बलिदानदेखि जोगिने बहानामा क्रान्तिलाई परित्याग गर्नु भनेको वास्तवमा मानिसहरू सदासर्वदा दास रहिरहून्, उनीहरूले अन्ततः कष्ट र बलिदान खेपिरहून् भन्ने कुराको माग गर्नु हो ।’ – कमरेड माओ
‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने जनयुद्धको बाटोमा अघि बढौँ’ भन्ने मूल नाराका साथ सुरु गरिएको महान् जनयुद्धलाई त्यसको प्रमुख नेतृत्वले मूलतः विजयको उच्चताका निम्ति आवश्यक पर्ने बलिदानदेखि डराएर जुन वर्ग, सत्ता र व्यवस्था ( दलाल, नोकरशाही पुँजीपति र सामन्त वर्गको अधिनायकत्व भएको राज्यसत्ता) विरुद्ध लडेका थिए, माओवादीले अन्ततः उनीहरूसँग सहकार्य, सहमति, सम्झौता हुँदै आत्मसमर्पण गर्न पुगे । जसको परिणाम पुरानो सडेगलेको संसदीय व्यवस्था केही रङरोगन र नयाँ सारथी (माओवादी धाराका मानिसहरू) सहित अघि आयो जसले न त जनयुद्धको लक्ष्य पूरा गर्यो, न नेपाली समाजको आधारभूत समस्याको गुणात्मक समाधान नै गर्यो, खालि राज्यसत्ताअन्तर्गत एक अङ्ग सरकारमा मानिसहरूको हेरफेर मात्र ल्याइदियो ।
जनयुद्धको लक्ष्य प्राप्त गर्न गर्नुपर्ने बलिदानको डरले माओवादी धारका विचलनकारी मानिसहरू माओले भनेजस्तै करिब १८ वर्षको यात्रासम्म पुरानो संसदीय व्यवस्था र दलाल पुँजीवादी सत्ताको दास बन्दै त्रास पालेर बाँचिरहेका छन् । यसैको सेरोफेरोमा माओवादी समूहको वक्तव्यबाजी र रुन्चे स्वर उजागर हुन पुगेको छ ।
हालैका दिनहरूमा उजागर भएको यसखालको परिवेश र प्रवृित्तसँग सम्बन्धित सवालहरूमा यहाँ सामान्य चर्चा गर्ने प्रयास गरिएको छ ।
शान्ति प्रक्रियाको सबाल
शान्ति प्रक्रियाको व्यापारमा नेपालले खर्बौंको धनराशि गुमाएको छ । यो प्रक्रियाले करिब १५–१८ वर्ष पार गरिसकेको छ । यसबीचमा २०७२ सालको संविधान, त्यसअन्तर्गत दलाल पुँजीवादी सत्ताको तीन तहको २ कार्यकालको निर्वाचन, गणतन्त्रको दशक लामो अम्यास, पहिलो संविधानसभा विघटन, सेना समायोजनका नाममा जनसेनाको विघटन गर्दै एक हदमा प्रतिक्रान्तिकारी, जनविरोधी वर्गको अधिनायकत्वसहितको सत्ताको प्रतिक्रान्तिकारी गतिविधि अघि बढिसकेको छ । शान्ति प्रक्रियाको मूल मर्म जनयुद्धका राजनीतिक एजेन्डाको सम्बोधन, दुवै सेनाको विघटनसहित नयाँ राष्ट्रिय सेनाको गठन, राज्यको पुनर्संरचना थियो जुन कार्यभार निषेध गर्दै संविधान बनिसकेपछि स्वतः शान्तिप्रक्रिया भङ्ग र असफल भइसेकेको छ ।
अर्कोतर्फ बेपत्ता खोजबिन र सहिदको सन्दर्भ त जनयुद्धका धारका नेताको विचलनका कारण सरकारमा जाने भ¥याङमा सीमितीकरण भयो किनकि ०६३ यता लगातार माओवादी धारका मानिसहरूले दलाल सत्ताको कुनैकुनै अङ्गमा जागिर त खाएकै थिए त्यति बेला उनीहरूले के हेरेर बसे वा के गर्न लागे ? प्रश्न उब्जन्छ ।
