0 COMMENTS

ग्वाला वा गोठालाहरुले आफ्ना पशुहरुको बथानको हितको लागि हरेक वर्ष भाद्र संक्रान्ति तथा ओल्के संक्रान्तिका दिन गाउँका हरेक घरबाट प्रतिनिधित्व हुने गरी बिहान उठेर एक ठाउँमा जम्मा भई सरसल्लाह गर्दछन । सबै जना जम्मा भई सकेपछि बुढी बनाउने कामको लागि कार्यविभाजन गरिन्छ । हरेकले कुनै न कुनै औजार जस्तैस् बन्चरो, हसिया, बनास, बासिला, खन्ति, बाउसो आदि औजारहरु लिएर जानु पर्ने हुन्छ । हरेक गाउँमा बुढी बनाउने निश्चित ठाउँ हुन्छ । उक्त स्थानलाई कतै बुढी डउने त कतै बुढी बाल्ने ठाँउको नामबाट परिचित हुन्छ ।बुढी बनाउने ठाउँमा सबै जना भेला भई सकेपछि सबैलाई कार्यविभाजन भए अनुरुप बुढी बनाउने काममा खटाइन्छ। कार्यविभाजन अनुसार कसैले लिंङ्गो काट्ने, कसैले लिङ्गो बोक्ने, कसैले रुखका हाँगाहरुकाट्ने, कसैले ती काटेका हाँगाहरु बोक्ने, कसैले काँडाहरु ऐसेलु, घाङरु, किरमडा वा चुत्रो, त्रिफला काडेदार बुट्यानहरु काटेर संकलन गर्दछन् । सबैभन्दा पहिला सबै सामाग्रीहरु तयार गरी सकेपछि लिङ्गो ठड्याउनको लागि आवश्यक खाडल गहिरो खाडल खन्ने गरिन्छ । खाडल खनिसकेपछि लिङ्गो ठड्याउने काम गरिन्छ । लिङ्गोलाई बलियो गरी ठड्याउने गरिन्छ ।यदि लिङ्गो ढल्यो भने त्यो वर्ष पशु वस्तुलाई रोग व्याधिले सताउने पशुहरुको नोक्सान हुने भन्ने मान्यता रहन्छ ।लिङ्गो ठड्याई सकेपछि त्यसको वरिपरी माथिदेखि तलसम्म बाँझ वा अन्य काठको हाँगाहरु मिलाएर खाध्दै राखिन्छ ।सबै मिलाई सकेपछि भुँई तिर पशुवस्तुले ती स्याउला खान नपाओस भन्नको लागि काँडाहरुले चारैतिर बार हालिन्छ । यसरी बुढी तयार हुन्छ । बुढी तयार गरी सकेपछि सबै जना नुहाएर आ आफ्नो घरतिर जान्छन ।

बुढी बनाउको ठिक एक महिना पछि अर्थात असोज एक गते वा असोज संक्रान्तिका दिन बुढी पोल्ने पर्वको रुपमा मनाईन्छ । भाद्र मसान्तको दिन बेलुकी नै बुढी पोल्ने वा जलाउने दिन बिहान मलको थुप्रोमा बुढी बनाउनको लागि आवश्यक पर्ने प्रमुख ५ थरिका घाँस तथा डाँलेघाँस ९बेडुलो, अमृसो, फुलौर्‍या घाँस, पुतलाँठी घाँस, गर्ङ्लो घाँस वा ज्यावलाँतो घाँस ० संकलन गरिन्छ यस दिनलाई घाँसे तिहार पनि भनिन्छ । असोज संक्रान्तिको दिन सबैभन्दा पहिले बिहान सबेरै महिलाहरुले भाद्र मसान्तको दिन संकलन गरेको घाँसहरुबाट मलको थुप्रो वा पर्सो खातमा तीन वा पाँच वा सात वटा टाउको बनाएर बुढीको प्रतिमा बनाईन्छ र त्यसलाई उपलब्ध फुलहरु फर्सी, लौका, केलाडी फुलले सजाएर तयार गरिन्छ ।हरेक घरको गोठको मल जम्मा गर्ने थुप्रोमा वा पर्सो खातमा बुढी तयार गरिन्छ यसलाई पर्सोमाको बुढी नामले चिनिन्छ । उक्त बुढीलाई चराउन जंगल गएका पशुवस्तुहरु घरमा नल्याउदासम्म राखिन्छ र पशु वस्तुले घर आउदा नदेख्ने गरी त्यसै मलको थुप्रोमा पुरिन्छ । त्यसपछि पशुवस्तुलाई गोठमा बाँधेर ग्वाला वा गोठालाहरुले मकै भटमास, उपलब्ध फलफुलहरु काक्रो, अमिलो, बिमिरो वा मतकाँकड, ज्यामिर, मौसमी, जुनार, सुन्तला, अनार, दाडिम जसको घरमा जे उपलब्ध छ त्यही फलफुल लिन्छन । खोटो सल्लाको झरोको राँको तयार गरिन्छ । बिहान मल थुप्रोमा बुढी बनाउदा उब्रेको घाँसको मुठ्ठोलाई बालेको राँको संगै राखेर पशुहरुको गोठ गोठमा चारै कुनामा गएर बाहिर निकल् बुढी, बाहिर निकल् वा गाई बाच्छी पाल्, बुढी निकाल्, थुई बुढी, थुईू भन्ने गरिन्छ । यसरी सबैको गोठबाट बुढी निकालिन्छ ।गोठबाट बुढी निकाल्ने कार्यलाई गोठ सिसोर्ने भनिन्छ ।

