असोज ६, काठमाडौँ । यात्रुवाहक सार्वजनिक सवारी साधनका लागि आज (सोमबार) देखि रुट परमिट खुला गरिएको छ। चाडपर्वको समयमा देशभर यातायात व्यवस्था सहज बनाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले रुट परमिट खुला गरिएको जानकारी दिएको हो।
महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार अब रुट नलिईकनै सार्वजनिक यातायात गन्तव्यसम्म जान सक्नेछन्। तर, केही मार्गमा विशेष कारणले प्रतिबन्धित सवारीसाधनमाथिको बन्देज भने यथावत् रहनेछ। यो व्यवस्था असोज २२ गतेसम्म लागू रहने छ। सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले अनिवार्य रूपमा टिकट लिनुपर्नेछ।
यसैबीच, चाडपर्वको चापलाई ध्यानमा राख्दै अत्यावश्यक सामग्री बाहेकका ट्रेलर लगायतका ठूला सवारीसाधनलाई आजदेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालनमा रोक लगाउने निर्णय सरकारले पहिले नै गरिसकेको छ।