माओवादी धारको निम्छरो राजनीति
जनयुद्धको लक्ष्यबाट विचलित भएर जुन वर्ग, सत्ताविरुद्ध सङ्घर्ष उठाएका थिए उनीहरूसँग नै पार्टी एकता, संयुक्त प्यानलमा चुनाव लड्नेजस्ता निम्न र निच संसदीय राजनीतिक दाउपेच र विचलनले काफी हदमा माओवादी धाराको नाम लिने हक गुमाएकाहरूको जमघटसहित वक्तव्यबाजीले नेपाली जनहरू चकित परेका छन् । गतकालमा दैलेखमा डेकेन्द्र थापा प्रकरणमा जेल सजाय पाएको कार्यकर्ता होस् वा शाहीसेनाका विद्रोहीबारेको सजायमा वा बालकृष्ण ढुङ्गेलसम्मको प्रकरणमा यस्तो खालको कहिल्यै संयुक्त विज्ञप्ति निकाल्ने हैसियत राखेनन् तर आज एक समयका क्रान्तिनायक, आजका विद्रूपीकरणका नायक प्रचण्डको टाउकोमा मुद्दाको घन बजारिएपछि संयुक्त विज्ञप्तिमार्फत रोइलो चलेको छ जहाँ दस कोस घोर दक्षिणपन्थी संसद्वादी बनेका वा आजको दलाल पुँजीवादी सत्ता संरक्षणदेखि आफूलाई नयाँ जनक्रान्तिको दाबी गर्ने कमरेडहरूसम्म दौडमा देखिन पुग्दा जनता तीन छक परेका छन् । यो के सङ्गति वा विसङ्गति हो ? जनताको जीवनमा सङ्कट पर्दा, जनयुद्धको जनपक्षीय मुद्दा बध हुँदा, चरम राष्ट्रघात र जनविरोधी कदमहरूमा यिनीहरू किन यसरी एक ठाउँ हुन सकेनन् भन्ने पेचिलो प्रश्न खडा भएको छ ।
अझ अनौठो त संयुक्त विज्ञप्तिमा ‘विद्वान्’ मानिने बाबुराम भट्टराईको उपस्थिति बनेको छ किनकि उनले ०७६/११/१ गतेको नयाँ पत्रिकामा प्रचण्डबारे भनेका थिए, ‘क्रान्ति पूरा भइसक्यो । योभन्दा बढी केही गर्न सकिन्न भन्दै पुरानै एमालेमा मिसिएर बाँडीचुँडी खाने प्रचण्ड नेतृत्वको धार ‘कम्युनिस्ट’ खोल ओढे पनि वस्तुतः विसर्जनवादी, पश्चगामी धार हो ।’
आखिर विसर्जनवादी धार के हो भन्ने सवालमा लेनिन भन्नुहुन्छ, ‘विर्सजनवाद विचारधारात्मक रूपमा विश्वासघात, कार्यक्रम तथा कार्यनीतिको परित्याग र अवसरवादसित जोडिएको छ ।’
विसर्जनवादको अर्थ सर्वहारा वर्गको पुरानो पार्टीको विघटन र विनाश मात्र होइन, यसको अर्थ बुर्जुवा विचारद्वारा सर्वहारा वर्गको विनाश मात्र होइन, वर्गचेतनाको भ्रष्टीकरण पनि हो । लेनिनको यो भनाइजस्तै प्रचण्ड–बाबुरामले माओवादी धारलाई यसरी नै विसर्जन गर्न पुगेका थिए । त्यसैले उनीहरूलाई अघि सारेर माओवादी धारको (पूर्व) नाममा जे भइरहेको छ, त्यसले थप माओवादी धारको आममान्यतालाई अझ बढी कमजोर बनाउनेबाहेक अरू केही हात पर्नेछैन । यसर्थ विसर्जनवादी नेतृत्वको राजनीतिक खेलबाट अलग बन्दै स्वतन्त्र बाटोबाट माओवादी क्रान्तिकारी धाराको विकासमा लागिपरौँ । संशोधनवादको परियोजनामा आँखा चिम्लँदै कुदेर फाइदा हुँदैन ।