वैशाख ८, कैलाली । जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ । कटैनी गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम सुरु भएको हो ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा नदी कटान नियन्त्रण तथा रोकथाम गर्न १७ करोड ६ लाख बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । गौरीगङ्गा नगरपालिकास्थित कटैनी नदीमा २८०, गौरीगङ्गा २३०, शिवगङ्गा १६५ र कैलालीको घुराहा नदीमा १५० गरी ८२५ मिटर तटबन्धका लागि तीन करोडको ठेक्का सम्झौता भएको छ ।
बर्दगोरिगा गाउँपालिकाको काँडानदीमा तटबन्ध निर्माणका लागि पाँच करोडको ठेक्का सम्झौता भई धमाधम काम भइरहेको डिभिजन प्रमुख अमरबहादुर पालले बताए । कान्द्रा नदीमा तटबन्ध निर्माणका लागि ९ करोडको ठेक्का सम्झौता भई काम सुरु भएको छ ।
घोडाघोडी नगरपालिका–१० कठैया, ११ मग्रहवा र १२ को अम्बारीमा एक किलो १६ मिटर तटबन्ध निर्माणका काम सुरु भएको डिभिजन प्रमुख पालले बताए।यसैगरी मोहन्याल गाउँपालिका–४ खिमडीस्थित ठूलीगाडमा ७५६ मिटर तटबन्ध निर्माणका लागि ४ करोडमा ठेक्का सम्झौता भएको छ ।
डिभिजन कार्यालयका प्रमुख पालले नौ महिना भित्र तटबन्धको काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको बताए ।