0 COMMENTS

मङ्सिर १०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले विपद्को बेला पार्टी जनताको बीचमा हुनुपर्ने बताउनु भएको छ । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित बनेका जनताको उद्दार, राहत र पुननिर्माणमा १ करोड बराबरको राहत सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रमा जान लागेको टोलीलाई विदाइ गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले भुकम्प लगत्तैदेखि पीडित जनताको उद्दार, राहत र पुननिर्माणको कार्यमा खटिइरहेका नेता कार्यकर्ताहरुलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

अध्यक्ष किरणले भन्नुभयो, “यतिबेला जाजरकोट र रुकुम पश्चिमका जनता भूकम्पीय विपद्मा हुनुहुन्छ । विपद्को बेला हाम्रो पार्टी जनताको बीचमा हुनुपर्छ । र, सकेको सबैखाले सहयोग गर्नुपर्छ । पार्टीका साथीहरु सुरुदेखि नै उद्दार, राहत र पुननिर्माण कार्यमा जुटिरहनु भएको छ । उहाँहरुलाई धन्यवाद छ । राहत संकलन गर्न र वितरण कार्यमा खटिरहनु भएका साथीहरुलाई पनि धन्यवाद छ ।”

शनिबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ३ नं. प्रदेश, पार्टीको मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र राष्ट्रिय उद्योग व्यापार महासंघले संकलन गरेको राहत सामग्री वितरणका लागि पार्टीका कार्यालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शन, अर्का कार्यालय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष दिनेश शर्मा सागरलाई पार्टीको झण्डा हस्तान्तरण गरेर अध्यक्ष किरणले उहाँहरुलाई विदाई गर्नुभएको थियो ।

शुक्रबार राष्ट्रिय उद्योग तथा व्यापार महासंघले संकलन गरेको ६० लाख बराबरको राहत सामग्री पार्टीका बरिष्ठ कार्यालय सदस्य सीपी गजुरेललाई महासंघका अध्यक्ष जितेन्द्र दाहालले हस्तान्तरण गर्नुभएको थियो ।

काठमाडौं उपत्यकामा संकलित राहत सामग्री लिएर कार्यालय सदस्यद्वय सुदर्शन र सागर नेतृत्वको टोली जाजरकोट प्रस्थान गरिसकेको छ । त्यसैगरी अखिल (क्रान्तिकारी) ले संकलन गरेको राहत सामग्री वितरणका लागि अध्यक्ष मिलन राईको टोली जाजरकोट प्रस्थान गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको हालै सम्पन्न कार्यालयको बैठकले कात्तिक १७ गते राती जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाई गएको भूकम्पमा परी ठुलो जनधनको क्षति भोगिरहेका जाजरकोट र रुकुम पश्चिमका जनताको राहत र उद्धारका लागि पहिलो चरणमा १०० जनाको स्वयमसेवक जनशक्ति पठाउने निर्णय गरिएको छ । तदनुसार प्रदेश नं. १ बाट ५ जना, २ बाट ७ जना, ३ बाट १० जना, ४ बाट १० जना, ५ बाट १५ जना, ६ बाट १५ जना तथा ७ बाट १० जना र मजदुर मोर्चाबाट १० जना तथा विद्यार्थी मोर्चाबाट १० जनालाई मङ्सिर १० गतेसम्म सो ठाउँमा पठाउने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।