0 COMMENTS

‘…माओवादी धारलाई एकताबद्ध गर्नुपर्छ भन्ने विषयमा प्रचण्ड जी र हामी सबै सहमत नै छौँ । पहिला हामी मोर्चा बनाउन सहमत भयौँ । एक चरण हामी यसमा जान्छौँ । माओवादीलाई एकतावद्ध गर्ने हाम्रो चाहना छ । बहसहरू छन्, विचारका प्रश्नहरू छन्, कार्यक्रमका प्रश्नहरू छन् । हामीले यो बीचमा अलग बाटो लियौँ । यसलाई हेर्ने दृष्टिकोण के हो ? ती विषयमा छलफल हुँदै जान्छ । प्रचण्ड हाम्रो अग्रज नेता हो, त्यसमा आपत्ती छैन । उहाँले एकीकृत जनक्रान्तिका शहीद पनि हाम्रा हुन् भन्नुभएको छ । हामीले ‘सी जाती’ बनाएका छौं । अलग खालको संस्कार र संस्कृतिको विकास गरेका छौं । यी विषयमा छलफल हुन बाँकी नै छ ।’ – नेत्रविक्रम चन्द, अनलाईन खवर, २०८० कार्तिक–६

लेखक : कृष्ण वाग्ले ‘रूपेश’

माओवादी धारको सारतत्व भनेको नेपालमा सामन्त, दलाल तथा नोकरशाही पूँजीवादको अन्त्य गर्दै नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादको निम्ति अघि बढ्नको लागि निरन्तर संघर्ष गरिरहेको माक्र्सवाद–लेनिनवाद र माओवादप्रति प्रतिबद्ध पार्टी नै हो । तर उनले भनेजस्तो हालको नेपालको दलाल पूँजीवादी सत्ताको नोकरका रूपमा सरकारको नेतृत्व गरिरहेको इतिहासका एक–कालखण्डका भूपु माओवादीहरूलाई माओवादी धारमा राखेर विष्लेषण गर्न मिल्ने कुनै ठाउँ बाँकी राखेका छैनन् । उनीहरूले जनघात र राष्ट्र«घातमा विगतकै संसदवादी पार्टीकै हारमा गएर प्रतिस्पर्धा गर्न पुगेका छन् । आजको सन्दर्भमा उनीहरूले देश, जनता र उत्पीडित वर्गप्रति सत्ताका केही अंग (मुख्यतः तल देखि माथि सम्मको सरकार) मा प्रवेशको डेढ–दशक गुजार्दा उनीहरूको विचारधारा, पक्षधरता, भनाइ र गराईमा के तालमेल मिलेको पाउन सकिन्छ । ढुक्कले भन्न सकिन्छ कि हजारौँ तथ्यहरूले उनीहरू खास्साको संसदवादी दल बनेर सरकार गठनको राजनीतिक समीकरणकै निम्ति कहिले एमालेसँग पार्टी एकता त कहिले नेपाली काँग्रेससँग चुनावी तालमेल र सरकारमा सवै खालका संसदवादी शक्तिसँग सहकार्य , राज्यको विभिन्न ओहदामा छँदा गरिएको कमिशन काण्डमा उनीहरूको सङ्लग्नता आदीजस्ता उसको सवैभन्दा बलियो आधार सहित भन्न सकिन्छ कि त्यो उनीहरूको वैचारिक विचलन, आत्मसमर्पण र पछि हटाई सिवाय अरू केही होइन ।

