0 COMMENTS

माघ २८, काठमाडौँ । सहकारीहरुमा देखिएको वित्तीय अराजकता, सर्वसाधारणको बचतमाथि गरिएको व्यापक हिनामिना र भ्रष्टाचारका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आज (आइतबार) राष्ट्रिय सहकारी विकास वोर्डको केन्द्रीय कार्यालय, पुलचोकमा धर्ना तथा विरोध प्रदर्शन गरेको छ । जनसर्वसाधारणहरुले दुःख गरेर खाइ नखाइ सहकारीमा जम्मा गरेको बचत करोडौ, अरबौं हिनामिना गरेर सञ्चालकहरु नै विदेश भाग्ने क्रम बढ्दो छ ।

जनसर्वसाधारणको बचत हिनामिना गर्ने सहकारीहरुलाई कारबाही गर्न र पीडितहरुको रकम तत्काल फिर्ता गराउन राज्यको निकाय सहकारी विकास बोर्ड र सम्बन्धित मन्त्रालयमार्फत् सरकारको ध्यानाकर्षण गराउन क्रान्तिकारी कम्युनिस्ट पार्टीले विरोध प्रदर्शन गरेको हो ।

जनसर्वसाधारणहरुको बचत हिनामिना गर्ने र फिर्ता नगर्ने सहकारीहरुलाई सरकारले तत्काल कारबाहीको दायरामा नल्याएर क्रान्तिकारी कम्युनिस्ट पार्टीले त्यस्ता सहकारीहरुलाई छानी छानी कारबाही गर्ने समेत चेतावनी दिएको छ । आइतबार भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै वक्ताहरुले यस्तो चेतावनी दिएका हुन् ।

‘सहकारी पीडितलाई न्याय दे’, सहकारी माफियाहरु मुर्दावाद, जनताका बचतहरु फिर्ता गर’ भन्दै नाराजुलुस समेत लगाएका थिए । विरोध प्रदर्शनको सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका भक्तपुर संयोजक रोजनले गर्नुभएको थियो भने विरोध प्रदर्शनलाई पार्टीको महाधिवेशन आयोजक समितिका सदस्य श्याम केसी र नवराज भट्टले सम्बोधन गर्नुभएको थियो । वक्ताहरुले ३२ हजार सहकारीमध्ये १४ हजार सहकारीले ७३ लाख जनसर्वसाधारणको ६५ अर्बभन्दा बढी बचत हिनामिना गरेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।