0 COMMENTS

पुस २३, काठमाडौँ । आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमा हुने निर्वाचनका लागि आज उम्मेदवारहरूले मनोनयन दर्ता गर्दैछन् । देशका सातवटै प्रदेशमा खडा गरिएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार पुस २४ गते उम्मेदवारविरुद्ध दाबी, विरोध तथा उजुरी गर्न सकिने छ । यस्तै  २५ र २६ गते उजुरी, दाबी, विरोधमा जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ । पुस २७ गते उम्मेदवारी फिर्ता लिन चाहनेका लागि समय तोकिएको छ भने सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । राष्ट्रियसभा निर्वाचनको मतदानका लागि सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुईवटा मतदान केन्द्र कायम गरिएको छ ।

माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल हरेक २ वर्षमा सकिन्छ भने कार्यकाल छ वर्षको हुन्छ । अहिले २० जना राष्ट्रिय सभा सदस्यको कार्यकाल फागुन २० मा सकिँदैछ । राष्ट्रिय सभामा पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै चुनाव गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।