0 COMMENTS

असार ५, काठमाडौँ । स्थानीय चुनावमा काठमाडौँबाट बालेन साह र धरानबाट हर्कराज साम्पाङले लौरो चिन्ह्बाट चुनाव जितेका थिए । लौरोको चर्चा सेलाउन नपाउँदै फेरि चर्चा लौरोकै छ ।

शनिबार दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल भ्रमणमा आईपुगेका छन् । उनी काठमाडौँमा अवतरण गरेर सिधै झापा पुगे । झापामा उनलाई स्वागत गर्न एमाले केन्द्रीय सदस्य एवम् चर्चित व्यवसायी दुर्गा प्रसाईँ उपस्थित थिए । श्री एयरलाइन्सको चार्टर विमानमार्फत झापास्थित चन्द्रगढी विमानस्थलमा अवतरण गरेका राजकुमार माक्तुमले आफूलाई स्वागत गर्न पुगेका प्रसाईँलाई सुनको लौरो उपहार प्रदान गरेका छन् ।

राजकुमार माक्तुमले आइतबार झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा सुरु गर्न लागिएको पेटको सिटिस्क्यान उपकरणको औपचारिक शुभारम्भ गर्नेछन् । उनी नेपाल भ्रमणमा आएका हुन् वा दुर्गा प्रसाईँको निम्तामा ? प्रसाईंले राजकुमार विशुद्ध आफ्नो निमन्त्रणामा आएको र आफ्नो केही पुरानो सम्बन्ध रहेको बताएका छन् । उनले राजकुमारको नेपाल भ्रमणका क्रममा महत्वपूर्ण सम्झौता गर्न लागेको बताएका छन् । नेपालको पानी दुबईमा पठाउने र दुबईका नागरिक उपचारका लागि नेपाल पठाउने विषयमा सम्झौता गर्न थालिएको उनले बताएका छन् ।

“दिनको १० लाख लिटर पानी पठाउने योजना हाम्रो छ । यस विषयमा हामीले भोलि कुनै किसिमको सम्झौता गर्दैछौँ,” उनले थपे, “यूएईमा राम्रो स्वास्थ्य सेवा छैन त्यहाँका नागरिक अहिले उपचार गर्न अमेरिका जान्छन् । अब नेपाल पनि पठाउने गरि सम्झौता गर्दैछौँ ।”

राजकुमार माक्तुम सोमबार पोखरा भ्रमण गरी काठमाडौँ आएर दुबई फर्कने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।