0 COMMENTS

पुस २६, काठमाडौँ ।  कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ । मोहन्याल गाउँपालिका–७ को चिसापानी–कुइने सडकखण्डको डङडंगेमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

अछामको पञ्चदेव विनायक नगरपालिका-१ कुइकाका ३८ वर्षीय खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको मोटरसाइकल दुर्घटना परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले जानकारी दिए । उनीहरू अछामबाट बर्दियाको भुरीगाउँ जाने क्रममा दुर्घटनामा परेको हो ।

अछामबाट बर्दिया आउने क्रममा ढकालले चलाएको भे.१३प. १०७४ नम्बरको मोटरसाइकल मोहन्याल गाउँपालिका-७ को पितमारीभन्दा झण्डै दुई सय मिटर उत्तरस्थित सडकबाट तल कर्णाली नदीको खोचमा खसेको थियो ।

इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार प्रहरीलाई मोटरसाइकल दुर्घटनाबारे राति ८ बजे जानकारी आएको थियो । सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरीको टोली घटनास्थल पुगेर ढकाल दम्पत्तीलाई राफ्टिङ बोटबाट चिसापानी पुर्‍याइएको थियो ।

राति करिव ११ बजे चिसापानी पुर्‍याएका ढकाल दम्पत्तीको मृत्यु भइसकेको थियो । मृतकको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल राखिएको डीएसपी चन्दले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।