0 COMMENTS

कात्तिक २५, काठमाडौँ । आजदेखि यमपञ्चक अर्थात् हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहार शुरु भएको छ ।  यमपञ्चकको पहिलो दिन आज कागतिहार हो । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाउने चलन छ ।

आजै कात्तिक कृष्ण त्रयोदशीका दिन बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि रहको छ ।

यसवर्ष तिथिको घटबढका कारण भोलि कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ भने गाईपूजा पर्सि सोमवार परेको छ । गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा र आत्म अर्थात् म्हपूजा मङ्गलवार परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र म्हपूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । भाइटीका बुधबार परेको छ ।

समितिका अनुसार बुधबार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत छ ।

काग तिहारको धार्मिक महत्त्व

सांस्कृतिक चाड तिहारको धार्मिक र सामाजिक हिसाबमा आफ्नै विशेषता छ । बत्तिको झिलिमिली र खुसीयालीको पर्वको रुपमा रहेको तिहारलाई चेली माइती तथा पशुपंक्षीबीचको आत्मियता, घनिष्ठता बढाउने चाडको रुपमा पनि लिइन्छ ।

तिहारको कुरा गर्ना साथै हाम्रो दिमागमा झिलिमिली बत्तिको प्रकाश, घरआँगनमा फूलेका मखमली र सयपत्री जस्ता रङ्गी बिरङ्गी फूलहरु, देउसीभैलो टोलीको रमाइलो नाचगानको साथै सेलरोटी लगायत विभिन्न मिठाइको स्वाद आइहाल्छ । तर, तिहार पर्वको साँस्कृतिक महत्वमात्रै होइन धार्मिक महत्व पनि धेरै ठूलो रहेको छ । यमपञ्चक समेत भनिने तिहारको पाँच दिनमा क्रमैसँग काग, कुकुर, गाई, गोरु र आफ्ना दाजुभाइको पूजा गरिन्छ ।

तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइन्छ । यसको सुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहारबाट हुन्छ । तिहारको पहिलो दिनमा यमराजको दूत कागको पूजा गरिन्छ । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ ।

हाम्रो नेपाली समाजमा कागलाई सन्देश वाहक प्राणीको रुपमा लिइन्छ । अझै पनि गाँउघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही सन्देश ल्याएको वा घरमा पाहुना आउने जानकारीको दिएको मानिन्छ । कागले विशेषगरी अशुभ सन्देश छिटो ल्याउने जनविश्वास रहेको छ । त्यसैले अझै पनि आफ्नो घरआँगनमा आएर काग कराउन थाल्यो भने राम्रो खबर सुनाओस् भनेर ‘सुबोल‘ सुबोल‘’ अर्थात शुभ बोल भनेर भनिन्छ ।

हिन्दू धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ । आकाशबाट उडेर छिटो सन्देश ल्याउन लैजान सक्ने भएकाले यमराजले कागलाई आफ्नो दूत बनाएको धार्मिक विश्वास रहेको छ । त्यसैले काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभर आफ्नो घरमा दुःखद सन्देश ल्याँउदैन भन्ने विश्वास रहेको छ ।

यस्तै काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ। त्यसैले कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । त्यस्तै प्रकृतिको लागि पनि काग एउटा नभई नहुने पन्छी हो । यसले हाम्रो इकोसिस्टम’मा पनि ठूलो योगदान दिन्छ। हामीले लगाएको बालीनालीलाई हानी गर्ने किरा फट्याङ्ग्राहरुलाई खाइदिएर कागले अन्न उत्पादन बढाउन सहयोग गर्छ ।

यसले पर्यावरण स्वच्छ राख्न पनि महत्वपूर्ण भूमिका निभाउँछ। मानवसभ्यता र प्रकृतिसँग जोडिएको पन्छी कागको पूजा गर्नुलाई मानिसले प्रकृतिमा रहेका जीवजन्तुलाई गर्ने प्रेम र सम्मानको रुपमा पनि बुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।