एउटै वाक्यमा भन्ने हो भने पुँजीवाद भनेको श्रम र ज्यालाको सम्बन्धमा आधारित मालको उत्पादन तथा वितरण गर्ने आर्थिक प्रणाली हो । पुँजीवादमा मालको उत्पादन समाजको आवश्यकतालाई हेरेर होइन, निजी मुनाफाका लागि गरिन्छ । यसको विकास १६ औँ शताब्दी अर्थात् आजभन्दा करिब ५०० वर्ष अगाडि भएको हो । पुँजीवादको वर्तमान चरण नवउदारवादी साम्राज्यवाद हो । यो एकाधिकारी पुँजीवाद अर्थात् साम्राज्यवादको पछिल्लो रूप हो । नवउदारवादद्वारा निर्देशित यो पुँजीवाद सङ्कट पछि सङ्कटमा झेलिंदै आएको छ । यो लेख सामान्यतः पुँजीवादका विशेषता, यसका अन्तर्विरोध तथा रूपहरू र मुख्यतः नवउदारवादी साम्राज्यवादको पछिल्लो सङ्कट एवम् सर्वहारा क्रान्तिको भविष्यको वरिपरि केन्द्रित रहनेछ ।
पुँजीवादी प्रणालीमा उत्पादनका साधनहरू र उत्पादित माल दुुबै मुट्ठीभर पुँजीपति वर्गको निजी स्वामित्वमा रहन्छन् । बाँच्नका लागि आफ्नो हात पाखुरा बेच्नबाहेक अरू केही स्रोत नभएका सर्वहारा वर्ग माल उत्पादन र अन्य सेवामा संलग्न हुन्छन् । ज्याला नै उनीहरूको एक मात्र बाँच्ने आधार हो । मजदुर वर्गको श्रम पनि माग र आपूर्तिका आधारमा मोल निर्धारित हुने बजारिया माल बन्न जान्छ । पुँजीवादको सार भनेको श्रमिक वर्गको श्रमको शोषण हो, यसैबाट पुँजीपतिले अत्यधिक नाफा कमाउँछ । फलतः समाजमा धनी र गरिबका बिचको आर्थिक खाडल झन् झन् फराकिलो बन्दै जान्छ । मालको मोल राज्यले निर्धारण गर्दैन, माग र आपूर्तिका आधारमा यो बजारमा आफैँँ घटबढ भइरहन्छ । सङ्क्षिप्तमा पुँजीवादका विशेषता यी नै हुन् । पुँजीवाद कुनै स्थिर र निर्विकल्प प्रणाली होइन, यो परिवर्तनशील छ । यसका आफ्नै अन्तर्विरोधहरू छन्, जसका कारण योे विभिन्न रूपमा परिवर्तन भइरहन्छ । ती अन्तर्विरोधहरू तल लेखिएअनुसार छन् ।
एक, सामूहिक उत्पादन र निजी स्वामित्व पुँजीवादको प्रमुख अन्तर्विरोध हो । पुँजीवादी व्यवस्थामा उत्पादनका साधन तथा उत्पादित मालमाथिको निजी स्वामित्वलाई सम्बन्धित देशको राज्यसत्ता र कानुनले संरक्षण गरेको हुन्छ । पुँजीपति र सर्वहारावर्गका स्वार्थ ठीक विपरीत हुन्छन् । तिनका बिचमा निरन्तर सङ्घर्ष चलिरहन्छ । यसलाई वर्गसङ्घर्ष भन्दछन् । यही नै पुँजीवादी प्रणालीको चालक शक्ति हो ।
दुई, मालको उत्पादन समाजको आवश्यकतालाई हेरी योजनाबद्ध रूपमा होइन, कुन माल उत्पादन गर्दा धेरै नाफा कमाउन सकिन्छ भन्ने आधारमा गरिन्छ । त्यस्तो माल उत्पादनका लागि पुँजीपतिहरूले स्वनिर्णयमा धेरैतिर पुँजी लगानी गर्छन् । उत्पादन प्रक्रियामा हुने यही अराजकताका कारण पुँजीवादी समाजमा बारम्बार अति उत्पादनको समस्या पैदा हुने गर्दछ र पुँजीवाद आर्थिक सङ्कटमा फसिरहन्छ । हरेक सङ्कटपछि हुने