0 COMMENTS

मङ्सिर १४, काठमाडौँ । नेकपा एमालेले ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर पश्चिम झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्मको १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्गमा गर्न लागेको पदयात्रा आजबाट सुरु हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राको केन्द्रबिन्दु बैतडीको झुलाघाटमा आज सो यात्राको उद्घाटन गर्न लागेका हुन् ।

एमालेले सुदूर-पश्चिम खण्डमा झुलाघाटदेखि वनखेतसम्मको ३५८ किलोमिटर यात्राका बीचमा डडेलधुरा, डोटी, अछामको साँफेबगर र मंगलसेनमा विभिन्न कार्यक्रम गर्ने बताएको छ । संकल्प यात्राले देशको पहाडि क्षेत्रको अधिकांश भू-भाग ओगटेको मध्यपहाडी क्षेत्रमा पर्ने राजमार्गको सुरुवाती बिन्दु झुलाघाट नै भएकाले आर्थिक, सामाजिक थुप्रै सम्भावनालाई पहिल्याउँदै समृद्धिको विगुल फुकिने एमालेको दाबी छ । १९ दिनसम्म सञ्चालन हुने उक्त पदयात्राका क्रममा बाटोमा पर्ने ठाउँको विकास सम्भावना र समृद्धिबारे पनि छलफल बहस र अध्ययन हुने एमालेले जनाएको छ ।

जलस्रोतको भण्डार, जैविक विविधताको खानी तथा बढी जनसंख्या बसोबास रहेको मध्यपहाडी क्षेत्र नै समृद्धिको बलियो आधार रहेकाले एमालेले संकल्प यात्रा पहाड केन्द्रित गरेको जनाएको छ । पुष्पलाल अर्थात् मध्यपहाडी लोकमार्गका परिकल्पनाकार आफ्नै पार्टी भएको तथा लोकमार्गसँग देशेको आर्थिक, सामाजिक, सांस्कृतिक महत्व झल्किने भएकाले राजनीतिक दृष्टिले पनि सम्बन्ध स्थानीय र सन्देश राष्ट्रिय दिनेगरी सो कार्यक्रम गर्ने एमालेले जनाएको छ ।

कार्यक्रममा एमालेका शिर्षस्थ नेताहरु, केन्द्रीय तथा पोलिटब्युरो सदस्यलगायत एमाले नेताकार्यकर्ता सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।