0 COMMENTS

असार ४, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने बताएका छन् । शनिबार धनगढी उप–महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मेडिकल प्रतिष्ठानका लागि तत्कालै मन्त्रीपरिषद्बाट निर्णय गरेर निर्माण कार्य अघि बढाइने बताएका हुन् ।

‘यसअघि त्यस विषयमा यहाँबाट आवाज उठेको थिएन,’ प्रधानमन्त्री देउवाले भने, ‘अहिले सबैको एउटै माग रहेको पाएँ, अब चाँडै सुदूर–पश्चिमवासीको माग सम्बोधन हुने गरी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्छु ।’ उनले कैलालीसँग जोडिएको गौरीफन्टा नाकाको अधिकार कैलाली प्रशासनले पाउने गरी निर्णय गरिनेसमेत बताए । गौरीफन्टा नाका व्यवस्थापनको अधिकार कञ्चनपुरलाई हुँदा यहाँका नागरिकलाई समस्या भएको गुनासो आएपछि प्रधानमन्त्री देउवाले नागरिकलाई सहज हुने गरी गौरीफन्टाको अधिकार कैलालीलाई दिन गृह मन्त्रालयलाई निर्देशन दिने बताए ।

प्रधानमन्त्री देउवाले सुदूर–पश्चिममा विकासले गति लिएको पनि दोहो¥याउँदै भने, ‘म एसएलसी दिएर काठमाडौँ पढ्न जाँदा भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो ।’ अहिले कर्णालीमा पुल बनेको छ, राष्ट्रिय निकुञ्जमा २४ घन्टा ओहोर दोहोर गर्ने वातावरण बनेको छ, जतिबेला पनि प्लेन उडेको छ, यो यहाँका लागि ठूलो विकास हो, तर नागरिकका चाहना बढ्दै जानु पनि स्वाभाविक भएको प्रधानमन्त्री देउवाले बताए । साथै उनले धनगढी उप–महानगरपालिकालाई सुन्दर बनाउन खोलानालाको अतिक्रमण हटाइनु पर्नेमा जोडसमेत दिए ।

भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको गेटालाई मेडिकल विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने आवाज विगतदेखि नै उठ्दै आएको छ । यसका साथै उक्त निर्माण सकिएको मेडिकल कलेजको प्रारुप तयार गरेर तत्काल सञ्चालन गर्नुपर्ने माग उठ्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।