कात्तिक २२, काठमाडौँ । भेरी नगरपालिका–१ रावत गाउँका खलबहादुर महरको ६ जनाको परिवार शनिबारदेखि बारीमा त्रिपाल टाँगेर बसिरहेको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पले दुईवटा घर पूरै भत्किएपछि महरले भित्रका कुनै सामान निकाल्न पाएनन् । एकसरो लुगाका भरमा त्रिपालमुनि रहेका उनीहरू चिसो लागेर बिरामी परेका छन् ।
‘एकसरो कपडाका भरमा छौं । जहान र छोराछोरी जाडोले बिरामी परेका छन्,’ उनले भने, ‘मलाई त रातभर उनीहरूकै स्याहार गर्नै ठिक्क छ ।’ छोराछोरी र पत्नीलाई ज्वरो र रुघाखोकीले सताएको उनले बताए । नलगाड नगरपालिका–३ का सुदर्शन विकको परिवार झनै बिजोग अवस्थामा छ । महिना दिनकी सुत्केरी पत्नी रमा, दुई छोराछोरी र ७० वर्ष काटेका बाआमा ज्वरो र रुघाखोकीका बिरामी परेपछि स्याहार गर्न गाह्रो भएको उनले बताए । ‘शिशुदेखि बूढा बाआमा सबैलाई चिसोको असर देखिएको छ । पालमा शीत चुहिएर रातभरसुत्नै समस्या हुन्छ,’ उनले भने, ‘भूकम्पले पानीको मुहान भत्किएपछि खोलाको पानी पिइरहेका छौं, राति जाडोले सुत्नै सकिन्न, म पनि बिरामीजस्तै भइसकें ।’
सरकारले दिएको एउटा त्रिपाल, कम्बलले परिवारलाई चिसोबाट जोगाउन समस्या भइरहेको र घरभित्र पुरिएको सामान निकाल्न नपाउँदा झनै सास्ती बेहोर्नुपरेको उनीहरूको भनाइ छ । भूकम्पका कारण अस्तव्यस्त बनेको जाजरकोट सदरमुकाम खलंगामा खानेपानी नियमित नभएपछि बिमार फैलिने जोखिम भएको भेरी–३ का बद्री शाहले बताए । ‘चिसो मौसममा विपत्ति हुँदा ठूलो समस्या बनायो, न घर रह्यो, न सामान नै,’ उनले भने, ‘खानेपानीको पनि अभाव भएपछि विस्थापितमा स्वास्थ्य समस्या देखिने जोखिम भएको छ ।’ उनका अनुसार भूकम्पले अधिकांश शौचालयमा क्षति पुर्याएपछि पीडितहरू खुल्ला दिसा–पिसाव गर्न बाध्य छन् । जसले झाडापखाला फैलिने जोखिम बढाएको छ ।
जिल्ला अस्पतालमा पनि ज्वरो र रुघाखोकीका बिरामी बढिरहेको अस्पतालका सूचना अधिकारी कृष्णबहादुर खत्रीले बताए । ‘भूकम्पका घाइतेहरू ५ र ६ जना मात्र उपचारमा छन्, अब ज्वरोका बिरामी बढ्न थाले । दैनिक ३०–४० जना ज्वरो र रुघाखोकीको उपचारका लागि आइरहेका छन्, भर्ना नगरे पनि औषधि दिएर पठाइरहेका छौं ।’ प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले पीडितहरू चिसोले बिरामी पर्न थालेपछि सबै स्थानीय तहमा औषधि पठाइरहेको बताए । ‘दाताहरूबाट आएको औषधि सबै स्थानीय तहमा पठाइएको छ, डाक्टर र स्वास्थ्यकर्मी पनि गाउँमा भएकाले त्यस्तो आत्तिनुपर्ने अवस्था छैन ।
नलगाड–१ चिउरीटोलका गंगाबहादुर विकले गाउँका झन्डै १५० परिवारले बारीमा त्रिपाल टाँगेर बसिरहेको बताए । ‘गाउँपालिकाले हरेक परिवारलाई एउटा त्रिपाल र कम्बल दिएको छ, त्यसले सिंगो परिवारलाई के धान्थ्यो ? पुरिएका लत्ताकपडा अझै निकालिएको छैन, एकसरो कपडाको भरमा छौं ।’
