0 COMMENTS

फागुन १५, चितवन । क्यान्सर रोगबाट पीडित बिरामीको उपचारका लागि एक दम्पतीले आफ्नो घर जग्गा बेचेर सहयोग कोष स्थापना गरेका छन् । काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँट बस्ने ७३ वर्षीय तीर्थराज पराजुली र उनकी पत्नी शारदा देवी पराजुलीले कोष स्थापना गरेका हुन् ।

उनीहरुले काठमाडौँमा रहेको घर जग्गा बेचेर क्यान्सर पीडित बिरामीको उपचारका लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सहयोग कोष स्थापना गरेका छन् । उनीहरुले आफ्नो छोरा स्व। डा अञ्जन पराजुलीको सम्झनामा एक करोड एक लाख ११ हजार एक सय ११ बराबरको ‘अञ्जन स्मृति क्यान्सर पीडित सहयोग कोष’ स्थापना गरेका छन् ।

अञ्जनको ठूलो आन्द्रामा क्यान्सर भइ विसं २०७८ वैशाख १ गते ४२ वर्षको उमेरमा मृत्यु भएको थियो । अष्ट्रेलियामा रहेका अञ्जनको उपचारका क्रममा विदेशमा नै मृत्यु भएपछि परिवारले क्यान्सरका कारण कोही मर्नु नपरोस् भनेर कोष स्थापना गरिएको बुबा तीर्थराजले बताए ।

क्यान्सरको समयमा पहिचान हुन नसक्दा छोरो गुमाउनु परेको बताउँदै उनले यो रोगबाट आर्थिक अवस्था कमजोर भएकालाई बचाउनका लागि कोष स्थापना गरिएको बताए ।

कोषबारे तीर्थराजले भने, ‘हामी त पीडामा भयौं नै, अरु कोही पनि यस्तो पीडामा पर्नु नपरोस्, हाम्रो सहयोग काम लागोस् भनेर कोष स्थापना गरेका हौं ।’

क्यान्सर पीडितलाई सरकारले दिने अनुदान सहयोग रकम सकिएपछि यो कोषबाट उपचार गर्ने गरी रकम हस्तान्तरण गरिने उनले जानकारी दिए ।

पराजुली परिवारले सो रकम बराबरको चेक आज अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल र अध्यक्ष डा विजय न्यौपानेलाई हस्तान्तरण गरेका छन् ।

कोष सञ्चालनका लागि अस्पतालका कार्यकारी निर्देशकको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने, कोषबाट सुविधा प्राप्त गर्ने व्यक्तिको विवरण दातालाई जानकारी गराउने, सेवा प्राप्त बिरामीलाई भेट्ने र कुरा गर्ने वातावरण सृजना गर्ने, सुविधा प्रदान गरिएका व्यक्तिको उपचारको किसिम र त्यसको अवस्थालगायत विषयमा जानकारी गराउने गरी दुईपक्षीय सम्झौता गरिएको छ ।

रकम ग्रहण गर्दै अस्पतालका अध्यक्ष डा न्यौपानेले कोषबाट धेरै बिरामीले नयाँ जीवन पाउने विश्वास व्यक्त गरे । यसको सही सदुपयोग गरिने उनको भनाइ छ ।

अस्पतालका कार्यकारी निर्देशक डा पौडेलले कोषलाई सञ्चालन गर्नका लागि कार्यविधि बनाएर अघि बढ्ने बताए ।अशक्त, असहाय तथा आर्थिक अवस्था कमजोर भएकाको पहिचानका लागि समिति गठन गरेर काम गरिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।