युवा जनस्वयम्सेवक नेपाललाई नेकपा (बहुमत) को सहायक सङ्गठनका रूपमा हेरिएको छ । तपाईं नेतृत्वको सङ्गठनको दायित्व, जिम्मेवारी र कर्तव्यका बारेमा केही प्रस्ट पारिदिनुस् न !
राष्ट्र यतिबेला आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, हिसाबले चरम सङ्कटमा धकेलिएको तपाईं–हामी प्रस्ट रूपमा अनुभव गर्न सक्छौँ । युवा सङ्गठन, त्यसमा पनि क्रान्तिकारी र प्रगतिशील युवक सङ्गठन हुनुको नाताले हामी देश, जनता र जनजीविकाको सवालमा जिम्मेवार र कर्तव्यनिष्ठ छौँ । विषम परिस्थितिमा हुँदै गरेको यो विशेष भेलाले देशमा देखिएका तमामखाले समस्याहरूका विरुद्धमा सङ्गठनले सङ्घर्ष छेड्ने योजना निर्माण गर्नेछ । भ्रष्टाचार, कालोबजारी, तस्करी, माफियाकरण, दलालीकरण, चरम महँगी, जनजीविकाको सवालमा हामी निरन्तर सडकमा सङ्घर्ष गर्दै आइरहेका छौँ । दैनिक दुई हजारभन्दा बढी युवा श्रमको खोजीमा विदेश पलायन भइरहेको देशभित्र कुनै पनि प्रकारका सम्भावना र अवसरहरू सिर्जना हुन नसकेको अवस्थामा हामी आजको प्रगतिशील र क्रान्तिकारी युवालाई देशभित्रै रोजगारी सिर्जना, उत्पादनमूलक काममा जोड्न गरिने पहलकदमीलगायत युवाको आर्थिक, समाजिक सुरक्षा सुनिश्चितताका लागि निरन्तर पहलकदमी लिइरहनेछौँ ।
युवा जनस्वयम्सेवक नेपालको विशेष राष्ट्रिय भेलाको आवश्यकता किन पर्यो ?
गत वैशाख २१ गते हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को विशेष राष्ट्रिय भेला सम्पन्न भएपछि हामी अहिले देशैभरि पार्टीनिकट जनप्रिय सङ्गठनहरूका भेला–सम्मेलनहरू सम्पन्न गरिरहेका छौँ । सङ्गठन पुनर्गठन, नेतृत्वको चयन र सबलीकरणका साथै जनजीविकाका सवालमा पार्टीले लिएको कार्यदिशा र रणनीतिलाई जनतामा पुर्याएर कार्यान्वयन गर्ने सङ्गठन निर्माणका लागि सम्पूर्ण मोर्चाहरूका भेला–सम्मेलनहरू तीव्र गतिमा उत्साहजनक जनसहभागितामा अगाडि बढेका छन् ।
‘यो संसार विशेषतः युवाहरूको हो’ भन्ने महान् भनाइ र नेपाली युवाहरूको अवस्थाका बारेमा युवा जनस्वयम्सेवक नेपालको बुझाइ के छ ?
