0 COMMENTS

मङ्सिर ३, काठमाडौँ । आज छठ पर्वको मुख्य दिन, देशभर सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।

छठ पर्वका व्रर्तालु हिजोदेखि रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । काठमाडौँको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

छठको दोस्रो दिन शनिबार खरना विधि सम्पन्न भएको छ । चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन बर्तालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गरेका हुन् । व्रर्तालुले माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलबाट बनेको खीर खरनामा नैवेदको रुपमा चढाउनुपर्ने हुन्छ ।

खरनामा छठपर्वको मुख्य दिन चढाउने अघ्र्य जति स्थानमा केराको पातमाथि नैवेद चढाउनुपर्ने हुन्छ । खरनामा नैवेदमा खीर, दूध, केरा, मूला, अदुवा, पान र सुपारी राखिन्छ । नैवेदलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ । नैवेदलाई उत्सर्ग गरिसकेपछि बर्तालु र परिवारजनले प्रसाद ग्रहण गर्ने गर्छन् । यसरी खरना विधि सम्पन्न हुन्छ ।

बिहानदेखि उपवास बसी खरना विधि गरेर भगवानलाई चढाइएको खिर खाएपछि अब एकपल्ट चौथो दिन उदयमान सूर्यको पूजा गरी अर्घ्य दिएपछि मात्र भोजन गर्नुपर्ने हुन्छ । यस अवधिमा व्रर्तालु पानी खाँदैनन् ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यो पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासना गर्ने गरिन्छ । यस पर्वको पहिलो दिन नुहाएर चोखो भइ खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदै गरेको र चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि विधिपूर्वक पर्व समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।