गाउभरीका सबै गोठहरुलाई आगोको राँको देखाई सकेपछि बेलुकी चार पाँच बजेतिर सबै जना एककठ्ठा भई संगै बुढी जलाउने स्थलतिर जान्छन।सबै तिरबाट बुढी बनाउनेहरु जम्मा भई सकेपछि संगै सबैजनाले बुढीको चारै तिरबाट एकै चोटी आगो लगाएर जलाउदछन् ।एक महिना देखि सुकेका ति स्याउला, पातपतिङ्गरहरु जलेर निकै ठुलो ज्वाला निकाल्ने घुनी हुन्छ ।कुनै ठाउँमा बुढी बनाउने दिन बुढी बनाउन सकिएन भने पनि बुढी पोल्ने दिन उपलब्ध सुकेको मकैको ढोर स्याउला झिंगटीहरु जम्मा गरी बुढी पोल्ने कार्य सम्पन्न गर्दछन् । सबै जनाले घरबाट लगेको भुटेको मकै भटमास चपाउदै काक्रा लगायतका फलफुलहरु चपाउदै थुई बुढी, थुईू भन्दै बुढीतिर थुक्ने गर्दछन् । बुढी पूर्णरुपमा जलाउदछन वा बुढीको केही अंश जल्न बाँकी रहेको खण्डमा त्यसलाई भिरबाट लडाएर फ्याक्ने गरिन्छ । बुढी जलाउनको लागि लिएको झरोको राँकोबाट उपलब्ध गोल वा कोइला जम्मा गरेर त्यसलाई पिसेर पातमा पोको बनाई हरेक घरको लागि प्रसादको रुपमा लिने गर्दछन । बुढी जली सकेपछि सबै जनाले बुढी पोल्ने ठाँउमा तयार पारेको उक्त खरानी वा कालोमुसोलाई ग्वाला र गाईवस्तुको निधारमा लगाएर उत्सव मनाउदछन् । बुढी जलाउनमा संलग्न सबैले नुहाउने गर्दछन् । बुढी जलाई सकेपछि जुन व्यक्ति सबैभन्दा पछि रहन्छ त्यसलाई लुतो लाग्ने गर्दछ भनी सबै जना दगुर्दै पधेरा तथा धारा भएको तिर जान्छन र धारामा नुहाउदछन् ।यसरी बुढी पोल्ने वा जलाउने पर्व सम्पन्न भएको मानिन्छ । बुढी पोलेको राती पानी पर्‍यो भने गाई वा लक्ष्मीको जीत हुने र पानी परेन भने बुढीको जीत हुने भनाई रहेको छ । गाईको जीत भयो भने पशुवस्तुमा कुनै पनि रोग व्याधि नलाग्ने, पशुवस्तुबाट राम्रो आम्दानी भई श्रीसम्पत्तिमा वृद्धि हुने र बुढीको जीत भयो भने पशुका विभिन्न रोगहरुले सताएर पशुधनको नोक्सान हुन सक्ने मान्यता रहेको छ ।

