0 COMMENTS

मङ्सिर १३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सो पार्टीका प्रवक्ता समेत रहेका नेता धर्मेन्द्र बास्तोलाले नेपालमा एमसीसी विकासका निम्ति नभएर विनासका निम्ति आएको दावी गरेका छन् ।

मङ्गलबार रत्नपार्क शान्तिबाटिमा ‘एमसीसीको खारेजी र लप्सीफेदीका जनतामाथि गरिएको दमनका विरुद्ध’ आयोजना गरिएको विरोध सभालाई सम्बोधन गर्दै नेता बास्तोलाले भने, “एमसीसीको नाममा नेपालमा अमेरिकी सेनाको ब्यारेक कहाँ कहाँ राख्ने भनेर सर्वे गर्दै हिडिएको छ । एमसीसी नेपालमा विकासको लागि होइन विनासका निम्ति आएको हो । नेपालमा अमेरिकी सेना राख्नका निम्ति एमसीसी आएको हो ।” नेता बास्तोलाले अगाडि भनेका छन्, “एमसीसी नेपाली जनताको लागि ठूलो धोका हो । प्राकृतिक सम्पदालाई नियन्त्रण गर्नका निम्ति । नेपालको युरेनियम, नेपालको जलसम्पदा कब्जा गर्न खोजिएको छ । तेल सकियो भने त्यसको ठाउँ पानीले लिनेवाला छ भविष्यमा ।” उनले सम्बोधनको क्रममा यस्तोसम्म दावी गरे कि नेपाललाई प्यालेस्टाइन बनाउने षड्यन्त्र भइरहेको छ । उनले भने, “एसपीपी र एमसीसी चीनलाई घेराबन्दी गर्ने, टुक्र्याउने र भारतलाई नियन्त्रण गर्ने उद्देश्यले आएको हो । मध्यपूर्वमा इजरायललाई खडा गरेर प्यालेस्टाइनी जनतालाई आफ्नै देशबाट बेदखल गर्ने र मध्यपूर्वका देशलाई दबाबमा राख्ने काम अमेरिकाले गरेको छ । त्यस्तै अभ्यास नेपालमा गर्न खोजिएको छ ।”

अमेरिकी साम्राज्यवाद र उसैको दलालीमा सत्तासिन रहेको दलाल पुँजीपतिवर्गले नेपाली जनतालाई कंगाल बनाएर नेपालबाटै विदेशतिर लखेट्ने काम गरिरहेको पनि नेता बास्तोलाले दावी गरे । उनले भने, ‘दलाल शासकहरु नेपाली जनतालाई कंगाल बनाउन एकजुट भएर लागिपरिरहेका छन् । त्यसको प्रतिवाद नेपाली जनताले गर्न जरुरी छ । सम्पूर्ण जनता एक भएर यहाँका दलाल पुँजीपतिहरुको अन्त गर्न जरुरी छ । दलाल पुँजीपतिहरुलाई अब लुटपाट मच्चाउन दिनु हुन्न ।” उनले नोकरशाही दलाल दलाल शासकहरुले नेपालीहरुलाई नेपालभित्रै भविष्य देख्न र बनाउन नदिएर विदेशमा बेचिरहेको र देशभित्रै केही गर्न सकिन्छ, गर्नुपर्छ भन्ने चेतना, आशा र विश्वास सम्पूर्ण समाप्त पार्ने काम गरेको भन्दै कडा रुपमा आक्रोश पोखे । उनले विगतमा नेपाली जनताले राजामहाराजाहरुलाई सत्ताच्युत बनाएजस्तै उनीहरुकै कालो छायाँको रुपमा रहेका दलाल शासकहरु, व्यवस्था र संविधानलाई समाप्त पारेर देशमा संघीय जनगणतन्त्रको स्थापना गर्नुपर्ने बेला आएको बताए । उनले भने– संघीय जनगणतन्त्र नेपालको स्थापनाले मात्रै नेपालको स्वाधीनताको रक्षा, यहाँको प्राकृतिक तथा मानवीय स्रोत साधनको संरक्षण र सम्बद्र्धन, आत्मनिर्भर र स्वाधीनत अर्थतन्त्रको विकास सम्भव हुन्छ । अब सम्पूर्ण सच्चा देशभक्त, वामपन्थी र क्रान्तिकारीहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।”

विरोधसभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य रामसिंह श्रीस, अनेकिमहासंघ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ र क्रान्तिकारी महिला संगठनकी केन्द्रीय सहसंयोजक शारदा महतले पनि एमसीसी परियोजना खारेजीको पक्षमा जोडदार मन्तव्य राखेका थिए ।

विरोधसभाको सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक चन्द्रहरि सुवेदीले गरेका थिए । शान्तिबाटिका रत्नपार्कबाट निकालिएको विरोध र्याली नगरपरिक्रमा गरेर पुनः शान्तिबाटिकामा पुगेर विरोधसभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।