सोभियत सङ्घको विघटनपछि खडा भएको एकध्रुवीय विश्व रुस–युक्रेन युद्धपछि स्पष्ट रूपले दुई ध्रुवमा विभाजित भएको छ । उसो त, असंलग्न राष्ट्रहरूको हिसाब गर्ने हो भने बहुध्रुव पनि भत्र सकिएला । त्यो केवल राजनीतिक विषय हो । बीसौँ शताब्दीको समाजवादी ध्रुव र साम्राज्यवादी ध्रुव अहिले विद्यमान नभए पनि अहिलेको विश्व अमेरिकी गठबन्धन र रुसी गठबन्धनसहितको सैन्य ध्रुवमा विभाजित भएको छ । त्यसमा विगतकै जस्तो नेटो र वार्सा गठबन्धन नबने पनि अमेरिकी नेतृत्वको नेटो गठबन्धनविरुद्ध रुस, चीन, कोरिया र इरानको नेतृत्वमा अघोषित सैन्य सङ्गठन खडा भएको छ ।
अमेरिकाले आफैँलाई लोकतन्त्र (डिमोक्रेसी) को स्वघोषित पहरेदार करार गरे पनि यहाँको पुँजीवादी–साम्राज्यवादी सत्ता विश्वका उत्पीडित जनताको आँखामा अन्तर्राष्ट्रिय आतङ्कवाद हो । यसबाट तेस्रो विश्वका जनता मात्र आजित भएका छैनन्, स्वयम् अमेरिकी र युरोपियन जनतासमेत प्रताडित छन् । अमेरिकी सत्ताविरुद्ध त्यहाँका जनताको रुष्टता बिल्कुल जायज छ किनकि अमेरिका नै यस्तो देश हो जहाँ आर्थिक, राजनीतिक र सांस्कृतिक असमानताको खाडल विश्वमै सबैभन्दा धेरै छ । अमेरिकी सरकारबाट संसारमा राजनीतिक, आर्थिक एवम् सामाजिक अस्थिरता पैदा गर्न, सरकारको फेरबदल गर्न, राज्यका लागि तिरेको कर लोकतन्त्रको स्थापनाका नाममा कतिपय उत्पीडित मानिसको हत्या गर्न र प्राकृतिक साधनहरूको लुटपाट गर्न प्रयोग भएकोमा अमेरिकीहरू बेखुसी छन् । युरोपियन जनता पनि युरोपमा यिनै कारणहरू लागू हुने अवस्थाले अमेरिकी उपनिवेशबाट आजित छन् । चाहेर होस् वा नचाहेर, युरोपेली सरकारहरू नाटो गठबन्धनका कारण युरोपियन जनताले तिरेको कर विश्वभर अस्थिरता पैदा गर्न र जनताको हत्या गर्न अमेरिकी निर्देशनको पालन गर्न विवश छन् । युरोप र स्क्यान्डिनेभियन जनता रुस–युक्रेन युद्धमा आफ्नो कमाइमा कटौती गरी तिरेको करले आफ्नै जीविकामा चुनौती पस्कने र आफ्नै घरको धुरीमा बम बर्सिने खतराले आतङ्कित छन् । करको पैसाले थुपारेका बमबारुद युक्रेनमा रुसी हमलामा खरानी मात्र भएका छैनन्, युरोपका लागि आवश्यक पर्ने ग्याँस, तेल, गहुँजस्ता उपभोग्य सामानमा हुनसक्ने अवरोधबाट भयभीत छन् । रुससँगको व्यापारिक सहकार्यमा बाँच्नुपर्ने यी देशहरू अहिले पनि अमेरिकी उपनिवेशबाट मुक्त छैनन् ।
युरोपमा फ्रान्सबाहेक सबै देश अमेरिकी सेनाको बुटमुनि बस्नुपरेको छ । बेलायत, जर्मनी, इटाली, बेल्जियमलगायत देशहरूमा आर्थिक सम्पत्रताका बाबजुद अमेरिकी उपनिवेशबाट पिल्सिएको आत्मसम्मानमा मलम लगाउने आधार बनेन । कुनै समयको विश्वसाम्राज्य र कुनै समयमा अमेरिकालाई नै उपनिवेश बनाएको बेलायत अहिले स्वयम् अमेरिकी उपनिवेशमा रहनु बेलायतीहरूका लागि अति नै पीडादायक विषय हो । मानिसका दिनहरू बित्दै गए पनि इतिहास कहिल्यै बित्दैन । इतिहासको बोध गर्ने हरेक नयाँ पिँढीका लागि अमेरिकी अपमानका काँढाहरू झन्झन् तिखा भएर घोचिन पुग्छन् ।
