0 COMMENTS

कात्तिक २५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक (असोजसम्म) को तथ्यांकले खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यवृद्धि दर १२.२३ प्रतिशत रहेको देखाएको छ । त्यसैगरी, मरमसलाको मूल्य ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अन्डाको मूल्य ११.९२ प्रतिशतले बढेको छ । प्रमुख खाद्य वस्तु तथा पदार्थको उच्च मूल्यवृद्धिको मार न्यून आय भएका विपन्न वर्गमा धेरै पर्छ ।

राष्ट्र बैंकका अनुसार असोजमा उपभोक्ता मूल्यवृद्धि दर औसतमा ७.५ प्रतिशत पुगेको छ । यसमध्ये खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ८.३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.८१ प्रतिशत छ । अधिकांश वस्तुको मूल्य बढे पनि घ्यूतेलको मूल्य भने गत वर्षको तुलनामा घटेको तथ्यांक छ । असोजमा घ्यूतेल समूहको मूल्य ११.६१ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको तुलनामा मनोरञ्जन तथा संस्कृतितर्फको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य १५.५५ प्रतिशतले बढेको छ । त्यसैगरी, विविध वस्तु तथा सेवाको १२.११ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुको ८.०८ प्रतिशत र फर्निशिङ तथा घरायसी उपकरणको ६.२५ प्रतिशतले मूल्य बढेको छ ।

असोजमा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि दर १०.२३ प्रतिशत छ । तराईको ५.६६ प्रतिशत, पहाडको ७.३८ प्रतिशत र हिमालको मूल्यवृद्धि १०.२४ प्रतिशत पुगेको छ । मूल्यवृद्धि दर उच्च रहे पनि तलब तथा ज्यालादर भने तुलनात्मक रूपले नबढेको केन्द्रीय बैंकले जनाएको छ । असोजमा तलब तथा ज्यालादर सूचकांक ५.६५ प्रतिशतले मात्रै बढेको छ । अघिल्लो वर्षको सोही महीनामा यस्तो सूचकांक ११.५९ प्रतिशतले बढेको थियो । असोजमा तलब सूचकांक र ज्यालादर सूचकांङ्क क्रमशः १.०५ प्रतिशत र ७.०५ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।