0 COMMENTS

असोज ३, काठमाडौँ । अमेरिकाको एमसीसी सम्झौताको कार्यान्वयन, चुच्चे नक्सा, भारतीय अतिक्रमण, चीनको बिआरआई, नेपाल सरकारको असन्तुलित कुटनीति, युक्रेन युद्धमा अमेरिकाको पक्षधरता, नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड, सुन तस्करी काण्ड, एउटा कान्डलाई ढाकछोप गर्न अर्को कान्ड घटाउने सरकारी रवैया, संक्रमणकालीन न्यायको विषय, जनजीविकाका तमाम विषयहरु, सत्ता, सरकार र संविधानको प्रश्न, देशको औद्योगीकरणको सवाल, विकसित धार्मिक अतिवाद, जातीय साम्प्रदायिकता भड्काउन खोजिएका घटनाक्रम लगायतका समसामयिक विषयमा मिडियाका सम्पादकहरुको सुझाव तथा धारणा लिने र प्राप्त सुझावका आधारमा पार्टीका आगामी संघर्षका कार्यक्रम तय गर्ने उद्देश्यले क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले मंगलबार विशेष कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रममा मूलधारका मिडिया– छापा, इलेक्ट्रोनिक र अनलाइन मिडियाका सम्पादकहरुलाई निम्त्याइएको थियो । करिब ३० जना मिडियाका सम्पादकहरुले आउने आश्वासन दिएका थिए तर बरिष्ठ पत्रकार तिर्थ कोइराला, नेपालखबरका नवनियुक्त सम्पादक रामबहादुर रावललगायत निम्त्याइएका केही सम्पादकहरु मात्र कार्यक्रममा उपस्थित भएका थिए ।

बरिष्ठ पत्रकार तिर्थ कोइरालाले कार्यक्रमको सुरुमै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ताले उठान गरेका प्रायः विषयहरुमा आफ्नो सुझावसहितका धारणा राखे । उनले केही गम्भिर समस्याको उठानका साथै त्यसको समाधानको विकल्प पनि अगाडि सारे । उपस्थित विभिन्न मिडियाका प्रतिनिधि अन्य पत्रकारहरुले पनि सुझावसहितका धारणा राखे ।

पत्रकारहरुले राखेका धारणाहरुको बारेमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बरिष्ठ कार्यालय सदस्य सिपी गजुरेल गौरवले महत्वपूर्ण संश्लेषण गरे । नेता गजुरेलले भने, “आजको यो अन्तरक्रियाबाट के थाहा पाइयो भने देशमा रहेका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुलाई हेर्ने विषयमा हाम्रो पार्टी र अधिकांश मिडिया र पत्रकारहरुको समान छन् । सरकार र संसद बाहिर रहेका हामी जस्ता राजनीतिक पार्टी र मिडिया–पत्रकारले मिलेर राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा सघन सहकार्य गर्न जरुरी छ ।”

देशमा विद्यमान आम समस्याको मूल जड कारण ०७२ सालको संविधान नै भएको संश्लेषण नेता गजुरेलको थियो । पत्रकार कोइरालालगायतका दर्जन बढी पत्रकारहरुले राखेको धारणाको सार खिच्दै नेता गजुरेलले, “यो संविधानमै समस्या भएका कारण अहिलेको भयावह स्थिति पैदा भएको हो । अब यो संविधानलाई फालेर जनगणतन्त्रमा आधारित जनपक्षीय संविधानको निर्माण गर्नुपर्छ । दशवर्षको जनयुद्ध लोकतान्त्रिक गणतन्त्रका निम्ति होइन, जनगणतन्त्रका निम्ति गरिएको थियो ।”

पत्रकार तिर्थ कोइरालाले यो संविधानले समस्याको समाधन नदिने र समस्याको समाधानका लागि सर्वपक्षीय सम्मेलन गर्नुपर्छ भन्ने धारणा राखेका थिए । कोइरालाको यो धारणा सकारात्मक रहेको टिप्पणी नेता गजुरेलले गरेका थिए ।
देशमा औद्योगीकरण सम्भव छैन भन्ने पत्रकार कोइरालाको भनाइको भने नेता गजुरेलले खण्डन गरेका थिए । देशको साधन स्रोत देशको हितमा प्रयोग गर्ने हो भने देशमा औद्योगिकरणको प्रचुर सम्भावना रहेको स्पष्ट पारे ।

पत्रकार कोइरालाले संसद र सरकारबाहिर रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी जस्ता राजनीतिक पार्टी, नागरिक समाज र पत्रकारले देशमा विद्यमान समस्या समाधानका लागि दबाबमूलक अभियान सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा केही पत्रकारहरुले क्रान्तिकारी कम्युनिस्ट पार्टीले उठाएका एजेण्डाहरु सही भए पनि शक्ति कमजोर रहेकोले पार्टीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्यासँग सम्बन्धित आन्दोलन प्रभावकारी नभएको, जनताको साथ समर्थन नदेखिएको भन्दै अन्य पार्टीसँग मिलेर जान सुझाव दिएका थिए । जवाफमा नेता गजुरेलले पार्टी ठूलो सानो, शक्तिशाली वा कमजोरभन्दा पनि विचार र राजनीतिक कार्यक्रम वा एजेण्डा सही छन् वा छैन भन्ने कुरा मुख्य हुने भन्दै सही र सत्य छ भने एक्लै भए पनि उभिन सक्नुपर्ने र एक दिन सही विचार र राजनीति नै श्रेष्ठ साबित भएरै छाड्ने विचार व्यक्त गरे ।

पृथ्वी गोलो छ भन्दा वैज्ञानिक कपर्निकसलाई फासीको सजाय दिएको तर पछि उनैको विचार र निष्कर्ष दुनियाँमा सत्य साबित भएको प्रशंगको बारेमा चर्चा गर्दै देश र जनताका हितसँग जोडिएका एजेण्डाहरुलाई छाडेर सत्ता र शक्तिको पछि दौडिनुलाई अवसरवादको संज्ञा दिए ।

कार्यक्रममा पत्रकारहरुकै कतिपय प्रश्नहरुको जवाफ दिंदै प्रवक्ता कञ्चनले धर्म मानिसको व्यक्तिगत मामिला भएकोले धर्मलाई सामाजिक र राजनीतिक विषय बनाइन नहुने विचार व्यक्त गरे । नेता कञ्चनले भारतीय विस्तारवादी शासकहरुको सिको गर्दै मुुलुकमा धार्मिक अतिवादले टाउको उठाउन थालेको चर्चा गर्दै यस्तो प्रवृत्तिलाई बेलैमा नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा पत्रकारहरुका अधिकांश सुझाव तथा आलोचनालाई सकारात्मक रुपमा लिदै प्रवक्ता कञ्चनले कार्यक्रममा सहभागी पत्रकारहरुलाई धन्यवाद ज्ञापन गरेका गरेका थिए । कार्यक्रममा पार्टीका कार्यालय सदस्यहरु गौरव, कञ्चन, राजवीर, एसटी, सुदर्शन, अटल, पवनमान र सचिवालय सदस्यहरु प्रवेश, गुराँस, उज्वल, भास्कर लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।