0 COMMENTS

कात्तिक १९, भरतपुर । भूकम्प प्रभावितका लागि भरतपुर महानगरपालिकाले एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको ८७ औँ कार्यपालिका बैठकले सो निर्णय गरेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले जानकारी दिनुभयो । भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माण लगायतका कार्यमा सहयोग पुर्याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

जम्मा हुने सहयोग जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको ३ दिनको तलब, मावि शिक्षकको ३ दिनको तलब, आधारभूत तहका शिक्षकको २ तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हुने गरी मिलाइएको छ ।

भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्यन्न सहयोगका लागि सम्पूर्ण भरतपुरबासी आह्वान पनि गरेको छ । शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुममा ठूलो जनधनको क्षती भएको छ । भूकम्पको केन्द्रबिन्दु आसपास रहेका जाजरकोट, रुकुम लगायतका जिल्लाका धेरै कच्ची घरहरू भत्किएका छन् । मानवीय क्षतिसँगै पशुचौपाया र भौतिक संरचनामा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।