यता एसियामा जापान, एकीकृत कोरिया, फिलिपिन्सलगायत आस्यान देशहरू अमेरिकी बुटमुनि बस्न विवश छन् । बेलायत स्वयम् अमेरिकी उपनिवेश भए पनि अस्ट्रेलिया र न्युजिल्यान्ड बेलायतका उपनिवेश हुन् । राजनीतिक स्वतन्त्रता, आर्थिक सम्पत्रता, भौगोलिक सार्वभौमिकताजस्ता शब्दहरू यी सबै देशका संविधानमा महत्वका साथ उल्लेख छन् । परन्तु, कुनै पनि उपनिवेशको राजनीतिक वास्तविकताले मानिसको मनोवैज्ञानिक प्रताडनालाई इन्कार गर्न सक्दैन ।
युद्ध, रुस र युक्रेनबीच चलेको भए पनि यो रुस र नेटो गठबन्धनबीचको राजनीतिक, आर्थिक र सैनिक टकराव हो । नेटोमा अमेरिका र क्यानाडासहित युरोप र एसिया गरी ३१ देश सामेल छन् । रुससँगको युद्धमा यी देशहरूमा बर्सौंदेखि थुप्रिएका पुराना हतियार समाप्त मात्र भैसकेका छैनन्, नयाँ हतियारको मारक क्षमतामा भएको विज्ञापनसमेत फिका परेको छ । सोभियत सङ्घको विघटन र एकीकृत रुस विभित्र देशहरूमा विभाजन भएपछि सत्तामा आएका पुटिनले गत तीन दशकमा ‘समाजवादी सान’ देखाउने तयारी गरेको देखिन्छ । सोभियत सत्ताको विघटनलाई ‘ऐतिहासिक प्रलय (हिस्टोरिकल डिज्यास्टर) का रूपमा संश्लेषण गरेका पुटिनले नाटो गठबन्धनका ३१ देशलाई युक्रेको समर्थन गर्नु ‘भालुको कञ्चट समाउनुसरह’ को अवस्थामा धकेलेका छन् । अमेरिका र नाटो देशहरूको प्रत्यक्ष सहभागिता युक्रेनमा भयो भने त्यसले चीन, कोरिया, इरानसमेत सैनिक सहभागी हुने अवस्थामा पुर्याउनेछ जसको परिणाम अमेरिका ‘भूतको खाजा’ सरह हुनु अनिवार्य हुनेछ । अहिले नै १७ महिनाको युद्धमा अमेरिका र नाटो गठबन्धनका लागि युक्रेनमा न प्रत्यक्ष सहभागी हुनु न भागेर उम्कनुजस्तो भएको छ । अवस्था जेसुकै भए पनि यो युद्धमा अमेरिका र नाटोको राजनीतिक, आर्थिक र सैनिक पराजय भैसकेको छ । विश्वभरको अमेरिकी प्रभुत्व समाप्त हुन भने अमेरिकी साम्राज्यवादको औपचारिक पराजय अनिवार्य हुनेछ ।
युद्धको जटिलता बढ्दै जाँदा, छद्म युद्ध प्रत्यक्ष युद्धमा बदलिने सम्भावना बढ्दै गएको छ । आणविक हतियारको भण्डारण जो बाइडन र नेटोका नेताहरूको ब्रेकफास्ट गर्ने भुट्टाको चाङ अवश्य हुने छैनन्, हिरोसिमा र नागासाकीमा जस्तै आवश्यक परेको अवस्थामा मानिसको चमडी पगालेर दमडी असुल्ने होडबाजी हुनेछन् । वस्तुको विकास सामान्यबाट जटिलतातिर जानेजस्तै ट्याक्टिकल न्युक्लियर हुँदै स्ट्राटेजिकतिर अमेरिका र बेलायत सोझ्याउँदैछन् । दोस्रो विश्वयुद्धपछि प्रतिबन्धित क्लस्टर बमको प्रयोग भैसकेको छ । युद्धमा होमिएपछि सनक र बाध्यता दोस्ती भएर आउँछन् । अमेरिका अहिले दुवैको सिकार हुन विवश हुँदैछ ।