घाटालाई पुँजीपति वर्गले मजदुरको थप अतिरिक्त श्रमको शोषणबाट पूर्ति गर्दछ । पुँजीवादमा नाफा जति पुँजीपतिको खल्तिमा र घाटा जति मजदुरको थाप्लोमा पर्न जान्छ । तीन, पुँजीपति वर्गले अतिरिक्त मूल्यको एउटा हिस्सालाई पुँजीमा रूपान्तरण गरिरहेको हुन्छ । फलतः पुँजीपतिको सम्पत्ति बढिरहन्छ । तर मजदुरले सञ्चय गर्न पुग्ने गरी कहिल्यै ज्याला पाउँदैन । फलतः मुट्ठीभर पुँजीपति र श्रमजीवी वर्गका बिच आर्थिक खाडल कहिल्यै साँगुरिंदैन, फराकिलो भइरहन्छ ।
चार, पुँजीवादी उत्पादन पद्धतिमा राज्य र बजारको विशेष भूमिका रहन्छ । मालको माग र आपूर्तिका आधारमा बजारमा त्यसको मोल निर्धारण भइरहेको हुन्छ । पुँजीवादी राज्यले प्रशासकीय र दमनकारी संयन्त्रहरूको निर्माण गरी पुँजीपति वर्गको स्वार्थ रक्षा गरिराखेको हुन्छ । श्रमजीवी वर्ग पुँजीपति वर्गबाट शोषित हुन्छन् र राज्यबाट दमित हुन्छन् । पाँच, पुँजीवादको विकास समान प्रकारले हुँदैन, असमान हुन्छ । विकसित पुँजीवादी देशहरूले अविकसित देशहरूमा राजनीतिक वा सैन्य हस्तक्षेपद्वारा आफ्नो प्रभुत्व विस्तार गरिराखेका हुन्छन् । अल्पविकसित र अविकसित देशका जनता आन्तरिक तथा बाह्य गरी दुई प्रकारको शोषण र उत्पीडनमा परेका हुन्छन् । छ, पुँजीवादी समाजमा उत्पादक शक्ति र उत्पादन सम्बन्धका बिचमा अन्तर्विरोध हुन्छ । उत्पादक शक्तिको विकास एउटा निश्चित विन्दुमा पुगेपछि त्यसलाई विद्यमान उत्पादन सम्बन्धले थेग्न सक्दैन र त्यो उत्पादन सम्बन्ध उत्पादक शक्तिको विकासको वाधक हुन जान्छ । यो अन्तर्विरोधको समाधानका निमित्त सामाजिक क्रान्ति अनिवार्य हुन्छ ।
पुँजीवादी समाजका विशेषता र प्रमुख अन्तर्विरोधहरू यी नै हुन् । व्यापारबाट सुरु भएको पुँजीवाद उपर्युक्त विशेषता तथा अन्तर्विरोध र त्यसबाट पैदा हुने मजदुर विद्रोहलाई थामथुम पार्ने क्रममा पुँजीवादी समाज विभिन्न रूप हुँदै यहाँसम्म आएको छ । ती हुन् : व्यापारिक पुँजीवाद, शास्त्रीय पुँजीवाद, एकाधिकारी पुँजीवाद, कल्याणकारी पुँजीवाद र नवउदारवादी पुँजीवाद । यिनीहरूको रूपमा केही फरक भए पनि अन्तर्वस्तुमा तात्विक अन्तर छैन । यी सबै मजदुरको श्रम शोषण गर्ने र मुट्ठीभर पुँजीपतिलाई पोस्ने प्रतिक्रियावादी आर्थिक प्रणाली हुन् । पुँजीवादी व्यवस्थाको श्रम र पुँजीका बिचको अन्तर्विरोध पूर्ण रूपमा समाधान गर्ने अर्थ–राजनीतिक व्यवस्था वैज्ञानिक समाजवाद हो । यसले उत्पादनका साधन र उत्पादित मालमा श्रमजीवी वर्गको सामूहिक स्वामित्व कायम गरेर साम्यवाद तर्फको बाटो खोल्दछ । औद्योगिक क्रान्तिपूर्व युरोपमा विकास भएको पुँजीवादी प्रणालीको सबैभन्दा पहिलो रूप व्यापारिक पुँजीवाद हो । बिक्रीका लागि माल किनेर नाफा गरी बेचिने