शान्तिप्रक्रिया (संसदीय–संघर्षकाल) वा ०६२––०६३ वरपर उनीहरूमा सैद्धान्तिक र राजनैतिक विचलनहरू पैदा भएका थिए । ती एकहदमा माथि नउठ्दासम्म सच्याउन सकिने तहमै थिए । तर आज उनीहरू विचलनभन्दा निकै पर आत्मसमर्पण र पतनको पराकाष्ठामा नै हुत्तिन पुगेका छन् जहाँ उनीहरूलाई उठाउन खोज्दा उठाउने जनको समेत हालत खराब हुनेमा कुनै सन्देह छैन । कमरेड लेनिनले विचलनको सन्दर्भमा भनेका छन् : ‘विचलन अहिलेसम्म पूर्ण–विकसित धारा होइन । विचलन भनेको यस्तो चीज हो जसलाई सुधार्न सकिन्छ । मानिसहरू पथबाट केही विचलित भएका छन् वा पथबाट विचलित हुन थालिरहेका छन् , तर तिनीहरूलाई अझसम्म ठीक पार्न सकिन्छ । – संकलित रचना भाग ३२, लेनिन
भूपु माओवादीहरू अर्थात प्रचण्ड नेतृत्वको पार्टीको समस्या विचलनमा सिमित छैन् । उसको पछि हटाई त विसर्जनवादसम्म पुगिसकेको छ । जसवारे लेनिनले भनेका छन् : ‘विसर्जनवाद एउटा गम्भीर विचारधारा हो । यो माक्र्सवादी विचारधारा होइन, सर्वहारा विचारधारा होइन् , बरू उदार–पूँजीवादी विचारधारा हो । –संकलित रचना भाग २०, लेनिन
प्रचण्डहरूमा देखा परेको विसर्जनवाद सुरुमा विचलनहुँदै वर्गीय र राष्ट्रिय–आत्मसमर्पणवादमा फड्को मार्न पुगेको थियो । यहाँनिर लेनिनले भनेजस्तै : ‘अवश्य पनि विसर्जनवाद गद्दारीसित, कार्यक्रम तथा कार्यनीतिको परित्यागसित, अवसरवादसित विचारधारात्मक रूपले सम्बन्धित छ । …तर विसर्जनवाद अवसरवाद मात्र होइन अवसरवादीहरूले पार्टीलाई गलत, पुँजीवादी बाटोतर्फ, उदार–मजदुर नीतिको बाटोतर्फ लगिरहेका छन्, तर उनीहरू पार्टीलाई नै परित्याग गर्दैनन्, पार्टीको अस्तित्व मेट्दैनन् । विसर्जनवाद त्यस मार्काको अवसरवाद हो जुन पार्टीलाई परित्याग गर्ने हदसम्म जान्छ । स्वतः प्रष्ट कुरा के भने पार्टी सदस्यतामा पार्टीको अस्तित्व नमान्नेहरू भएमा पार्टी रहन सक्दैन । – लेनिन, संकलित रचना भाग १९ , यो भनाई कै सारमा प्रचण्डहरूमा देखा परेको विचलन विरुद्ध पार्टीमा चलेका अन्तरसंघर्षको क्रममा पार्टीको निर्णय र वैचारिक मान्यतालाई लत्याउँदै, उल्ट्याउँदै संसद्को उपयोग, संविधानसभाको निर्वाचन, जसरी पनि संविधान भन्दै आफ्नो माओवादी पार्टी मान्यतालाई तोडमोड गर्दै रणनीतिक रुपमा माओवाद र संसद्वादलाई जोड्दै सुधारिएको संसदीय व्यवस्थाका नयाँ चाकर बनेको कटु यथार्थ सवैको सामु उभिएको छ ।

यसै प्रसङ्गमा लेनिनले भनेका छन् : ‘विसर्जनवादीहरू त्यस्ता निम्न–पुँजीवादी बुद्धिजीवी हुन् जसलाई पुँजीपतिवर्गले मजदुरहरूको माझमा उदारवादी भ्रष्टाचारको बीउ रोप्नका लागि पठाएको हुन्छ । विसर्जनवादीहरू माक्र्सवादप्रति विश्वासघाती र जनवादप्रति विश्वासघाती हुन् ।– लेनिन, संकलित रचना भाग १९ , ठीक यसैको सेरोफेरोमा भूपु माओवादीका नेतृत्व गरेका प्रचण्ड–बाबुरामबाट सोही स्तरको विश्वासघाती सावित भइसकेको सन्दर्भमा माओवादी धारको एकताको कुनै वैचारिक सान्दर्भिकता रहने छैन् । किनकी माओवाद र संसद्वादको लामो सहकार्य वा सँगै प्रयोग सम्भव नै हुदैन जो नेपालमा भैइराखेकै छ त्यो हुनुमा यो भन्न आनाकानी गर्नु पर्दैन कि उनीहरू इतिहासका माओवादी अर्थात भूपू माओावादीरू नै हुन् अर्थात लोगो धारी माओवादी मात्र हुन पुगेका छन् जहाँ उनीहरूलाई माओवादी धाराको वैचारिक प्रतिबद्धता, निष्ठा, इमान्दारिता र समर्पण केही मतलब छैन छ त केवल संसदीय कुर्ची खेल कसरी आफू अनुकूल पार्ने त्यो पनि सिङ्गो पार्टीको हितमा होइन कि अमूक पार्टी प्रमुख लगायतको राजनीतिक स्थान सुनिश्चित गर्नु मात्र रहेको छ । यसर्थ माओावादी धारको एकताले खाली संसदीय जोड घटाऊमा केही अदली–वदली र विगत कालमा अलग भएका अन्य पार्टीका मानिसहरूलाई संसदीय यात्रा तय गर्न भने सहज हुन सक्ला ।

२०८० कात्तिक ८ गते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।