0 COMMENTS

पुस १७, काठमाडौँ । रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयलले रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । योसँगै रुसी सेनामा भर्ना भई मृत्यु हुनेको संख्या १० पुगेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार मृत्यु हुनेमा धादिङका राजकुमार गिरी, स्याङ्जाका हरिप्रसाद अर्याल र कैलालीका भरतबहादुर शाह रहेका छन् । उनीहरूको रुस-युक्रेन युद्धको क्रममा मृत्यु भएको परराष्ट्र मन्त्रालयको भनाइ छ । 

यसअघि रुसी सेनामा कार्यरत ७ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा कुन्दन सिंह नागल, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कस्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेका थिए । 

सरकारले ज्यान गुमएका नेपालीहरूको शव पठाइदिन रुसी सरकासँग आग्रह गरेको छ । मन्त्रालयले यसअघि नै नेपालका लागि रुसका राजदूतमार्फत् रुसी सेनामा भर्ना भई निधन भएका नेपालीहरूको शव यथाशीघ्र नेपाल पठाउन र घाइतेलगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको थियो। प्रवक्ता राईले सरकारले पुनः नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल फर्काउन आग्रह गरेको बताए ।

त्यस्तै चार जना नेपाली युक्रेनमा बन्दी बनाइएका छन् । बन्दी बनाइनेमा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पनेरु रहेका छन् । उनीहरूको पनि रिहाइका लागि पनि युक्रेनसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।