0 COMMENTS

मङ्सिर १७, काठमाडौँ । आज बत्तीसौँ विश्व अपाङ्गता दिवस नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नारा तय गरिएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्याक्तिहरुलाई उनीहरूको हक अधिकारको सुनिश्चितता गर्न, जनमानसमा चेतना फैलाउन, उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभर उठाउन अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूले गरेका सकारात्मक र उपलब्धिमूलक कथाहरूलाई पनि आज विश्व समुदायले विभिन्न माध्यम मार्फत अवलोकन र श्रवण गर्ने गर्दछन् भने अर्कोतर्फ अपाङ्गमैत्री समाज अनि संरचनाका लागि पैरवी पनि गरिन्छ ।

हरेक सरकार अनि सङ्गठनहरूले अपाङ्गता भएकाहरूलाई प्राथमिकतामा राख्ने अनि समान वातावरण दिने प्रतिबद्धता राखेका हुन्छन् र आज त्यो वाचा गरेका कुराहरू उपलब्धिका रूपमा कति प्राप्त भए वा भएनन् भन्ने याद दिलाउने दिन पनि हो । अपाङ्गता भएको जनसङ्ख्यालाई साथै लिएर हिँड्न नसक्ने हो भने संसारले दिगो र फराकिलो विकास पाउन सक्दैन ।

कति छन् नेपालमा अपाङ्गता भएका व्यक्ति

नेपालमा अपाङ्गता भएका व्यक्तिको अनुपात कुल जनसंख्याको २.२ प्रतिशत रहेको पाइएको छ । यो अघिल्लो जनगणनाभन्दा बढेको हो । विगत एक दशकमा अपाङ्गता भएका व्यक्तिको संख्या १ लाख ३४ हजारले वृद्धि भएको दुई जनगणनाको तथ्यांकले देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार कुल जनसंख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता देखिएको छ ।

जनगणना २०६८ अनुसार कुल जनसंख्याको १.९४ प्रतिशत अर्थात् ५ लाख १३ हजार ३ सय २१ जनामा अपाङ्गता भएको उल्लेख थियो ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार पुरुष जनसंख्याको २.५ प्रतिशतमा र महिला जनसंख्याको २.० प्रतिशतमा अपाङ्गता रहेको छ । अपाङ्गता भएका व्यक्ति मध्ये पुरुष ५४.२ प्रतिशत र महिला ४५.८ प्रतिशत रहेको छ ।

संख्यात्मक रुपमा देशभरि ६ लाख ४७ हजार ७४४ जना अपाङ्गता भएका व्यक्ति रहेकोमा ३ लाख ५१ हजार ३०१ पुरुषहरू र २ लाख ९६ हजार ४४३ जना महिलाहरूमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । अपाङ्गता भएका व्यक्तिमध्ये सबै भन्दा धेरैमा शारीरिक अपाङ्गता ३७.१ प्रतिशत रहेको छ भने १७.१ प्रतिशतमा न्यूनदृष्टियुक्त अपाङ्गता, ८.९ प्रतिशतमा बहुअपाङ्गता, ८.० प्रतिशतमा सुस्तश्रवण,६.४ प्रतिशतमा स्वर बोलाइसम्बन्धी अपाङ्गता रहेको छ ।

अपाङ्गताका विषयमा भइरहेका पैरवीहरू

समावेशी र समान समाजको परिकल्पना नै आजको आवश्यकता हो । नेपाल सरकार लगायत विभिन्न सरकारी र गैर सरकारी संस्थाहरूले अपाङ्गता कालागि धेरै परियोजना कानुनतः पैरवीहरू गरिरहेका छन् । अपाङ्गता विभिन्न किसिमको हुन्छ र हरेक प्रकारका अपाङ्गता कालागि विशेष प्रविधि र व्यवस्था जरुरी हुन्छ, सबैको ध्यान यसतर्फ पुग्न जरुरी छ ।

प्रत्येक विद्यालयहरूमा सहज अपाङ्गमैत्री शिक्षा जस्तैः ब्रेल लिपी अनि साङ्केतिक भाषामा शिक्षाको व्यवस्था, सहज आवत–जावत गर्न अपाङ्गमैत्री संरचना जरुरी छ । अपाङ्गता भएका व्यक्तिहरूमा राज्यले गरेका लगानी पक्कै खेर जाँदैन किनकि सक्षम नागरिक उत्पादन गर्न सके वहाँहरूको सेवा र क्षमताले राज्यको विकासमा नै थप टेवा पुग्नेछ ।

आफ्नो जीवनयापनका लागि अर्काको भर पर्न नपरेमा मात्र आत्म स्वाभिमान अनि समानताको भावना पलाउँदछ, सरकार, अन्तर्राष्ट्रिय समुदाय र गैरसरकारी संस्थाहरूको पनि अपाङ्गता भएका साथीहरूको जीवनयापन सीप र आम्दानीको सृजना गर्नेतर्फ ध्यान दिएको पाइन्छ, जुन अत्यन्त राम्रो विषय हो ।

सीपमूलक व्यवसाय गरेर जीवनयापन गर्न सक्षम बनाउँदै शिक्षाको न्यानो उज्यालोबाट अपाङ्गता भएकै कारणले छुट्न नपरोस्, समाजमा समान व्यवहार पाइयोस् अनि सहज स्वास्थ्योपचार व्यवस्थित होस् । अपाङ्गता सोचले सीमित नहोस् अनि यसमा सबै साथीहरूको साथ, सहयोग अनि प्रतिबद्धता रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।