हुनाले यसलाई व्यापारिक पुँजीवाद भनिएको हो । युरोपका वेलायत, नेदरल्यान्ड जस्ता देशहरूले आफ्ना देशमा उत्पादित वस्तुलाई अन्य देशमा बिक्री गरी मूल्यवान् धातुहरू तथा नगद सञ्चय गर्ने प्रक्रियामा व्यापारिक पुँजीवादको विकास भएको थियो । १६ औँ शताब्दीको सुरुबाट व्यापारको नाममा अन्य देशमा प्रवेश गरेका पुँजीपति वर्गले आर्थिक शोषण त गरे नै त्यसमाथि क्रमशः राजनीतिक हैकम पनि कायम गर्न थाले । त्यो प्रक्रियामा धेरै देशहरू उपनिवेशमा बदलिए ।
समाज विकासको प्रक्रियामा वाष्प इञ्जिनको आविष्कार एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित भयो । रोजगारीका लागि सहर पसेका श्रमजीवी वर्ग, उपनिवेशहरूबाट दोहन गरिएको प्रसस्त सम्पत्ति र वाष्पइञ्जिनबाट चल्ने मेशिनहरूको प्रयोगका कारण माल उत्पादनको विधिमा गुणात्मक विकास हुन गयो । त्यसलाई औद्योगिक क्रान्ति भन्ने गरिन्छ । त्यो औद्योगिक क्रान्तिपछि वेलायत, फ्रान्स लगायत युरोपका कतिपय देशहरूमा उत्पादक शक्तिमा जुन गुणात्मक विकास भयो त्यसबाट पैदाभएको विद्रोहलाई व्यापारिक पुँजीवादले थेग्न सकेन । परिणामतः व्यापारिक पुँजीवादको गर्भबाट भिन्न रूपको पुँजीवाद जन्मियो, त्यसलाई शास्त्रीय पुँजीवाद, औद्योगिक पुँजीवाद, उदारवादी पुँजीवाद अथवा प्रतिस्पर्धात्मक पुँजीवाद पनि भनिन्छ । त्यो राष्ट्रिय चरित्रको पुँजीवाद थियो ।
१९ औँ शताब्दीको उत्तराद्र्धतिर विद्युतको आविष्कार भएपछि विद्युत–चुम्बकीय मोटरहरू निर्माण भए । त्यसबाट आधुनिक मेसिनहरू बने । पेट्रोल तथा डिजेल इञ्जिनबाट चल्ने गाडीहरू निर्माण भए । परिणामतः पुँजीवादी उत्पादन तथा वितरण प्रणालीले अर्को छलाङ् हान्यो, पुँजीवादको अभूतपूर्व विकास भयो । तर, त्यो विकासले अर्को सङ्कट जन्मायो, त्यो थियो मालको अति उत्पादन र पुँजीको केन्द्रीकरण । अर्थात्, पुँजीपतिहरूका लागि व्यापारको क्षेत्र साँगुरो भयो, पुँजी लगानी गर्ने ठाउँ र कच्चा मालको अभाव भयो । पुँजीवादी शासकहरूले उपनिवेशहरूको विस्तार गरेर तत्कालीन सङ्कट समाधान गरे । पुँजीको भूमिका र माल उत्पादन तथा वितरण प्रणालीका रूपहरू क्रमशः बदलिन थाले । माल निर्यातको ठाउँ वित्तीय पुँजीको निर्यातले लियो र १९ औँ शताब्दीको अन्तिम दशकतिर शास्त्रीय पुँजीवाद र उपनिवेशवादका गर्भबाट एकाधिकारी पुँजीवादको जन्म हुन गयो । लेनिनले एकाधिकारी पुँजीवादको गहिरो अध्ययन र अनुसन्धान गर्नुभयो । लेनिनका अनुसार एकाधिकार पुँजीवाद भनेको साम्राज्यवाद हो, यो पुँजीवादको अन्तिम चरण हो । उहाँले साम्राज्यवादका पाँचवटा विशेषता हुने कुरा बताउनुभएको छ । ती विशेषता हुन्– एक, उत्पादन र पुँजीको अति केन्द्रीकरण भएर एकाधिकारी पुँजी बन्छ । दुई, बैंक पुँजी र औद्योगिक पुँजी मिलेर वित्तपुँजी बन्छ । तीन, माल निर्यातको ठाउँ पुँजी निर्यातले लिन्छ । चार, विश्वमा एकाधिकार पुँजीवादी सङ्घको निर्माण हुन्छ, विश्व आपसमा बाँडिन पुग्दछ । र पाँच, ठुला पुँजीवादी शक्तिहरूका बिचमा विश्वको क्षेत्रीय विभाजन हुन्छ ।
