0 COMMENTS

जेठ २, काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा बर्षेनि प्रदान गरिँदै आएको साहित्य, कला तथा प्रतिभा पुरस्कार यस बर्ष पनि प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सदस्यसचिवद्वारा जारी विज्ञप्ती अनुसार यस बर्सको ‘इच्छुक स्मृति पुरस्कार २०८०’ घोराही उपमहानगर पालिका १७ निवासी साहित्यकार सरला रेग्मी र पोखरा महानगर पालिका १३ निवासी कवि नुमराज बराललाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । त्यसैगरि प्रतिभा तर्फको साहित्य पुरस्कार भोजपुर निवासी तीर्थ बहादुर तामाङ (पेमा) र कलातर्फको प्रतिभा पुरस्कार सिन्धुपालचोक इन्द्रावती गाउँ पालिका निवासी असल वाइवालाई प्रदान गरिने निर्णय भएको सो प्रतिष्ठानका सदस्यसचिव मोदनाथ मरहट्टाले एक विज्ञप्ती मार्फत जनाएका छन् ।

पुरस्कृत साहित्यकार सरला रेग्मी पचासको दशकदेखि सांस्कृतिक आन्दोलनमा कृयाशील नाम हो । उहाँका आख्यानतर्फ ‘चुडाल्दै बन्धनहरू’ र ‘लाल बिधवा’ कथासङ्ग्रह तथा ‘प्रवाह’ उपन्यास प्रकाशित छन् । यस बाहेक ‘कम्युनिस्ट आन्दोलनका बहसहरू’ वैचारिक कृतिका साथै विभिन्न फुटकर रचनाहरू प्रकाशित छन् । नेपाली समाजको रुपान्तरणमा उहाँको लामो त्याग रहेको छ । उहाँ सहिद परिवारको सदस्य समेत हुनुहुन्छ । यसैगरि अर्का श्रष्टा कवि नुमराज बराल पनि चालिसको दशकदेखि आफ्ना कविता काव्य मार्फत समाज रुपान्तरणको अभियानमा सकृय हुनुहुन्छ । बरालका ‘वनफूल’, ‘यस्तो लाग्छ’, ‘माटो र पसिना’ र ‘हिम शृङ्खला’ कवितासङ्ग्रह हुन भने ‘भ्रुण हत्या’, ‘विपरी ध्रुव’, ‘बिहे’, ‘राता अक्षरहरू’ र ‘जूनकीरी’ खण्डकाव्य प्रकाशित रहेका छन् । संयुक्तरुपमा दिने पुरस्कारको राशी रु एकलाखको रहेको छ ।

त्यसैगरी साहित्यतर्फको प्रतिभा पुरस्कारबाट पुरस्कृत हुने भोजपुर षडानन्द नगरपालिका ११ निवासी तीर्थ बहादुर तामाङ (पेमा) को ‘बिहानी खोज्ने मन’ कवितासङ्ग्रह प्रकाशित छ । साथै उहाँ चोमोलोङ्मा सांस्कृतिक परिवारमा लामो समय सकृयताकासाथ गीत गायन र नृत्यमा समेत रहनुभएको थियो । साथै कलातर्फको प्रतिभा पुरस्कारबाट पुरस्कृत स्रष्टा सिन्धुपाल्चोक इन्द्रावतीका असल वाइवालाई प्रदान गरिने छ । उहाँ गीत गायन, बाद्य वादन र नृत्य बिधामा समेत सकृय हुनुहुन्छ । प्रतिभा पुरस्कारको राशी जनही पच्चीस हजारको रहेको छ । यी सबै पुरस्कारहरू आगामी जेठ १३ गते प्रतिष्ठानको हलमा हुने सांस्कृतिक वलिदान दिवसका अवसरमा प्रदान गरिने सो प्रतिष्ठानले विज्ञप्ती मार्फत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।