0 COMMENTS

कमरेड सुदर्शन तपाई दोस्रो चरणको पुनः निर्माण अभियानको नेतृत्व गरेर १७ कार्तिक २०८० को भूकम्प प्रभावित क्षेत्रहरु खासगरी जाजरकोट र पश्चिम रुकुम आउनु भएको छ । यहाँको स्थिति कस्तो पाउनु भयो ? जनताको स्थिति कस्तो पाउनु भयो ?

हो, हामी मंसीर १० गते भूकम्प पीडित क्षेत्र जाजरकोट र रुकुम (पश्चिम) मा आइपुगेका छौं । यहाँको स्थितिमाथि विचार गर्दा : क) जाजरकोटका भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र छेडागाड नगरपालिका तथा रुकुम (पश्चिम) का सानीभेरी गाउँपालिका र आठबीसकोट नगरपालिकामा घरहरू भग्नावशेष बनेका छन्, करीब १५४ जना आफन्तहरुको शोकमा जनता डुबेका छन र चिसोका कारण थप मानिसहरूको मृत्यु भएको छ र यसको जोखिम बढेर गएको छ ; ख) विभिन्न राजनीतिक दलहरु, संघ संस्था र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल समेत जनताको सेवाका लागि गाउँमा र नगरहरुमा पुगेका छन्, संसदीय राजनीतिक दलहरू आ-आफ्नो मतलाई संचित तथा वृद्धि गर्न, सरकारी तथा गैर सरकारी संघ-संस्थाहरू आ-आफ्नो शोषणलाई थप वृद्धि गर्न तथा कतिपय राम्रो उद्दे‌श्यले पनि र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल लगायत वामपन्थी, देशभक्त, जनवादी र क्रान्तिकारीहरु समग्र राजनीतिक व्यवस्था, सामाजिक शोषण तथा दमन र प्राकृतिक प्रकोपबाट समेत मुक्तिको अभियानमा लामबद्ध बनाउने र तत्कालीन विपत्तिबाट राहतका लागि जनताका बीचमा पुगेको बुझियो; ग) यो भूकम्पले विद्यालय तथा महाविद्यालयको पढाईमा समेत व्यवधान खडा गरेको छ ।

यस प्रकारको स्थितिमा तपाईहरु कसरी काम गर्दै हुन्हुन्छ ? यो प्रक्रिया कहिलेसम्म जारी रहन्छ ?

यसप्रकारको स्थितिमा हामीले हाम्रो पार्टीको जनशक्तिलाई परिचालन गरी भूकम्प प्रभावित इलाका बाहिरका जनताहरू (उद्योगपति, व्यापारी, कर्मचारी) बाट सक्दो राहत संकलन गरी भूकम्प पीडितहरुलाई केही राहत प्रदान गर्न कोशिस गरिरहेका छौं । अहिले हाम्रो पार्टीबाट कार्यालय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक दिनेश शर्माले रुकुम (पश्चिम) र कार्यालय सदस्य क. दिपकले जाजरकोटको उद्दार, राहत तथा पुनः निर्माण अभियानको नेतृत्व गर्नुभएको छ । जस अनुसार रुकुम (पश्चिम) को सानीभेरी-१ मा क. दिनेश शर्मा, सानीभेरी -४ मा सचिवालय सदस्य क. आकाश तथा जाजरकोटको नलगाड नगरपालिकामा प्रेम चलाउने क. अनन्त र बारेकोट गाउँपालिकामा विद्यार्थी संगठनका अध्यक्ष मिलन राईको नेतृत्वको टोलि खटिएको छ । यो प्रक्रियालाई हामीले बीचमा समीक्षा गरी तोश्रो चरणसम्म पुर्‍याउने विचार गरेका छौं ।

कमरेड यसप्रकारका भूकम्पहरु गैरहेका छन्  । २०७२ सालको भूकम्प पछि देशका विभिन्न भागमा साना ठूला भूकम्पहरु गैरहेका छन् । रामिडाँडा-जाजरकोट त्यसको पछिल्लो स्थिति हो । यसप्रकारको चुनौतीसँग जुध्ने सहि विधि वा तरिकाहरु के हुन् ?

