0 COMMENTS

कात्तिक ३०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकी केन्द्रीय सल्लाहकार महालक्ष्मी श्रेष्ठको निधन भएको छ । उहाँको उपचारको क्रममा ८२ बर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्तपतालमा बुधबार राती ११ः३० मा निधन भएको अस्पतालले जनाएको छ । उहाँको आज विहान पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्यष्टी गरिएको छ ।

उहाँको पार्थिव शरीरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरण र नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले पार्टीको हसियाँ हथौडा झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । पशुपति आर्यघाटमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै अध्यक्ष किरणले कमरेड महालक्ष्मी श्रेष्ठको निधनबाट पार्टी र क्रान्तिमा अपुरणीय क्षति पुगेको बताउनुभयो । नेपाली कम्युनिस्ट आन्दोलनमा उहाँले पुर्याउनु भएको योगदान र उहाँको जीवन र कर्मबाट शिक्षा लिदै पार्टी अगाडि बढ्ने बताउनु भयो । र, उहाँले शोक सन्तप्त परिवारजनामा गहिरो समवेदना प्रकट गर्नुभयो ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले पनि पार्थिव शरीरमा माल्यार्पणसहित श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । उहाँले संक्षिप्त रुपमा कमरेड महालक्ष्मी श्रेष्ठले नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्याउनु भएको योगदानको विषयमा चर्चा गर्नुभएको थियो ।

श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन तथा कमरेड महालक्ष्मी श्रेष्ठको संक्षिप्त राजनीतिक जीवनी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सचिवालय सदस्य प्रा.डा. जगदीशचन्द्र भण्डारीले गर्नुभएको थियो । अन्तिम श्रद्धाञ्जलीका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्यहरु सुदर्शन, सागर, अटल लगायतका नेताहरुको उल्लेख्य उपस्थिति रहेको थियो भने नेकपा (माओवादी केन्द्र) का नेताहरु हितमान श्रेष्ठ, भिष्म, दिवाकर लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो । 

उहाँका एक छोरा–बुहारी र तीन छोरी–ज्वाइँ र नाति नातिनीहरु रहेका छन् । १९९९ वैशाख १ वीरगञ्ज, पर्सामा जन्मनु भएकी महालक्ष्मी श्रेष्ठको नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताका अग्रज नेता कमरेड कृष्णदास श्रेष्ठसँग विवाह भएको थियो । कमरेड कृष्णदास श्रेष्ठसँग वैवाहिक जीवन सुरु गरेदेखि नै उहाँले प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेपाली कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याउनु भयो । उहाँले जेनी माक्र्सको जीवनी नेपाली भाषामा अनुवाद गर्नुभयो । नेकपा (मालेमा) को केन्द्रीय सदस्य हुँदै नेकपा (एमाओवादी) को केन्द्रीय सल्लाहकार, नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार र हाल क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय सल्लाहकारको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

उहाँ २०६४ सालमा समानुपातिक तर्फबाट संविधानसभा सदस्यको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो । उहाँ कृष्णदास श्रेष्ठ फाउन्डेसनको अध्यक्ष समेत रहनु भएको थियो । उहाँ ‘नेपाल चर्खा गान्धी तुुलसी स्मारक महागुठी’की मुख्य गुठियार समेत रहनु भएको थियो । साथै, उक्त महागुठीको दुई कार्यकाल महासचिवको पदमा रहेर समेत जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।