मानवीय कार्यहरुबाट पशुपन्छीहरुमा मानवीय नकारात्मक असर नपरोस र उनीहरुको अधिकारको रक्षागर्नको लागि नागरिकहरुलाई पशुपन्छीहरुको बासस्थान, वातावरण,र पशुपन्छीहरुको अधिकारको समुचित व्यवस्थापन गर्न पशुपन्छीहरुलाई दिईनु पर्ने पांच वटा मुख्य स्वतन्त्रताहरु जस्तैः पशुपन्छीहरुको भोक प्यासबाट मुक्तिको स्वतन्त्रता, दुःख, दर्द,घाईते र रोग लाग्नबाट बाच्ने स्वतन्त्रता, आरामदायी ढंगले जीउने स्वतन्त्रता, आफ्नो सामान्य व्यवहार प्रस्तुत गर्न पाउने स्वतन्त्रता र डर,त्रास र तनावमुक्त रहन पाउने स्वतन्त्रताको कार्यान्वयन गरी पशुहरुको उत्पादन र उत्पादकत्वमा बृद्धि गर्न सभ्य नागरिकको पहिचान दिलाउनको लागि पशु कल्याण कार्य आवश्यक छ । बुढी पोल्ने पर्वले पशुहरुको लागि हरियो घाँस तथा डाँलेघासको पहिचान, संरक्षण, व्यवस्थापन बारेमा जानकारी गराउदछ । गाईवस्तुपाल्नको लागि बनाईएको गोठको अवलोकन बारेमा ध्यान पुर्‍याउनुको साथै गोठमा आगोको राँकोले गोठमा रहेका किटाणु तथा परजीविहरुको नियन्त्रणको लागि गर्नु पर्ने, गोठ आरामदायी हुनु पर्ने, कुनै पनि रोगको किटाणु वा पशुलाई हानिकारक जिवाणु विषाणु किटाणु गोठमा रहनु हुदैन, गोठलाई समय समयमा निस् संक्रमण गर्नु पर्दछ भन्ने मान्यता राख्दछ ।रोग नियन्त्रणको लागि आवश्यक विधिहरु अवलम्बन गर्नु पर्दछ भन्ने कुरा यसबाट बुझिन्छ ।स्वस्थ्य पशु नै पशुपालक कृषकको समृद्धिको आधार हो । पशुकल्याण प्रवर्द्धन पशुपालनको दिगो विकासको आधारभूत खम्बा हो भन्ने कुरामा दुई मत छैन ।

बुढी पोल्ने कुरा द्वापर युगमा भगवान श्रीकृष्णलाई बालक अवस्थामा बिषपान दूध चुसाएर मार्न खोज्ने पुतना नामकी राक्षसनीलाई भगवान श्रीकृष्णले दूध चुसेर मारेर सबै बालकहरुको रक्षा गरेको उपलक्ष्मा गोकुलबासी गोठाला वा ग्वालाहरुले खुशी हुँदै असोज एक गते अर्थात असोज संक्रान्तिको दिन पुतना राक्षसनीको शव जलाएका थिए त्यसै दिन देखि यो बुढी पोल्ने पर्वको सुरुवात गरिएको मान्यता रहेको छ ।

बुढी पोल्ने पर्व र पशुकल्याण बीच एक अन्योन्याश्रित सम्बन्ध रहेको छ ।पशुकल्याण भन्ने कुरा कुनै नयाँ विधा नभई यो पौराणिक काल देखि नै रहेको कुरा बुढी पोल्ने पर्वले समेत पुष्टि गर्दछ । पशु कल्याण हामीले जति जति बढाउदै जान्छौ पशुहरुको उत्पादन र उत्पदकत्वमा समेत वृद्धि हुने र जतिजति पशुकल्याणका कार्यमा कटौति गर्दै जान्छौ त्यति त्यति नै पशुहरुबाट उत्पादन र उत्पादकत्वमा पनि ह्रास हुन जाने कुरा स्पष्ट भएको छ । हरेक पशुपालक कृषकहरुले पशु कल्याणको बारेमा ध्यान पुर्‍याउन अपरिहार्य छ ।

बुढी पोल्ने पर्व, २०८० को हार्दिक शुभकामना ! जय पशुकल्याण ! जय पशु धन !

(लेखक बासुदेव नाथ पशु सेवा तालिम केन्द्र ललितपुरमा अधिकृतस्तर आठौं पशु विकास अधिकृत एवं निमित्त वरिष्ठ तालिम अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।