0 COMMENTS

माघ २८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले २९ औँ जनयुद्ध दिवस काठमाडौँ उपत्यका लगायत देशैभर विभिन्न कार्यक्रमका बीच भव्य रूपमा मनाउने तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालयले माघ मसान्तका दिन देशभर जनयुद्ध दिवसको अवसरमा दिपावली गर्न सर्कुलर गरेको छ । जनयुद्धको पूर्वसन्ध्यामा देशैभर क्रान्तिकारी कम्युनिस्ट पार्टीले दीपावली गर्ने र काठमाडौँ उपत्यकामा भने मशाल जुलुस गर्ने तयारी गरिएको छ ।

फागुन १ गते काठमाडौँ उपत्यकामा पार्टीको केन्द्रीय समितिको आयोजनामा विशेष कार्यक्रम हुँदैछ । पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ लगायत शीर्ष नेतृत्वहरूको उपस्थितिमा पार्टी कार्यालय कुपण्डोलमा दिनको १२ बजे उक्त समारोह सुरू गरिने पार्टी कार्यालयले जानकारी दिएको छ । त्यसैगरी उपत्यका बाहिर सात वटै प्रदेश र जिल्लाहरूमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा जनयुद्ध दिवस मनाउने कार्यक्रम रहेको छ । सबै पार्टी कमिटी र पार्टी सम्बद्ध जनवर्गीय तथा मोर्चा सङ्गठनहरूले पनि आ–आफ्नो सापेक्षतामा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउने तयारी गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले फागुन २ देखि १३ सम्म जनयुद्धकै सन्दर्भमा विभिन्न रचनात्मक कार्यक्रम गरी कार्यकर्ता तथा जनता परिचालन गर्ने– गोष्ठी, सभा, चियापान, सरसफाई आदि कार्यक्रमहरू गर्ने जनाएको छ, भने फागुन १४ देखि २१ सम्म सहिद सप्ताह, सहिद परिवार, बेपत्ता परिवार, घाइते अपाङ्गहरूसँगको भेटघाट, सम्मान, लगायत विविध कार्यक्रमहरू गर्ने गरी मनाउने समेत जनाएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीले सबै जिल्ला तथा प्रदेशहरूको समेत जनशक्ति केन्द्रित गरी चैत्र २४ गते काठमाडौँमा विशाल जनसभाको कार्यक्रम गर्दैछ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले दश वर्षसम्म सञ्चालित भएको जनयुद्धका कार्यभार मूलरूपमा बाँकी नै रहेकोले त्यो कार्यभार पूरा गर्न क्रान्तिको प्रक्रियालाई नयाँ ढङ्गले अघि बढाइरहेको छ । पार्टीको आगामी महाधिवेशनबाट नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको मार्गमा अगाडि बढ्ने गरी राजनीतिक तथा फौजी कार्यदिशाको विकास गर्ने तयारीमा समेत जुटेको छ । यो पार्टीले आफूलाई दशवर्षे जनयुद्ध र झापा विद्रोहको सच्चा उत्तराधिकारी दावी गर्दै निरन्तर क्रान्तिको झण्डा बोकेर अगाडि बढिरहेको छ । छरिएर रहेका क्रान्तिकारीहरू क्रमशः यही पार्टीको झण्डामुनि गोलबन्द हुँदैछन् । वर्तमान दलाल संसदीय व्यवस्थाको समूल अन्त्य गरी जनताको सङ्घीय जनगणतन्त्र स्थापना गर्ने स्पष्ट वैकल्पिक लक्ष्य र उद्देश्यसहित अगाडि बढेको यो पार्टीप्रति जनआकर्षण पनि बढ्दै गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।