उपर्युक्त विशेषताका आधारमा लेनिनले साम्राज्यवादको सारलाई यसरी संश्लेषण गर्नुभयो : एक, यो उत्पादनको प्रक्रियाबाट कट्छ; दुई, यो सुदखोरीमा बाँच्छ; तीन, यसले समाजमा अन्तर्विरोधलाई चर्काइ दिन्छ; चार, मजदुर आन्दोलनमा घुसेर सर्वहारा क्रान्तिलाई ध्वस्त पार्छ; पाँच, यसले संशोधनवादसँग घनिष्ट सम्बन्ध कायम गर्छ र छ, विश्वभर एकाधिकार कायम गर्नका लागि युद्धको तयारी गर्छ । लेनिनले साम्राज्यवाद भनेको युद्ध हो भन्नु भएको छ । एकाधिकार कायम गर्ने प्रतिस्पर्धाका कारण विश्वमा दुईओटा विश्वयुद्ध भइसकेका छन् । पहिलो विश्वयुद्ध पछि रुसमा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो भने दोस्रो विश्वयुद्ध पछि चीनमा नयाँ जनवादी क्रान्ति र पूर्वी युरोपका कतिपय देशहरूमा समाजवादी क्रान्ति सम्पन्न भयो । दोस्रो विश्वयुद्ध पछि प्रत्यक्ष शासन गर्ने औपनिवेशिक कालको अन्त्य भएको छ ।
औपनिवेशिक युगको अन्त्यपछि साम्राज्यवादी शासक वर्गले पहिलेका उपनिवेश र अर्ध–उपनिवेशका आफ्ना भरपर्दा दलालमार्फत् शोषणलाई भिन्न तरिकाले अगाडि बढायो । साम्राज्यवादको औपनिवेशिक नीतिका संवाहक ती नै दलालहरू बने । यसरी आफ्नो प्रत्यक्ष उपस्थितिबिना नै साम्राज्यवादले औपनिवेशिक उत्पीडनलाई निरन्तरता दियो । यसरी दोस्रो विश्वयुद्धको अन्त्यपछि नव–उपनिवेशवादको सुरुआत भयो ।
अर्कोतिर, पुँजीवादले एकपछि अर्को गरी सामना गर्दै आएको सङ्कट, दोस्रो विश्वयुद्धमा समाजवादी रुसको विजय र त्यसपछि चिनीया नयाँ जनवादी क्रान्तिको सफलताको पृष्ठभूमिमा पुँजीवादको रक्षा निकै चुनौतिपूर्ण बन्यो । त्यो स्थितिमा साम्यवादप्रति आकर्षित श्रमजीवी वर्गलाई भ्रम दिई पुँजीवादको रक्षागर्न वैज्ञानिक समाजवादका कतिपय आर्थिक कार्यक्रमहरू समावेश गरेर बेलायती अर्थशास्त्री किन्सले पुँजीवादको नयाँ मोडेल अगाडि सारे । यसलाई कल्याणकारी पुँजीवाद, किन्सियन पुँजीवाद, राज्य–नियन्त्रित पुँजीवाद अथवा मिश्रित अर्थतन्त्र पनि भन्ने गरिन्छ । यसले करिब तीन दशकसम्म पुँजीवादी अर्थतन्त्रमा केही सकारात्मक परिणाम पनि ल्याएको थियो ।
