0 COMMENTS

वैशाख२८, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ प्राधिकरणअन्तर्गत २५ भन्दा बढी कम्पनी खोलेर सबैको अध्यक्ष आफै बनेको जानकारी प्राप्त भएको छ । घिसिङले कर्मचारी भर्ती र सरुवामा ती कम्पनीहरुमा एकलौटी हस्तक्षेप गर्ने गरेपछि कर्मचारीहरु आजित बनेका छन् । ती कम्पनीहरूमा ठाडो आदेशमा आफूनिकटका व्यक्तिहरूलाई भर्ती गर्ने गरेका छन् भने आफ्ना विश्वास पात्रहरूमध्ये कतिपयलाई कर्मचारी सेवा शर्त विनियमावलीविपरीत एउटाभन्दा बढी कम्पनीको आयोजना व्यवस्थापन निर्देशक बनाएर पठाउने गरेका छन् ।

अपर तामाकोशी हाइड्रोपावर कम्पनी, रघुगंगा, त्रिशुली, उत्तरगंगा, दूधकोशी, चैनपुर सेती, तामाकोशी पाचौं, माथिल्लो मोदी, अपर अरुण, एनईए इन्जिनीयरिङ कम्पनी, सान्जेन, रसुवागढी, मध्य भोटेकोशीजस्ता लिमिटेड कम्पनीको अध्यक्ष घिसिङ आफैं हुन् भने आफूअनुकूलका कर्मचारीलाई त्यहाँ प्रोजेक्ट म्यानेजर बनाएर पठाउने गरेका छन् ।

प्राप्त जानकारी अनुसार उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेलाई घिसिङले सूचना प्रविधि निर्देशनालय प्रमुखको जिम्मेवारी दिएका छन् । उक्त निर्देशनालयबाट पीपीए (विद्युत खरिद सम्झौता)को सम्पूर्ण काम हुने गर्छ । स्रोतका अनुसार घिसिङका तर्फबाट थिकेले निजी र सरकारी आयोजना दुवैका लागि तेन्देल हार्डवेयरबाट सामान खरिद गर्नुपर्ने उर्दी जारी गरेको आरोप छ । अनि निर्माणका कतिपय कामहरू घिसिङका भतिज अरुण घिसिङको सेयर रहेको लामा कन्स्ट्रक्सनबाट हुँदै आएको छ । उक्त कम्पनीले प्राधिकरणका सबै डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) लगायत अन्य प्राविधिक अध्ययन गर्छ, जसमा प्राधिकरणबाट वर्षको अर्बौं खर्च हुने गर्छ । यस्ता कामहरू बिनाठेक्का उक्त कम्पनीलाई दिइने गरेको आरोप प्राधिकरणकै कर्मचारीहरू लगाउँछन् ।

प्राधिकरणको कर्मचारी सेवा शर्त विनियमावलीको परिच्छेद ५ को नियम ४२ ले कुनै पनि पदमा एक समयमा एक व्यक्तिको मात्र पदाधिकार कायम रहने उल्लेख गरिएको छ । उक्त विनियमावली घिसिङको हकमा पनि लागू भएको छैन । विनियमावलीको प्रावधानविपरीत घिसिङले आफ्नो विश्वासपात्र परमारधीर सेनलाई तीनवटा आयोजनाको प्रमुख बनाएका छन् । नवौं तहका सिभिल इन्जिनीयर सेन लम्की पोल प्लान्ट कैलाली, लालबन्दी सलीमापुर १३२ केभी प्रसारण लाइन आयोजना र कुशाहा विराटनगर १३२ केभी प्रसारण लाइन आयोजना गरी ३ वटा कार्यालयको प्रमुख हुन् । घिसिङले प्राधिकरणको ८० प्रतिशतभन्दा बढी बजेट परिचालन गर्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयको जिम्मेवारीमा ३ वर्षदेखि अर्का विश्वासपात्र मनोज सिलवाललाई दिएका छन् ।

प्राधिकरण स्रोतका अनुसार घिसिङले आफूविरुद्ध अभिव्यक्ति दिएको आरोप लगाउँदै प्राधिकरणको छैठौं तहमा कार्यरत सहायक इन्जिनीयर दिनेश सिवाकोटीलाई एक वर्षअघि प्रहरी कार्यालयमा ७ दिनसम्म हिरासतमा राख्न लगाएका थिए । अहिले घिसिङले कारबाही भन्दै सिवाकोटीलाई ३ महिनासम्मको निलम्बनमा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।