0 COMMENTS

असार २१, काठमाडौँ । नेपालबाट मौसमी कामदारका रुपमा दक्षिण कोरिया पुगेका नेपालीहरु अवैधानिक रुपमा लुकेर काम गरेको पाइएको छ । अधिकतम ६ महिनाको भिसामा गएका नेपाली कामदारहरु भिसा सकिएपछि पनि त्यही लुकेर काम गर्न थालेको पाइएको हो ।

शुक्रबार एउटै कम्पनीबाट कोरिया प्रहरीले १३ जना यस्ता नेपाली कामदारलाई पक्राउ गरेको सूचना पाएको नेपाली संघका केन्द्रीय सहकोषाध्यक्ष यज्ञराज सुवेदीले बताए । कोरियामा यस्ता नेपाली कामदार ठूलो संख्यामा लुकेको हुन सक्ने उनको अनुमान छ । उनका अनुसार पक्राउ गरिएका कामदार कोरियाली प्रहरीले आफ्नै नियन्त्रणमा राख्छ र नेपाल फर्काइदिन्छ । तर, यसका लागि कामदार टिकट खर्च व्यहोर्नुपर्ने हुन्छ । टिकट व्यवस्था नगरेसम्म कामदार प्रहरीकै नियन्त्रणमा हुने उनले बताए । कोभिडको समयमा धेरै नेपाली कामदार भिसा अवधि सकिएपछि पनि कोरिया लुकेर बसेको पाइएको छ ।

नेपालको स्थानीय सरकार र कोरियाको स्थानीय सरकारबीच भगिनी सम्बन्ध स्थापित गरी नेपाली कामदार कोरिया पठाउने गरिएको छ । नेपालको स्थानीय सरकारले मोसमी कामदार पठाउनु आफैमा अवैध मानिएको वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताए । कोरियाको संघीय सरकारले स्थानीय सरकारलाई यस्तो खालको निर्णय गर्न सक्ने अधिकार दिएको छ । तर, नेपालमा भने संघीय सरकारले मात्रै यस्तो निर्णय गर्न पाउँछ । तसर्थ, नेपाली संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मौसमी कामदार नपठाउन स्थानीय पालिकाहरुलाई परिपत्र जारी गरिसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।