तपाईंलाई एउटा तितो तथ्याङ्क पेस गर्न चाहन्छु– कुल जनसङ्ख्याको ४० प्रतिशत अर्थात् सवा करोड हाराहारी रहेकोमध्ये ६० लाखभन्दा बढी युवा विभिन्न देशमा श्रम बेच्न जान बाध्य छन् । औपचारिक–अनौपचारिक हिसाबले ठूलो सङ्ख्यामा भारतमा रहेका छन् । देशमा रहेका ३५ देखि ४० लाख युवामध्ये पनि ३० प्रतिशतभन्दा बढी युवाहरू विभिन्न दुव्र्यसन र कुलतमा फसेको सरकारी तथ्याङ्कहरूमा नै हेर्न सकिन्छ । आज दैनिक २१ सय हाराहारी युवा श्रम खोज्दै विदेश भासिनुपर्ने स्थिति छ । अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ४ देखि ७ वटा लासहरू आइरहेका छन् । विगत १० वर्षमा हामीले १९ हजार युवा विदेशी भूमिमा गुमाइसकेका छौँ । देशमा रहेका युवाहरू पनि चरम बेरोजगारीको मारमा परेका छन् । युवा देश निर्माणको मेरुदण्ड बन्न सक्नुपथ्र्यो तर विडम्बना ! दलाल पुँजीवादी सत्ताले मेरुदण्ड बनाउने कुरा त परै जाओस्, बरु युवाहरूलाई विदेशी भूमिमा श्रम बेच्न बाध्य बनाएर रेमिट्यान्सले टाट पल्टिने अवस्थामा रहेको देशको अर्थतन्त्रको दुष्चक्र धान्ने षड्यन्त्र गरेका छन् । परिणामतः नेपाली युवाहरू विदेशी भूमिमा गुलाम र दोस्रो दर्जाको जिन्दगी बाँच्न बाध्य छन् भने नेपाल विदेशीहरूका लागि युवा कामदार उत्पादन गरिदिने मेनपावर सप्लायर्स कम्पनीजस्तो बनेको छ । यो निकै डरलाग्दो र देशका लागि भयावह स्थितिको सङ्केत हो ।
अब युवा पलायन हुने होइन, देश निर्माणमा हातेमालो गर्दै एकाकार भएर अग्रगमनको, क्रान्तिकारिताको, जनजीविकाको, सर्वहारा जनताका पक्षमा अगाडि बढ्ने हो ।
वर्तमान राज्यसत्ताका गलत नीति र तिक्डमहरूले युवाहरूमा केही निराशा, राजनीतिप्रतिको वैमनस्य पैदा भएको जस्तो देखिए पनि मूलभूत रूपमा आजको युवा अग्रगमनका पक्षमा देखिएको छ । क्रान्तिका पक्षमा देखिएको छ । वर्तमान भ्रष्ट र दलाल पुँजीवादी सत्ताका विरुद्ध चौतर्फी घृणा पैदा भएको हामी प्रस्टै अनुभव गर्न सक्छौँ ।
नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा युवाहरूको भूमिका कस्तो रहेको पाउनुहुन्छ ?
नेपालको मात्रै नभएर विश्व कम्युनिस्ट आन्दोलनमा युवाहरूको भूमिका महत्वपूर्ण र निर्णायक रहेको इतिहास छ । नेपालका प्रगतिशील र अग्रगमनकारी युवाहरूले जहानिया राणा शासनका विरुद्धदेखि पञ्चायती शासन मिल्काउने, गणतन्त्रको जग बसाउनेसम्म आइपुग्दा महत्वपूर्ण भूमिका प्रत्यक्ष रूपमा निर्वाह गरेको हामी पाउँछौँ ।
झापा विद्रोहदेखि जनयुद्धसम्म आइपुग्दा युवा पङ्क्तिले नेपाली समाज रूपान्तरणमा प्रत्यक्ष र महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । भ्रष्ट र जनताविरोधी सरकारका विरुद्ध महान् दसबर्से जनयुद्धमा हजारौँहजार युवाले बलिदान गरेको इतिहास धेरै पुरानो छैन । पछिल्लो चरणमा हाम्रो १२ जना महान् योद्धाहरूले यो व्यवस्थाका विरुद्ध लड्दालड्दै सहादत प्राप्त गर्नुभएको छ । यसरी हेर्दा देश परिवर्तन र मुक्तिकामी आन्दोलनमा युवाहरूको महत्वपूर्ण र नेतृत्वदायी भूमिका रहँदै आएको छ ।
महान् सहिद, बेपत्ता–घाइते–अपाङ्ग योद्धाहरूका सपना पूरा गर्न युवा जनस्वयम्सेवक नेपालको कस्तो भूमिका रहन्छ ?
नेतृत्वमा देखिएका अवसरवादी र संशोधनवादी उतारचढाव र पलायनहरूलाई चिर्दै क्रान्तिकारीहरू निरन्तर समाजलाई अग्रगमनतर्फ डोर्याउने बाटोमा समाजवादको लक्ष्यमा अग्रसर छन् । यसको मतलब हामी निरन्तर क्रान्तिका पक्षमा छौँ । हाम्रा महान् सहिद, बेपत्ता–घाइते–अपाङ्ग योद्धाहरूका सपना पनि यिनै हुन् ।
विशेष राष्ट्रिय भेलाको मूल नारा संसदीय संशोधनवाददेखि भ्रष्टाचार–बेथितिसम्मका विरुद्ध लक्षित देखिन्छ । युवा आन्दोलनको केन्द्रीकरण केमा बढी लक्षित छ ?
