिएको थियो भने प्रयेक रचनामाथिको गहन समीक्षा प्रा.डा. जगदीशचन्द्र भण्डारीबाट भएको थियो । कविताहरूमाथि समीक्षात्मक मन्तव्य राख्दै समालोचक भण्डारीले पुँजीवादले निर्माण गरेका विषाक्त रागहरूलाई सुन्दर विचार र कलाद्वारा विषरहित बनाएर पिउनयोग्य रसदार बनाउने काम कविहरूले गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । साथै उनले साम्राज्यवादी वर्चश्वले कायम गरेको प्रेमको परिभाषा र सौन्दर्यको परिभाषाको वास्तविकतालाई चिर्न सक्ने शक्ति माक्र्सवादी दृष्टिकोण सहितका कवितामा मात्रै रहेको पनि बताए ।
संयोजक स्वयम्बाट सञ्चालित कार्यक्रममा अग्रज तथा अनुज माक्र्सवादी कवि, गायक, सङ्गीतकर्मी, समालोचकहरूको बाक्लो सहभागिता रहेको थियो । प्रतिष्ठानद्वारा आयोजत यस सिर्जना र संवाद कार्यक्रमको संयोजन प्रतिष्ठानकी कार्यसमिति सदस्य गौरी देवकोटाको संयोजकत्वमा प्राज्ञहरू डा.छायादत्त न्यौपाने ‘बगर’, बलराम तिमल्सिना र आस्था घिमिरेले गर्दै आउनुभएको छ । आगामी शृङ्खला साउन १७ गते तेस्रो शनिबार हुने जनाइएको छ ।