0 COMMENTS

माघ २, काठमाडाैँ । नेपाल सरकारले २०७४ सालमा डन्डीबियोको साटो भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गर्दा मलाई खुसीले फुरुङ्ग बनाउन सकेन । बरु नरमाइलो लाग्यो डन्डीबियो र मेरो सम्बन्धलाई सम्झिएर । म डन्डीबियोको एक कुशल खेलाडी थिएँ । हामी फुर्सदका हरेक क्षणमा दुई/चारजना साथीहरू मिलेर डन्डीबियो खेल्थ्यौँ । २०३२ सालमा हामीले गाउँ पञ्चायतस्तरीय डन्डीबियो प्रतियोगिता आयोजना गरेको पनि मेरो मानसपटलमा ताजै छ र झन्डै सय जनाभन्दा बढी दर्शक प्रतियोगिता हेर्न झुम्मिएको दृश्य मेरो सम्झनामा चलिचित्रमा दृश्यहरू आएझैँ आइरहन्छन् ।

डन्डिबियो नेपालको पुरानो खेल हो । नेपालको डन्डीबियो, ब्रिटेनको टिपक्याट र भारतको गिलिडन्डा उस्तै–उस्तै खेलहरू हुन् । हाम्रो देशको हिमाल, पहाड, तराई सबैतिर प्रचलित खेल डन्डीबियोलाई पहिले राष्ट्रिय खेलका रूपमा चिनिन्थ्यो । डन्डीबियो नियमबद्ध खेल हो । डन्डीबियो खेलको आफ्नै नियम छन् । खेल हरेक टिममा एक–एकजना वा बढीमा दुई/दुईजनासम्म हुन्छन् । डन्डीबियो खेल्न लागि खेलाडीसँग काठको दुई फिट लामो एउटा डन्डी (लठ्ठी) हुन्छ भने छ इन्च लामो बियो हुन्छ । खेलको मैदानको लम्बाइ करिब/करिब ४० मिटर हुन्छ भने चौडाइ ५० मिटर जति हुन्छ । ठाउँ हेरी मैदान अण्डाकार वा आयाताकारको हुन्छ । खेल खेल्नका लागि मैदानको एकापट्टिको छेउमा करिब पाँच मिटर छोडेर बिचमा पर्नेगरी चार इन्च गहिरो ६ इन्च लामो खोल्सो बनाइन्छ ।

डन्डीबियो खेलमा एक पक्ष हुतेल्ने र अर्को पक्ष फर्काउने हुन्छ । हुतेल्नेले खोल्सोलाई चिर्ने गरी बियोलाई खोल्सोमा राख्दछन् । विपक्षी खेलाडी सामुन्ने करिब २०/२५ मिटर पर डन्डी लिएर उभिन्छन् । हुतेल्ने खेलाडीले खोल्सोमा राखेको बियोलाई डन्डीले हुतेलेर जतिसक्दो टाढा फयाँक्छ । विपक्षी खेलाडीले बियो भुइँमा नखस्दै डन्डीले नै हानेर फर्काउन सक्छ । त्यसरी फर्काउँदा बियोले खोल्सो काट्यो भने खेलाडी आउट हुन्छ । बियो भुइँमा खस्यो भने बियो हुतेल्ने खेलाडीले डन्डीलाई खोल्सोलाई चिरेर बिचमा राख्छ । विपक्षीले हुतेलेको बियोलाई टिपेर हुतेल्नेको डन्डीलाई टोल्न फ्याँक्छ । फ्याँक्दा बियो टोल्न सक्यो भने पनि हुतेल्ने खेलाडी आउट हुन्छ ।