हो, अहिलेको कम्युनिस्ट आन्दोलनभित्र देखापरेको मूल समस्या संसदीय संशोधनवाद नै हो । जुन व्यवस्थाविरुद्ध लड्यो त्यसै व्यवस्थामा ज्यान फालेर जाने परिधि पछिल्लो चरण हाम्रोअगाडि देखापर्यो । यो प्रवृत्ति केही अवसरवादी नेताहरूमा जबर्जस्ती ढङ्गले देखिन पुग्यो । यो दुःखद् पक्ष हो । आन्दोलन बन्दै जाने र बन्दै गएको आन्दोलनमा बार्गेनिङ गरेर पुरानै सत्तामा फर्किने शैलीलाई भण्डाफोर गर्दै अगाडि बढ्न पनि चाहन्छौँ । हामीले नारालाई सहयोग गरेका छौँ । संशोधनवादी कित्ता र व्यक्तिहरूका विरुद्ध लड्ने यी हाम्रा घोषित कार्यक्रमहरू हुन् । विदेशी हस्तक्षेपलाई निम्ता गरेर राष्ट्रियतामाथि खतरा पार्ने संसद्वादी दलालहरूका विरुद्ध सङ्घर्ष गर्नु अहिलेको हाम्रो मुख्य कार्यभार र लक्ष्य रहनेछ ।
आन्दोलनको नेतृत्व गरेका कम्युनिस्ट पार्टीहरू अन्ततः पुरानो सत्तासँग वैध–अवैध सम्झौता र लेनदेनमा फसेपछि आन्दोलन, युद्ध र क्रान्तिहरू उद्देश्य पूरा नहुँदै विघटन भएको र युवाहरूमा आन्दोलनप्रति वितृष्णा बढिरहेको चर्चा छ । यथार्थ के हो ? युवालाई आमूल परिवर्तनकारी आन्दोलनमा लामबद्ध गराउने सूत्र तपाईंहरूसँग के छ ?
सात दशक लामो नेपालको कम्युनिस्ट आन्दोलनमा विभिन्न कालखण्डमा जुझारु संसदीय संशोधनवाद देखिँदै आएको छ । पछिल्लो चरण विप्लवसम्म आइपुग्दा त्यो प्रक्रियाले निरन्तरता पाएको छ र पनि क्रान्तिकारी युवाहरू निरन्तर अग्रगमनको बाटोमा अग्रसर रहेका छन् । विचारका पलायनहरूलाई नकार्दै युवाहरू निरन्तर सडक सङ्घर्षको मोर्चामा छन् । टुटफुट र विभाजनले केही नकारात्मक असर पारे पनि मूलभूत रूपमा क्रान्तिकारी युवाहरू आन्दोलनमा गोलबन्द र एकताबद्ध रहेका छन् । केही हदसम्म संसद्वादी राजनीतिक हथकण्डा र युवालाई स्वार्थपूर्ण प्रयोगले युवाहरूमा राजनीतिप्रति वितृष्णा रहेकै साँचो हो तर देश, जनता र जनजीविकाको भविष्य निर्माण गर्न अहिलेका युवाहरू निरन्तर सङ्घर्ष, क्रान्ति र आन्दोलनमा सडकमा मिल्छन् । हामीले भनेका छौँ जबसम्म बुर्जुवा सत्ताका विरुद्ध हामी जब्बर ढङ्गले सङ्घर्ष गर्न सक्दैनौँ तबसम्म देशमा कसैले पनि अधिकार प्राप्त गर्नेवाला छैन । युवा, विद्यार्थी, महिला, मजदुर, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी कसैको पनि यो देशको वर्तमान अवस्थामा भविष्य सुरक्षित छैन । भ्रष्टाचारले सीमा नाघेको छ । राष्ट्रले धान्न नसक्ने परिस्थितिमा पुगेको छ । व्यापारघाटाको ग्राफ निकै नै उकालोतर्फ छ । यस अर्थमा राष्ट्र निकै नै सङ्कटग्रस्त अवस्थामा छ । यो विषय अवगत नै छ । यी तमामखाले समस्याहरूका विरुद्ध मूलतः भ्रष्ट व्यवस्थाका विरुद्ध लड्न प्रगतिशील, वामपन्थी युवाहरू एकताबद्ध भई सङ्घर्षमा होमिनुको विकल्प छैन । ई–रातोखबरबाट