गाउँमा १३ जनाले ज्यान गुमाएका थिए भने झन्डै ५० घर पूर्ण रूपमा भत्किँदा करिब २ सय चौपाया पुरिएका थिए । पशुचौपाया कुहिन थालेकाले बस्ती आसपास दुर्गन्ध फैलिएको उनले बताए । उद्धार र राहतको काम करिब सकिएकाले अब पीडितहरूको स्वास्थ्य अवस्थामा ध्यान दिनुपर्ने देखिएको भेरी नगरपालिका मेयर चन्द्रप्रकाश घर्तीले बताए । ‘पीडितहरूलाई पानी शुद्धीकरण गरेर मात्र पिउन अनुरोध गरिएको छ, अरू स्वास्थ्य समस्या देखिए उनीहरू बसेकै ठाउँमा स्वास्थ्यकर्मी पठाउने व्यवस्था मिलाएका छौं,औषधि सबै स्वास्थ्य संस्थामा पर्याप्त छ, स्वास्थ्यकर्मी पनि अलर्ट नै छन् ।’ नालगाडका नगर प्रमुख डम्बरबहादुर रावतले पीडितहरूलाई कम्बल, त्रिपाल, झन्डै चार साता पुग्ने दाल–चामल वितरण गरिएको बताए । ‘पीडितलाई न्यानो कपडा वितरण गर्न नसक्दा पनि केही समस्या भएको हो । पीडितको स्वास्थ्य समस्या हल गर्न गाउँगाउँमा स्वास्थ्यकर्मी खटाइएको छ ।’
राहत पर्खंदै दार्माका पीडित
सल्यानको दार्मा गाउँपालिका–२ लिरापाजाका उदयराम खत्रीलाई आफ्नै घर पराई जस्तै बनेको छ । ‘घरभित्र जाऊँ भत्किएला भन्ने डर, नजाऊँ अन्नपातदेखि लत्ताकपडा भित्रै छन् । घरपरिवारलाई के खुवाउने रु’ उनले भने । खत्रीको ५ जनाको परिवार खुला आकाशमुनि दिनरात कटाउन बाध्य छ । ‘साना छोराछोरी जाडो भयो । घरभित्र जाऔं भन्छन् । घर भत्किन्छ कि भन्ने डरले त्रिपालमुनि रात काट्न बाध्य छौं,’ उनी भन्छन् ।
घर भत्किएको पाँचौं दिन भइसक्दासमेत एक त्रिपालबाहेक केही नपाएको उनको गुनासो छ । घरभित्र बँचेको केही अन्नपात पनि निकाल्न नसकेको पीडितहरूको भनाइ छ । खत्रीजस्तै टेकबहादुर केसीको परिवार पनि शनिबारदेखि खुला आकाशमुनि बस्दै आइरहेका छन् । ५ लाख ऋण काडेर २ वर्ष पहिले बनाएको घर भूकम्पले पूरै भत्काएपछि उनी अहिले घरबारविहीन भएका छन् । पुरानो ऋण तिर्न नपाउँदै भूकम्पले घर पूर्ण रूपमा भत्काइदिएपछि त्रिपालमुनि बस्नुपरिरहेको उनको भनाइ छ । उनले भने, ‘अब साना छोराछोरीलाई खुवाउने पैसा खोजौं कि ऋण तिर्ने पैसा खोज्नु ?’
लीला खत्रीका पनि तीनवटै घर भूकम्पले भत्काइदिएको छ । भएका घर भूकम्पबाट भत्किएपछि उनको परिवार पनि खुला आकाशमा रात काट्दै आइरहेको छ । ‘चिसो सिजनमा खुला आकाशमा रात काट्नुको पीडा अरू के होला र ?,’ उनले भनिन्, ‘अन्नपात पुरिएपछि अब के खाने भन्ने चिन्ताले सताउन थालेको छ ।’ दार्माका झन्डै आठ सय परिवार शनिबारदेखि आकाशमुनि बस्न बाध्य छन् । भौतिक क्षति जाजरकोट र रुकुम पश्चिम बराबर नै भएको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताए ।
दार्माका १, २, ५ र ६ वडामा बढी क्षति भएको उनले बताए । उनका अनुसार मानवीय क्षति नभए पनि धेरै भौतिक क्षति भएको छ । भौतिक क्षतिको विवरण जाजरकोट र रुकुम पश्चिमबाट मात्र आउँदा दार्मा देशभर ओझेलमा परेको छ । भूकम्प गएको पाँचौं दिन भइसक्दासमेत रेडक्रसबाहेक कुनै पनि निकायबाट सहयोग नपाएको पीडितले गुनासो गरे । दार्माभरि भूकम्पबाट ७ सय ९४ घर क्षति हुँदा २४ सय ९७ जना विस्थापित भएको अध्यक्ष निमबहादुर केसीले बताए ।