बियो हानेर डन्डीलाई टोल्न नसकेपछि हुतेल्ने खेलाडी आउट हुँदैन । आउट नभएको खण्डमा उसले डन्डीले बियोलाई ट्याक लगाउन पाउँछ । ट्याक लगाउने भनेको डन्डीले बियोलाई एक, दुई, तीन गन्दै ठोक्दै माथि फाल्ने हो । ट्याक लगाउने कला नै यस खेलको सबैभन्दा महत्वपूर्ण र रमाइलो पक्ष हो । ट्याक लगाउन कलाले नै दर्शकहरूलाई रमाइलो दिन्छ र हुटिङ पनि हुन्छ । ट्याक जति धेरैपटक लगायो, त्यति फाइदा हुन्छ । एक, दुई, तीन, चार ट्याक लगाउँदै भुइँमा नखसाली बियोलाई डन्डीले हानेर जतिसक्यो, उति टाढा फलिन्छ । त्यसपछि बियो पुगेको ठाउँबाट डन्डीले नाप्दै खोल्सोसम्म पुगिन्छ । बियो र खोल्सोको दूरी नाप्दा जति डन्डी भयो, त्यसलाई ट्याक लगाएको मात्राले गुणन गरेर (दुरी गुणन ट्याक बराबर गुणनफल) अङ्क जोडिन्छ । जस्तै, ट्याक लगाउने खेलाडीले तीन ट्याक लगायो र १५ मिटर पर बियो फयाँकेछ भने ६० अङ्क जोडिन्छ । एकभन्दा बढी ट्याक लगाउन नसकेमा त्यो गणना हुँदैन भने ट्याक लगाउँदा एक ट्याक पनि लगाउन सकेन भने पनि खेलाडी आउट हुन्छ र विपक्षीको हुतेल्ने पालो आउँछ । डन्डीबियो खेलको समय १ घन्टाको हुन्छ । बराबर भएमा आधा घन्टा थपिन्छ । सबै खेलाडी आउट भएमा चाँडै पनि सकिन्छ, दुवै टोली पालैपालो खेल्छन् । अन्तिममा जसको अङ्क बढी भयो, उही खेलाडी वा टिमले जित्छ ।

हामी सानोमा गोठाला जाँदा लठ्ठी राम्रो बनाउने धुनमा तल्लीन हुन्थ्यौँ । तिनताका घर नगिचै बरन्डाभार जङ्गल थियो । हामी रूखको सलक्क परेको हाँगो वा सालको लुकुना खोज्दथ्यौँ र लठ्ठी काट्थ्यौँ । हातमा डन्डी र झोलामा जहिले पनि एउटा बियो हुन्थ्यो । खुर्पा पनि गोठाला जाँदाको अभिन्न साथी हो । खुर्पालाई खुर्पेटामा राख्थ्यौ । हिँड्दा खुर्पा र खुर्पेटाकोे आवाज सुन्न रमाइलो हुन्थ्यो । चउरभरि डन्डीबियो खेलिन्थ्यो । एकदिन हामी डन्डीबियो खेल्दै थियौँ । मैले हुतेलेको बियो विपक्षी साथीले लठ्ठीले जोडले फर्काउँदा त्यो बियो सोझै मेरो मुखमा लाग्यो । छरर्रर रगत आयो । हामी सबै डरायौँ । सबैले डन्डीबियोे खेल्दा हो नभन्ने भनेर सल्लाह गर्यौँ । साथीहरूले हतार–हतार मलाई घर लगे । घरबाट मलाई सोझै स्वास्थ्य क्लिनिकमा पुर्याइयो । डाक्टरले टिन्चर आयोडिन लगाउँदा चहराएको पीडा मलाई अझै छ । र, ओठमा चोटको चिनो पनि छ ।

आधुनिक खेलहरू भलिबल, फुटबल, क्रिकेट गोल्फ वा टेनिस समाजका आवश्यकता हुन् । तर, नेपालको खेल पहिचान भने होइनन् । नेपालमा उत्पत्ति भएको एउटा मात्र खेल डन्डीबियोे हो । डन्डीबियोे खेल राष्ट्रिय सम्पदा हो । सम्पदा राष्ट्रिय पहिचान हो । नेपालको प्राचीन खेल के हो ? भन्ने कुनै विदेशीको प्रश्नको उत्तरमा हामी डन्डीबियोे भनौँला । डन्डीबियोेको कथा सुनाउँदा निकै चाख मानेर सुन्ला पनि । ऊ फुर्सदिलो रहेछ भने खेल हेर्न पनि खोज्ला । तर, कहाँ लगेर देखाउने ? म्युजियममा । समाजमा अहिले कम्प्युटर र मोबाइलमा आउने गेमहरूको उपनिवेश खडा भइसकेको छ । केटाकेटी युवा, बुढा तीनै पुस्ता अन्य खेलहरूमा घन्टाैँ हराएका देखिन्छ; जुन खेल शारीरिक र मानसिक विकासका परम सत्रु पनि हुन्न । नेपाली युवाहरूले नाम सुनेका होलान् तर डन्डीबियोे खेलेको देखेका छैनन् होला । अब कतिपयलाई त खेल्ने नियम पनि जानकारी छैन होला । यही प्रवृत्ति हुर्कंदै गयो भने बिस्तारै डन्डीबियोे नेपालको इतिहासका किताबमा मात्र सीमित हुन पनि सक्छ । डन्डीबियोे लोप भयो भने नेपालीको पहिचान पनि हराएर जान्छ, खेल जगत्मा ।

