0 COMMENTS

पछिल्ला केही दिनयता राजधानी काठमाडौँसहित देशैभर अत्यधिक चिसो बढेको छ । काठमाडौँमा वायु प्रदूषणसहित चिसो बढेको छ । तराईका जिल्लाहरूमा शीतलहर चलेको छ । जाजरकोटलगायतका हिमाली जिल्लाहरूमा चिसोसँगै भाइरल ज्वरोका बिरामी बढेका छन् । यस्तो अवस्थामा चिसोबाट कसरी घरेलु उपायहरू अपनाएर स्वस्थ रहन सकिन्छ त ? जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीका टिप्स यस्ता रहेका छन् :

१. झोलिलो पदार्थको सेवन अधिक मात्रामा गर्ने
२. न्यानो कपडा लगाउने
३. आगो ताप्ने
४. तेल मसाज गर्ने
५. बालबालिकालाई तेल मसाज गरिदिने
६. मर्निङ वाक नगर्ने
७. समस्या परेमा स्वास्थ्य जाँच गराउने

१. झोलिलो पदार्थको सेवन अधिक मात्रामा गर्ने : चिसोमा झोलिलो पदार्थमा जोड दिनुपर्छ । तातो पानी, बेसार पानी, दुध, कालो चिया, कागती चिया, कफि तथा केही मात्रामा दुध चिया पनि खान सकिन्छ । लगातार तातो पानी पिउने तथा वाफ लिने गर्न सकेमा चिसोबाट केही मात्रामा सुरक्षित हुन सकिन्छ ।

२. न्यानो कपडा लगाउने : बालबालिका, वृद्धवृद्धा तथा सबै उमेर समूहको व्यक्तिले चिसोमा न्यानो कपडामा जोड दिनुपर्छ । एकछिन् चिसो सहन सकिन्छ भनेर पातलो कपडा प्रयोग गर्दा यसले दीर्घकालीनरूपमा असर गर्न सक्छ । यसर्थ, न्यानो कपडा तथा टोपी निरन्तर प्रयोग गर्नुपर्छ । बालबालिकालाई उनको टोपी लगाईँदा त्यसभित्र सुतीको टोपी प्रयोग गरिदिनुपर्छ । त्यसो गर्दा उनले बिजाउने र चिलाउने कम हुन्छ ।

३. आगो ताप्ने : आगो ताप्दा पनि चिसोको असर कम हुन्छ । दाउरा उपलब्ध हुन सक्ने ठाउँमा बस्ने व्यक्तिहरूले न्यानो कपडा लगाउनुका साथै आगो ताप्दा स्वास्थ्य सहजै बिग्रिन सक्दैन ।

४. तेल मसाज : चिसो समयमा शरीरका विभिन्न भागहरू दुख्ने, झमझमाउनेजस्ता समस्याहरू हुन सक्छन् । तोरीको तेल मनतातो बनाएर मसाज गर्दा यसले केही हदसम्म दुखाई कम गर्छ । सकेसम्म न्यानो ठाउँमा बसेर तेल मसाज गर्दा चिसोको असर कम हुन्छ ।

५. बालबालिकालाई तेल मसाज : चिसो समयमा बालबालिकाको हेरचाह सबैभन्दा महत्वपूर्ण कुरा हो । चिसोले गर्दा बालबालिकालाई निमोनियालगायतका रोगहरू देखा पर्न सक्छन् । त्यसलाई कम गर्न तेल मसाज महत्वपूर्ण उपाय बन्न सक्छ । साथै, बालबालिकालाई न्यानो कपडा उत्तिकै महत्वपूर्ण हुन्छ । तर धेरै न्यानो कपडाले पसिना आउने र त्यसलाई सफा नगर्दा फेरि पनि निमोनियाको डर हुने भएकाले घाम लाग्दै जाँदा शरीरमा भएका न्यानो कपडाहरूको सङ्ख्या घटाउने तथा बेला–बेलामा कपडा खोलेर पसिना आएको नआएको हेर्ने काम गर्नुपर्दछ । पसिना आएमा कपडा फेरिदिनुपर्छ ।

६. मर्निङ वाक नगर्ने : खासगरी काठमाडौँमा मर्निङवाक गर्नेहरू सचेत हुनुपर्छ । यहाँको वातावरण निकै प्रदूषित भएकाले चिसो समयमा मर्निङवाक गर्दा यसको नकारात्मक असरले विभिन्न प्रकारका रोगहरू लाग्न सक्ने सम्भावना रहन्छन् । यसका कारण बिहानको समयमा दौडिँदा ध्यान दिनुपर्ने अवस्था रहेको छ ।

७. स्वास्थ्य जाँच : चिसोबाट घरेलुरूपमा बच्ने कोसिस गर्दा उपलब्धि नभएमा, रुघासँगै ज्वरो तथा टाउको दुख्ने समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ ।

प्रस्तुति : रविन्द्र सुवेदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।