अन्तर्विरोधहरू चर्किनु र नयाँ–नयाँ सङ्कटहरू आउनु पुँजीवादका आफ्नै विशेषता हुन् । ७० को दशकको सुरुमै ब्रेटन वुड्स सम्झौता पछि विश्वभर अमेरिकी डलरको मागमा अत्यधिक बृद्धि, डलरको बाहिरी प्रवाहलाई रोक्न अमेरिकी रिजर्भ बैङ्कले ब्याजदरमा गरेको अस्वाभाविक बृद्धि र कच्चातेलको साविकको मूल्यमा चार गुनासम्मको बृद्धिले अमेरिकाबाट सुरुभएको आर्थिक सङ्कट बेलायत, क्यानाडा, अस्ट्रेलिया तथा पश्चिमी युरोपका देशहरू हुँदै विश्वभरि फैलियो । विश्व अर्थतन्त्र पूरै तहसनहस भयो । यहाँसम्म आइपुग्दा कल्याणकारी पुँजीवादले पनि सङ्कट टार्न सकेन, आफैँ असफल भयो । पुँजीवादको नयाँ सङ्कट टार्न नवउदारवादलाई अगाडि सारियो । यो विचारका प्रणेता फ्रेडरिक हायक थिए । उक्त विचारका आधारमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र बेलायती प्रधानमन्त्री मार्गारेट थ्याचरले अविकसित तथा अल्पविकसित देशहरूको अर्थतन्त्रलाई माथि उठाउने नाममा नवउदारवादको मोडेल पेश गरे । गत ८० को दशकको सुरुमा अमेरिकी सरकार, अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैङ्कका बिचमा एउटा सहमति भयो । त्यसमा बहुराष्ट्रिय कम्पनीहरू मार्फत् कुनै देशमा लगानी ल्याउँदा सम्बन्धित देशले पालना गर्नुपर्ने सर्तहरू निर्धारण गरिएका थिए । पछि १९८९मा बेलायती अर्थशास्त्री जोहन विलियमसनले सो सहमतिलाई वासिङ्टन सहमति नामकरण गरी त्यसले अगाडि सारेका सर्तहरूलाई दश बुँदामा सूत्रबद्ध गरे । तिनीहरूको अन्तर्वस्तु निम्नानुसार रहेको छ :
एक, राज्यले अन्तर्राष्ट्रिय मुद्राकोष र विश्वबैङ्कद्वारा निर्धारित वित्तीय अनुशासन स्वीकार्नुपर्दछ । दुई, कम्पनीको आवश्यकताअनुसार सार्वजनिक खर्चको प्राथमिकता पुनः मिलान गर्नुपर्दछ । तीन, बजार विस्तारका लागि कर प्रणालीमा सुधार गर्नुपर्दछ । चार, ब्याजदर तोक्ने जिम्मा बजारलाई दिनुपर्दछ । पाँच, मुद्राको विनिमय दर निर्धारण गर्ने जिम्मा बजारलाई छाड्नुपर्दछ । छ, आयातमा लगाइएका सबै खाले प्रतिबन्ध हटाउने र थोरै सीमा शुल्क लगाउने व्यवस्था गर्नुपर्दछ । सात, कम्पनीहरूले लगानी गर्न चाहेको ठाउँमा कानुनी बाधा अड्चन भए त्यसलाई फुकाइदिनुपर्दछ । आठ, राज्यको मातहत रहेका सबै खाले उद्योगहरूलाई निजीकरण गर्नुपर्दछ । नौ, बाह्य प्रतिस्पर्धाको अवरोध गर्ने सबै नियम–कानुनहरू खारेज गर्नुपर्दछ । र दश, कम्पनीले गरेको मुनाफामा थोरै मात्र आयकर लगाउने र त्यसलाई अनौपचारिक क्षेत्रका लागि उपलव्ध गराउने व्यवस्था मिलाइ दिनुपर्दछ । यी बाह्य लगानी चाहने राज्यले पुरागर्नु पर्ने दायित्व हुन् ।
वासिङ्गटन सहमतिका उपर्युक्त सर्तहरूले उत्पीडित राष्ट्रहरूको साधनस्रोत तथा बजार कब्जा गर्ने र बहुराष्ट्रिय कम्पनीलाई पोस्ने नवउदारवादको घोर प्रतिक्रियावादी चरित्र स्पष्ट गर्दछन् । यसले बजारलाई सम्बन्धित देशको राज्यले होइन बरु राज्यलाई साम्राज्यवादी बजारले परिचालन र नियन्त्रण गर्ने ठाउँमा पुर्याएको छ । शासकहरू यी सर्तका आधारमा विदेशी पुँजी ल्याएर राष्ट्रिय