0 COMMENTS

वैशाख २८, कास्की। पोखरा महानगरपालिकाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीको वित्तीय स्थितिको विश्लेषणात्मक प्रतिवेदन प्रहरीलाई बुझाएको छ । ३४१९ पृष्ठको प्रतिवेदन बिहीबार पोखरा महानगरका प्रमुख धनराज आचार्यको उपस्थितीमा प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मालाई बुझाएका हुन्।

प्रतिवेदनमा गृहमन्त्री लामिछानेले आफैंले माग फारम भरेर सो सहकारी संस्थाबाट एक करोड रूपैयाँ ऋण लगेको उल्लेख छ । लामिछाने ग्यालेक्सी टेलिभिजनका सेयरधनी एवं प्रबन्ध निर्देशक रहेका बेला उक्त ऋण माग गरेको फारम भेटिएको छानबिन समितिले बताएको हो। ‘रवि लामिछानेको नामबाट एक करोड रूपैयाँ ऋण पाऊँ भनेर सहकारीमा ऋण माग गरेको फारम भरेको देखिन्छ। सो माग फारममा उहाँको हस्ताक्षर पनि छ’, छानबिन समितिका विज्ञ सदस्य दीपकप्रकाश आचार्यले भने, ‘हामीले त्यसको फोटोकपी पनि प्रतिवेदनमा राखेका छौं ।’

लामिछानेले सो ऋण माग गरेपछि ग्यालेक्सी टिभीको सञ्चालक कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिमा एक करोड रूपैयाँ गएको पनि आचार्यले बताए। गृहमन्त्री लामिछानेले भने अहिलेसम्म आफूले कुनै पनि सहकारी संस्थामा निवेदन दिएर वा माग फारम भरेर ऋण नलिएको बताउँदै आएका छन्।गोर्खा मिडिया नेटवर्क ग्यालेक्सी टेलिभिजन चलाउने माउ कम्पनी हो। सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राई ग्यालेक्सी टेलिभिजनका अध्यक्ष हुन्। उनी अहिले फरार छन्। 

सूर्यदर्शन सहकारीका कोषाध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका प्रबन्धक कुमार रम्तेलले सहकारीबाट टेलिभिजनमा ११ करोड रूपैयाँ लगानी गरेको जिल्ला अदालतमा दिएको बयानमा उल्लेख गरेका छन्। गैरकानुनी रूपमा टेलिभिजनमा सहकारीको बचत लगानी भएको भन्दै पीडितहरू आन्दोलित छन्। ग्यालेक्सी टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक एवं सेयरधनी लामिछाने पनि गैरकानुनी कारोबारमा संलग्न देखिएको भन्दै पीडितले गत माघ २२ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। जाहेरी लिए पनि प्रहरीले छुट्टै जाहेरीका रूपमा अहिलेसम्म दर्ता गरेको छैन। जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारी ठगी मुद्दा चलिरहेको छ। सोही मुद्दामा जोड्ने गरी पूरक जाहेरीका रूपमा अनुसन्धान भइरहेको प्रहरीले बताउँदै आएको छ।

लामिछानेविरूद्ध जाहेरी परेपछि प्रहरी, महानगरका विज्ञ, सिए (चार्टर्ड एकाउन्टेन्ट) लगायतको टोली बनाएर सहकारीको छानबिन गरिएको हो। यसपालिको प्रतिवेदनलाई सूर्यदर्शन सहकारीको पूरक छानबिन भनिए पनि यसअघिका प्रतिवेदनभन्दा अहिले विस्तृत रहेको पोखरा महानगर सहकारी समितिका संयोजक रविरमण तिवारीले बताए। हाल कारागारमा रहेका सूर्यदर्शन सहकारीका आइटी हेर्ने भविश्वर अर्याललाई झिकाएर सहकारीको सफ्टवेयरबाट २०७२ सालदेखिका सम्पूर्ण कारोबार र कार्यालयमा रहेका सबै कागजात समावेश गरिएको उनले बताए। सहकारीको कारोबार विस्तृत छानबिनपछि सर्वसाधारणको बचत अपचलनमा संलग्न सबै कानुनी दायरामा आउने आशा जागेको सहकारी बचत संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए।

सहकारी पीडितको बचत फिर्ता र दोषीलाई कारबाही गर्न आन्दोलनका कार्यक्रम पनि एकसाथ लैजाने श्रेष्ठले बताए। पोखरा महानगरका मेयर धनराज आचार्यले प्रतिवेदन बुझाउँदै सहकारी ठगीमा संलग्न कसैलाई उन्मुक्ति हुन नहुने र निर्दोषले न्याय पाउनुपर्ने बताए। मेयर आचार्यले छानबिन प्रतिवेदन कास्की प्रहरी प्रवक्ता डिएसपी वसन्तकुमार शर्मालाई हस्तान्तरण गरे। कास्की प्रहरी प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले प्रतिवेदन अध्ययन गरेपछि मात्र थप प्रक्रियाबारे भन्न सकिने बताए।

सहकारीको बचत खातामा १८ हजार सात सय जनाले कुल एक अर्ब ३५ करोड ५३ लाख ५४ हजार रूपैयाँ राखेको प्रतिवेदनमा उल्लेख छ। चार सय ३३ वटा खातामार्फत एक अर्ब ३१ करोड ५३ लाख ८२ हजार रूपैयाँ ऋण लगानी गरिएको छ। यसरी लगानी गरिएको अधिकांश ऋण जिबी राई संलग्न कम्पनी र गैर सदस्यका नाममा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।