0 COMMENTS

मङ्सिर १, काठमाडौँ । टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयले आश्चर्यमा परेको भन्दै टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई सात बुँदे पत्र पठाएको छ । नेपाल सरकारले चिनियाँ सामाजिक सञ्‍जाल टिकटकमा प्रतिबन्ध लगाएपछि टिकटकले असन्तुष्टि व्यक्त गर्दै ७ बुँदे पत्र पठाएको हो । नेपालका सरकारी निकायहरूसँग भएका समझदारीबारे उल्लेख गर्दै टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई एउटा पत्र पठाएको छ । टिकटकले नेपालका सरकारी निकायहरूसँग भएका समझदारी तथा नेपालमा भएका छलफलहरूबारे सातवटा बुँदामा स्मरण गराएको छ । सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएकै दिन गत सोमबार उसले उक्त पत्र प्राधिकरणलाई पठाइएको पाइएको छ ।

सरकारले गत सोमबार सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको भन्दै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै प्राधिकरणले नेपालका इन्टरनेट सेवाप्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार अहिले नेपालमा टिकटक नचल्ने भएको छ । टिकटकले नेपालको दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै उक्त प्लेटफर्मलाई बन्द गर्ने सरकारको निर्णयबाट आफू ‘चकित परेको’ जनाएको छ । उसले टिकटकमाथिको प्रतिबन्धले (नेपाली युवाहरूलाई आर्थिक हानी) गर्ने स्मरण गराएको छ ।

प्रयोगकर्ताको सुरक्षा टिकटकको सबैभन्दा महत्त्वपूर्ण प्राथमिकता भएको बताउँदै नेपालमा भएका र नेपालका सरकारी निकायसँग गरिएका समझदारीहरूको स्मरण गराउने सातवटा बुँदा पनि उल्लेख गरेको छ । टिकटक नेपालमा संयुक्त रूपमा इन्टरनेट सुरक्षा सचेतना अभियान सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग एउटा समझदारी गरेको पनि उल्लेख गरेको छ । त्यस्तै यसै वर्षको गत जुन ७ मा नेपाल सरकारका लागि स्थानीय कानुनको उल्लंघन भएको कुनै पनि सामग्रीबारे रिपोर्ट गर्न सकोस् भनेर ट्रस्ट एन्ड सेफ्टी इन्फोर्समेन्ट टुल (टीएईटी) को पहुँच दिएको पनि उल्लेख गरेको छ ।

टिकटकले गत अगस्ट २९ मा आफू नेपालमा डिजिटल सेवा करदाताको रूपमा दर्ता पनि भएको स्मरण गराएको छ । त्यस्तै सन् २०२२ को अक्टोबरदेखि गत जुनसम्ममा टिकटकको ‘कम्युनिटी गाइडलाइनहरू’ उल्लंघन गरेका २९ लाख ८० हजार भिडिओहरू नेपालमा आफ्नो प्लेटफर्मबाट हटाएको जनाएको छ । टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय ‘आफूसँग’ नेपाल सरकारले निरन्तर संलग्न भएर काम गर्ने भनी गरेको सहकार्यको प्रस्ताव विपरीतको भएको पनि पत्रमा उल्लेख गरेको छ । यद्यपि टिकटक आफू नेपाल सरकारसँग निरन्तर सहकार्य गर्न र आवश्यक प्रावधानहरू गरेर काम गर्न तत्पर रहेको बताएको छ ।

टिकटकमाथिको प्रतिबन्ध वाक् र अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तसँग मेल नखाने खालको भएको पनि टिकटकले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्ना असहमतिहरू व्यक्त गर्दै टिकटकले पत्र पठाएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।