0 COMMENTS

पुस ११, काठमाडौँ । आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने घोषणा गरेको दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो । यस वर्ष ‘ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान’ भन्ने राष्ट्रिय मूल नारा तय गरिएको छ ।

दिवसको अवसरमा आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विशेष कार्यक्रम गर्दैछ । मन्त्रालयले जेष्ठनागरिकका पक्षमा काम गर्ने व्यक्ति र संस्थालाई सम्मान  एवं पुरस्कार वितरण गर्न लागेको छ । राष्ट्रिय ज्येष्ठ नागरिक कोषको पहलमा २०७८ सालदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा यसवर्ष ज्येष्ठ नागरिकका पक्षमा उल्लेखनीय कार्य गरेको भन्दै व्यक्तितर्फ नेपाली साहित्यमा चट्याङ मास्टरका नामले परिचित कृष्ण मुरारी गौतमलाई ‘ज्येष्ठ नागरिक वर्ष पुरुष’ घोषणा गरी नगद एक लाखसहित सम्मान गर्दैछ । यस्तै, संस्थातर्फ महिला तथा वृद्ध सेवा केन्द्र, कञ्चनपुरलाई सम्मान गर्न लागिएको छ ।

सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक गाडीमा आरक्षण, भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्नेलगायतका सहुलियत र सुविधाको व्यवस्था गरेको छ । तर सेवासुविधाको प्रभावकारी कार्यान्वयन हुन नसकेको ज्येष्ठ नागरिकको गुनासो छ ।

नेपालमा कुल जनसङ्ख्याको नौ प्रतिशत ज्येष्ठ नागरिक छन् । हरेक वर्ष साढे तीन प्रतिशतका दरले ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै जाने गरेको एजिङ नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।