किन आधुनिक र नेटवर्क गेमहरूसँग डन्डीबियोेलाई जोगाउन सकेनौँ ? किन आधुनिक खेलप्रति मात्र हाम्रो आकर्षण बढ्यो । एउटा गम्भीर प्रश्न सम्पदाप्रेमी, पर्यटनप्रेमी र खेलप्रमीलाई छ । र, सबैभन्दा ठूलो प्रश्न सरकारलाई छ । हामीले हाम्रो प्राचीन खेललाई बिर्सियौँ । जापानमा प्राचीन जुडो खेल कति रमाइलोसँग हेर्छन्, जापानीहरू । भारतले पनि कबड्डीको संरक्षण र विकास गरेको छ । सम्पदाको संरक्षण विकासको पहिचान हो । विकसित देशहरूले प्राचीन कथाका जोडेर राखेको हामीले भ्रमणमा जाँदा सुन्ने र हेर्ने गरेका छौँ । प्राचीन खेलको संरक्षणले देशको इतिहास र सँगै पहिचान पनि संरक्षण हुन्छ । पर्यटक आफ्नो देशमा नभएको नवीन गेम हेर्ने अवसर मिल्दा रमाउँछन् पनि । संरक्षणले युवापुस्तामा राष्ट्रप्रति माया गर्ने बानीको विकास गर्छ । यसकारण डन्डीबियोे खेलको संरक्षण गर्नुपर्छ र हामी सबै डन्डीबियोेको संरक्षणमा जुटनुपर्छ । देशमा खेलकुदको विकास गर्न राष्ट्रिय खेलकुद परिषद् छ । मन्त्रालय पनि छ । परिषद्ले खेल र खेलको इतिहास संरक्षणका लागि तत्कालै पहल गर्नुपर्छ ।

राष्ट्रिय खेलकुद परिषद्ले खेल संरक्षण गर्दा सर्वप्रथम प्राचीन खेलमा समय समयमा विकसित खेल खेल्ने नियम, खेल सामग्री, मैदान र खेलाडीको सङ्ख्या बुझ्नुपर्छ । साथै, खेल खेल्ने प्रक्रिया र खेलको निर्णय हुने प्रक्रिया पनि जान्नुपर्छ । खेलका विषयमा जानकारी सङ्कलनपछि आधुनिक परिवेशको हृदयङ्गम गर्दै खेलको नियम परिमार्जन गर्न उचित हुन्छ । डन्डीबियोेको संरक्षणमा सङ्घीय सरकार प्रदेश सरकार र स्थानीय सरकार सबैको बराबर जिम्मेवारी हुन्छ । तर, स्थानीय सरकार जनताको नगिच रहेर सेवा प्रवाह गर्ने सरकार भएकाले डन्डीबियोेको संरक्षणमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहन्छ ।

राष्ट्रिय खेलकुद परिषद्ले शिक्षा मन्त्रालय र स्थानीय तहहरूको समन्वयमा डन्डीबियोे पुनर्जागरण अभियान सञ्चालन गर्नुपर्छ । स्थानीय सरकारले स्थानीय स्कुल तथा समाजमा खेलका भिन्नभिन्न प्रतियोगिता सञ्चालन गरेर खेलप्रति युवाहरूलाई आकर्षित गर्नुपर्छ भने अध्ययन–अनुसन्धान गरी खेलमा रमाइला रमाइला पक्ष पनि समेटनुपर्छ । खेलका लागि आवश्यक बजेटको व्यवस्था गरी हरेक वर्ष वडा, स्कुल या पालिकस्तरमा खेलका विभिन्न टुर्नामेन्टहरू सञ्चालन गर्नुपर्छ भने सिल्ड र पदकको व्यवस्था पनि गर्नुपर्छ । विजेता टिमका लागि पुरस्कार र खेलाडीलाई सम्मान पनि राख्नुपर्छ । खेलकुद परिषद्को सक्रियता र सरकारका तीनै तहको सहयोगमा भोलिका दिनहरूमा गाउँसहरमा डन्डीबियोे खेल फस्टाउँदै जानुपर्छ भन्ने आशा खेलप्रेमीहरूमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।