पुँजी ध्वस्त गर्ने र बहुराष्ट्रिय कम्पनीको कलो खाएर बाँच्ने विचौलिया दलाल ती कम्पनीको सुरक्षा गर्ने पहरेदार गएका छन् । जे विकास भएको छ त्यो दलाल पुँजीवाद मात्र हो । देशको स्वाधीनता समाप्त हुँदै गएको छ । उदारीकरण, निजीकरण र भूमण्डलीकरण साम्राज्यवादीहरूले अविकसित र अल्पविकसित देशहरूमा बहुराष्ट्रिय कम्पनीहरूका लागि निर्वाध लुटको बाटो खोल्ने र ती देशको राष्ट्रिय पुँजीलाई ध्वस्त पार्ने अर्थ–राजनीतिक अश्त्र बन्न गएका छन् । उत्पीडित देशका शासकहरूको भूमिका उपर्युक्त राष्ट्रघाति सर्तहरू लागु गरेर आफ्नो देशलाई साम्राज्यवादको हातमा सुम्पिने बहुराष्ट्रिय कम्पनीका महाप्रबन्धक र सुरक्षा गार्डको हैसियतमा सिमित हुन पुुगेको छ । भूमण्डलीकरण, निजीकरण र उदारीकरणका कारण उत्पीडित देशहरू वढी प्रभावित हुँदै आएका छन् । बहुराष्ट्रिय कम्पनीबाट उत्पादित मालको अनियन्त्रित आयातका कारण कृषि सहित औद्योगिक क्षेत्र ध्वस्त हुुँदै गइरहेको छ । मानिसहरू रोजगारीको खोजीमा गाउँबाट सहरतिर, उत्पीडित देशबाट विकासशील र विकसित देशतिर ओइरो लागिरहेका छन् । ठुला सहरहरूमा गरिबहरूको बस्ती बाक्लिएको छ, गाउँहरू खाली छन् । यसको अप्रत्यक्ष प्रभाव विकसित पुँजीवादी देशहरूमा पनि पर्न थालेको छ । ल्याटिन अमेरिकी देशहरूबाट मेक्सिको हुँदै अमेरिकामा र उत्तर अफ्रिकी देशहरूबाट भूमध्य सागर हुँदै युरोपमा मानिसहरूका वर्षेनी हुने ‘अवैध’ आप्रवासनको चाप बढदै गएको हामी सबैले देखेका छौँ ।
सामान्यतः यस शताब्दीको सुरुदेखि नै र विशेषतः दोस्रो दशकदेखि विज्ञान तथा प्रविधिको अभूतपूूर्व विकास भएको छ । यो वस्तुतः उत्पादक शक्तिको विकास हो । उद्योग तथा व्यवसायहरूमा कृत्रिम प्रज्ञा तथा रोबोटहरूको प्रयोगले स्थितिलाई झन भयावह बनाउँदै लगेको छ । आफ्नो लगानीबाट अत्यधिक अतिरिक्त मूल्य आर्जन गर्न पुँजीपति वर्गले प्रविधिको अनियन्त्रित विकास र प्रयोग गर्ने गर्दछन् । यसको असर रोजगारीमा पर्न गई विश्वभरिनै अर्धवेरोजगार र वेरोजगारहरू सडकछाप मजदुर बन्नेक्रम बढिरहेको छ । ग्रीक समाजशास्त्री हरारीका शव्दमा विश्वभरि निकम्मा वर्गको जमात बढिरहेको छ । बेरोजगारहरूको बृद्धि र उत्पादक शक्तिको अभूतपूर्व विकासका कारण श्रम र पुँजीका बिचको अन्तर्विरोध दिनप्रति दिन विष्फोटक हुँदै गइरहेको छ ।