अमेरिकाले युक्रेन युद्धमा हतियारको व्यापार गर्न, युक्रेनमाथि ऋणको भारी बोकाउन र रुसलाई ४३ देशमा विभाजन गर्ने रणनीति पूरा गर्न अप्रत्यक्ष सहभागिता देखाए पनि प्रत्यक्ष भिड्ने अवस्था नल्याउन सचेत देखिन्छ । युद्धको स्तरअनुसार चलाउने र रोक्ने कुरा कसैको इच्छा र चाहनाभन्दा बाहिरको कुरा हो । लेनिनले भनेजस्तै पुँजीवादी–साम्राज्यवाद भनेको युद्ध हो र यो साम्राज्यवादी उत्पादन सम्बन्धले पैदा गरेको राजनीतिक अवस्था हो । अमेरिकी साम्राज्यवादका लागि ‘अमेरिकी प्रतिष्ठा’ आँचको फन्दामा फस्न थाल्यो भने त्यसको उद्धार गर्ने अस्त्र आणविक युद्धबाहेक अर्को हुनेछैन । युक्रेन युद्धमा अमेरिकाले रुससँगको वार्ताका ढोकाहरू पूरै बन्द गरिसकेको छ, कूटनीतिक असफलताको परिणाम पनि युद्ध नै हुन पुग्छ । अमेरिकाले आणविक अस्त्रको बटनमा औँला पुर्यायो भने आफ्नो प्रतिरक्षाका लागि चीन, कोरिया र इरानले पनि बटन दबाउनु अनिवार्य हुनेछ । त्यति बेला छद्म युद्धले केवल तेस्रो विश्वयुद्धको रूप मात्र लिनेछैन, विश्वको राजनीतिक, आर्थिक, सैनिक सन्तुलनमा ब्यापक बदलाव आउनेछ । पहिलो र दोस्रो विश्वयुद्धबाट बचेको उत्तरअमेरिकी भूभागमा लामो दूरीका क्षेप्यास्त्रहरूले प्रवेश गर्नेछन् । एउटा बटन दबाउँदा पूर्व माको गोवामदेखि लसएन्जलससम्म र पश्चिमको न्युयोर्कदेखि वासिङ्टनसम्म डढाइदिने कोरियाली धम्की कुनै दिन वास्तविकतामा बदलिन बेर लाग्नेछैन । चिनियाँ हतियार युद्धमा परीक्षण नभए पनि अमेरिकी प्रतिरक्षाका लागि चुनौती हुने स्पष्टै छ । रुसी हतियारले युक्रेन युद्धमा अमेरिकी प्रतिरक्षाको हुर्मत मात्र लिएन, पेट्रियोट प्रणाली र क्षमताको प्रचार गरिएको विज्ञापन नै उल्ट्याइदियो । परिणामतः अमेरिकी हतियारको अन्तर्राष्ट्रिय बजार धराशायी भएको विश्वले नै देखिसकेको छ । जति युद्धको आतङ्क अमेरिकालाई छ त्यति विश्वका कुनै देशहरूलाई छैन किनकि अमेरिका अहिलेसम्म कुनै बाह्य युद्धमा फसेको छैन, बाँकी सबै साम्राज्यहरूले युद्धको प्रक्रियाबाटै उत्थान र पतन भोगेका छन् ।