भूकम्प पृथ्वीको आन्तरिक अन्तरविरोध र सन्तुलनको परिणाम हो । आन्तरिक अन्तरविरोध र सन्तुलनमा मानवीय हस्तक्षेपले अस्वभाविक अन्तरविरोधका साथै ध्वंसकारी रुप लिन सक्छ । यदि मानिसले प्रकृतिमाथि अत्याचार मच्चाउँछ भने प्रकृतिले पनि मानव जातिलाई ठूलो सजाय दिन्छ । त्यसकारण यदि मानव जाति आफू सही सलामत रहन चाहन्छ भने उसले प्रकृतिसँग सन्तुलनकारी सम्बन्ध कायम राख्नुपर्दछ ।

हाम्रो देश थोरै तराई बाहेक व्यापक पहाड र हिमालले बनेको छ । यस्तो अवस्थामा भूकम्प जस्तो प्राकृतिक प्रकोपबाट बच्न भौगोलिक अवस्थाको जांच गरी योग्य स्थानमा वस्ती स्थानान्तरण गर्नुपर्दछ । दोश्रो कुरा, पुराना संरचनाहरु प्रतिस्थापन गरी भूकम्प प्रतिरोधी घरहरु बनाउन आवश्यक छ । तेश्रो कुरा प्रकृतिको संरक्षण र विकास गर्न आवश्यक छ ।

कमरेड यहाँका जनताहरु एउटा युगान्तकारी परिवर्तनको नेतृत्व गर्ने महान जनताहरु पनि हुन । तर यहाँ अहिले एउटा निराशा हुर्कदै गरेको स्थिति रहेछ । युवा, विद्यार्थी पुस्ता त्यो ऐतिहासिक प्रक्रियाबाट टुट्दै गैरहेको स्थिति रहेछ । यो समस्या जनताको तहको हो वा पार्टी ?

हो, यहाँका जनताहरूले वि.सं. २०५२ फागुन १ देखि २०६३ सम्मको ऐतिहासिक जनयुद्धमा नेतृत्व गरेका थिए । जाजरकोट, रुकुम र रोल्पाका जनताहरु त्यो क्रान्तिको अग्रपंक्तिमा थिए ।
जहाँसम्म यहाँ आज निराशा हुर्कदो छ भन्ने प्रश्न छ यो क्षणिक, अस्थायी र सापेक्ष कुरा मात्र हो । खास कुरा त के हो भने नेतृत्वको गद्दारीले र विचारमा विकास हुन नसक्नुले यो स्थिति पैदा भए पनि आजको क्रान्ति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको नेतृत्वमा जारी छ । यसको मात्रा बढ्दै जानेछ र गुणात्मक फड्को हान्ने छ । यो प्रक्रियाले पुनः युवा र विद्यार्थीहरुलाई क्रान्तिमा तान्ने छ र क्रान्ति सफल हुनेछ ।

क्रान्तिको प्रक्रियाले जसरी धक्का खाएको छ, त्यसरी नै केही हदसम्म यसले जनतामा निराशा ल्याउनु स्वाभाविक हो । यो समस्या जनताको होइन, अग्रगमनको नेतृत्व गर्ने अग्रदस्ताको हो । यसबाट हाम्रो पार्टीले के शिक्षा लिएको छ भने क्रान्तिको नेतृत्त्वप्रति पार्टी-पंक्ति र जनसमुदाय सचेत तथा सतर्क रहनुपर्दछ ।

अबको क्रान्ति त्यो कसरी अघि बढ्छ ? त्यसले कसरी नयाँ सामाजिक भूकम्प सृष्टि गर्ने प्रक्रियामा स्वयंलाई प्रमाणित गर्छ ?

अबको क्रान्ति इतिहासको शिक्षा, वर्तमान परिस्थितिको ठोस विश्लेषण र वैज्ञानिक समाजवाद तथा साम्यवादप्रतिको बलियो निष्ठासहित अघि बढ्दछ । हामी जनसमुदायलाई जनसंघर्ष र जनप्रतिरोधमा खार्दै जनविद्रोहको भूकम्पमा पुर्‍याउने छौं जसले पुरानो राज्यसत्ता, विचारधारा, रीतिरिवाज, संस्कृतिको ध्वंश गरी नयाँ राज्यसत्ता, विचारधारा, रीतिरिवाज र संस्कृतिको निर्माण गर्नेछ । तर अबको क्रान्तिमा आजको प्रतिक्रान्तिकारी तानाबाना ढाल्न विज्ञान र प्रविधिको विकासलाई जनशक्तिमा जोड्न आवश्यक छ ।

प्रस्तुति : वसन्त बाेगटी, जाजरकोट (भुकम्प प्रभावित क्षेत्र)

स्रोत मूलबाटाे डटकम 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।