0 COMMENTS

वैशाख २, काठमाडौँ । वैदेशिक रोजगार विभागले आजदेखि संस्थागत श्रम स्वीकृति पूर्ण रूपमा अनलाइनबाट मात्रै जारी गर्ने भएको छ । श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय ताहाचलबाट संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै जारी गर्न लागिएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।

वैदेशिक रोजगार विभागले गत माघ २ गतेदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति प्रदान गर्दै आएको छ । सरकारले श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट उपलब्ध गराउँदै आएको छ । अनलाइनबाट व्यक्तिगत र संस्थागत श्रम स्वीकृति प्रदान गर्न थालिएसँगै वैदेशिक रोजगार कार्यालयमा हुने भिडभाड हटेको छ । कुनै समय हजारौँको उपस्थिति हुने कार्यालय आजकाल सुनसान हुन थालेको छ ।

रोजगार विभागले सूचना जारी गर्दै सम्बन्धित इजाजतपत्रवाला संस्था, सेवाग्राही र सरोकारवाला सबैलाई संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै हुने जानकारी गराएको छ । पहिलो आउने सेवाग्राहीलाई पहिलो सेवा दिने आधारमा अनलाइन निवेदनको फर्छ्योट गरिने भन्दै विभागले कम्तिमा तीनदिन अगाडि श्रम स्वीकृतिका लागि अनलाइनबाट निवेदन दिन आग्रह गरेको छ ।

गत फागुन महिना मात्रै ४८ हजार ७४३ पुरुष र चार हजार ७१४ महिला गरी ५३ हजार ४५७ जनाले विभागबाट श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमध्ये अधिकांश अदक्ष श्रमिक रहेका छन् । आठ उच्च सीपयुक्त, ६८ व्यावसायिक, चार हजार ९९६ अर्धदक्ष, २३ हजार ६६ दक्ष र २५ हजार ३१९ अदक्ष श्रमिकले श्रम स्वीकृति लिएका रोजगार विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।