पछिल्लो चरणमा साम्राज्यवादी देशहरू बिचका अन्तर्विरोधहरू पनि चर्किंदै गएका छन् । अमेरिकी नेतृत्वको नेटो र रुसका बिचको युक्रेन केन्द्रित युद्ध, दक्षिण चीनसागर क्षेत्रमा अमेरिकी ध्रुव र चिनीया ध्रुवका बिचको अन्तर्विरोध, ताइवान सङ्कट, अमेरिका तथा इरानका बिचको अन्तर्विरोध अर्थात् समग्रमा अमेरिकी ध्रुव र रुसी–चिनीया ध्रुवका बिचको द्वन्द्व तीव्र बन्दै गएको छ । यी सबै अन्तर्विरोधहरूको भुँवरीका बिचबाट युद्ध भड्किएर त्यसले विश्वयुद्धको रूप लिनसक्ने खतरा नकार्न सकिन्न । यसका अतिरिक्त अहिलेको विश्वको प्रधान अन्तर्विरोध अर्थात् साम्राज्यवाद र उत्पीडित राष्ट्र तथा जनताका बिचको अन्तर्विरोध पनि तीव्र बन्दैगएको छ । एउटै वाक्यमा भन्ने हो भने पछिल्लो चरणको पुँजीवादको सङ्कट टार्न भनी ल्याइएको नवउदारवादले थप सङ्कट निम्त्याएको छ र विष्फोटन उन्मुख छ ।
अर्कोतिर क्रान्तिकारी कम्युनिस्टहरूले विशेष ध्यानदिनुपर्ने महत्वपूर्ण विषय पर्यावरणीय असन्तुलन हो । अत्यधिक नाफाका निमित्त हुने अनियन्त्रित कार्बन उत्सर्जनले विश्वको तापक्रम बढिरहेको छ । यसैको परिणाम स्वरूप अतिवृष्टिका कारण बाढी पहिरोबाट भएको क्षति र अनावृष्टिका कारण खडेरीबाट भएको भोकमरी विश्वभरि नै गम्भीर बन्दै गएको हामीले देख्दै आएका छौँ । यही शताब्दीको उत्तराद्र्धतिर पुग्दा तापक्रम २ डिग्री सेल्सियसले बढ्ने वैज्ञानिकहरूको आँकलन छ । नासाले तयार पारेको चार्ट अनुसार अन्टार्टिकाबाट प्रतिवर्ष १५० अरव मेट्रिक टन र ग्रिनल्यान्डबाट २७० अरव मेट्रिक टन बरफ पग्लिरहेको छ । यही दरमा बरफ पग्लिंदै जाने हो भने २०५० सम्ममा माल्दिभ्सको ८० प्रतिशत भूभाग पानीमा डुब्ने अनुमान पर्यावरणविदहरूले गरेका छन् । सबै हिमक्षेत्र र हिम नदीहरूमा यति धेरै पानी छ कि त्यो सबै पग्लेको खण्डमा समुद्रको सतह २३० फिट (करिब ७० मिटर) माथि उठ्छ । यी सबै तथ्यबाट विश्वको तापक्रम बृद्धिको असर कति गम्भीर होला अनुमान गर्न गाह्रो छैन । पर्यावरणीय असन्तुलनका कारण आउने विपदहरूबाट बच्नका लागि पनि पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना अनिवार्य हुन गएको छ ।
यतिबेला पुँजीवाद त्यसको मरणासन्न चरण साम्राज्यवाद सङ्कटपूर्ण अवस्थामा पुगेको छ । वर्तमान विश्वका तीनओटै आधारभूत अन्तविरोधहरू विष्फोटक बन्दै र पर्यावरणीय समस्या भयावह हुँदै आएका छन् । साम्राज्यवादी शासकहरूले जतिसुकै सुधार गर्ने प्रयास गरे पनि त्यसले गर्ने भनेको अर्को सङ्कट थप्ने मात्र हो । इतिहासमा यस्तै हुँदै आएको छ । यस्तो बारम्बार आइरहने सङ्कटबाट मुक्त हुने एकमात्र विकल्प वैज्ञानिक समाजवादी क्रान्ति हो । यो स्थितिमा सम्भावित तेस्रो विश्वयुद्ध रोक्न र पुँजीवादको यो चौतर्फी सङ्कटलाई समाजवादी क्रान्तिमा बदल्नका निमित्त यति बेला संसार भरि नै सम्पूर्ण सच्चा क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध गर्नु र सर्वहारा क्रान्तिको योजनाबद्ध विकासका निमित्त हरसम्भव प्रयाश गर्नु मालेमावादी कम्युनिस्टहरूको एक मात्र दायित्व हो ।
स्रोत : नयाँ स्वाभिमान राष्ट्रिय मासिकबाट