विश्वयुद्धले विश्वको राजनीतिक सन्तुलनमा ल्याउने परिवर्तनमा प्रथम भारत–चीन सम्बन्ध हुनेछ, दोस्रो रुस–जापान सम्बन्ध हुनेछ । तेस्रोमा युरोप–अमेरिकी सम्बन्ध हुनेछ भने चौथोमा स्वयम् उत्तरअमेरिका र दक्षिण अमेरिकी सम्बन्ध हुनेछ । यस्तो स्थितिमा अहिले अमेरिकी क्याम्पमा रहेको भारत प्रतिद्वन्द्वी मात्रे गरेको चीनका पक्षमा उभिनु अनिवार्य हुनेछ । अमेरिकी सैनिक सुरक्षामा रहेको जापान रुसका पक्षमा लाग्नु अनिवार्य हुनेछ । निहुँ पाउनेबित्तिकै पेरिस र बर्लिनका सहरहरूमा डढेलो लगाउने युरोपियन जनता अमेरिकी दासत्वबाट मुक्त हुन रुसका पक्षमा खडा हुनेछन् । बोलीमा जनपक्षीय र व्यवहारमा धनपक्षीय नीति भएको युरोपियन ढोंगी प्रजातन्त्र युद्धको अन्त्यसँगै विसर्जित हुनेछ र त्यसको स्थान वैज्ञानिक समाजवादले लिनेछ । अमेरिकी साम्राज्यवादको पराजयले मेक्सिकोसहित दक्षिण अमेरिका र अफ्रिकाले मात्र स्वाधीनता प्राप्त गर्ने होइनन्, स्वयम् उत्तर अमेरिकी महादेशका जनताले समेत साम्राज्यवादी उत्पीडनबाट मुक्ति पाउनेछन् । यसरी अमेरिकी साम्राज्यवादबाट युरोपदेखि एसियासम्म र अमेरिकादेखि अफ्रिकासम्म मुक्त हुनु भनेको अहिलेको अवस्थामा विश्वभर समाजवादको नयाँ लहर पैदा हुनु हो । माओ त्सेतुङले ‘साम्राज्यवादी युद्धले या त क्रान्तिको जन्म दिन्छ या क्रान्तिले साम्राज्यवादी युद्धलाई रोकिदिनेछ । दुवै अवस्थामा विश्वको मूल प्रवृत्ति क्रान्ति नै हो’ भत्रुभएजस्तै अहिलेको विश्वको मूल प्रवृत्ति समाजवादी–साम्यवादी क्रान्ति नै हो ।
के हामी सम्पूर्ण मानव जातिका लागि खुला र उन्मुक्त नयाँ युगको अपेक्षा गर्न सक्छाैँ ? अथवा के मुठीभर पुँजीवादी–साम्राज्यवादी बँधुवा मानिसहरूले सोचेजस्तै पुरानै सिकन्जा र साँघुरो संसारको कैदखानाको अन्त्य नहुन सक्छ ? रुसको बाध्यता र अमेरिकी अजीर्णताले भिड्नु परेको युद्धले विश्वभरका मानिसलाई पुरानोको मृत्यु र नयाँको जन्मको दोसाँधमा पुर्याएको छ । अमेरिकी साम्राज्यवादी विध्वंसका विरुद्ध राजकीय पुँजीवादी (स्टेट क्यापिटलिस्ट) पुटिनका लागि यो युद्ध लेनिन र स्टालिनको जस्तो बृहत् मानवीय हितभन्दा फरक हुनसक्छ, परन्तु पुटिनले जुन युद्धको नेतृत्व गरेका छन् त्यसको विजयपूर्ण सफलताले नयाँ युगको जन्म दिने धाईको धर्म निश्चित रूपले पालन गर्नेछ जसका लागि अमेरिका र नेटोको युद्धमा प्रत्यक्ष सहभागिता र पराजय अनिवार्य हुनेछ ।
युद्धले नयाँ विश्व व्यवस्था स्थापना गर्ने हो भने त्यसका लागि युरोपेली र अमेरिकी जनताले युरो–अमेरिकी साम्राज्यवादका विरुद्ध स्पष्ट रूपमा खडा हुनु पहिलो आवश्यकता हो । युक्रेनी जनताको सार्वभौमिकता र शान्तिका लागि संसारभरका मानिसहरू एकजुट हुनु दोस्रो आवश्यकता हो । संसारभरका मानिसहरू साम्राज्यवादी युद्धको अन्त्य र समाजवाद स्थापनाका लागि उभिनु अहिलेको तेस्रो आवश्यकता हो । योभन्दा महत्वपूर्ण विषय सबै देशका कम्युनिस्टहरूले आआफ्नो देशमा क्रान्तिको तयारी गर्नु नै हो ।
साउन, २०८०