0 COMMENTS

असोज ५, काठमाडौँ । सर्लाही सदरमुकाम मलंगवामा दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु लगाएको छ । बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदाबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

मुलुकको शान्ति सुरक्षालाई खलल पुर्‍याउने गरी ‘धार्मिक’ र ‘पहिचान’को मुद्दाले जरा गाड्दै गरेको भन्दै सुरक्षा निकायका प्रमुखले त्यसबारे सचेत हुनुपर्ने अवस्था आएको संसदीय समितिलाई ब्रिफिङ गरेका छन् । कोशी प्रदेशमा पहिचानको नाममा र तराई–मधेस र अन्य पहाडी क्षेत्रमा धार्मिक मुद्दाले जरा गाड्न लागेकाले राज्यका उच्च नेतृत्वले त्यसलाई कसरी निस्तेज पार्ने भन्ने रणनीति तयार गर्नुपर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखले संसदीय समिति र गृह मन्त्रालयको नेतृत्वलाई सुझाएका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले मुलुकको ‘तत्कालीन सुरक्षा चुनौती’का बारेमा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा बिहीबार ब्रिफिङ गरेका हुन् । समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्यसचिव वैकुण्ठ अर्याल, गृहमन्त्रालयका सचिव दिनेश भट्टराईलगायतको उपस्थितिमा महानिरीक्षकद्वय कुँवर र अर्यालले कोशी प्रदेशमा पहिचान, तराई–मधेस र अन्य पहाडी क्षेत्रमा धार्तिक अतिवाद फैलिँदो क्रममा रहेको उल्लेख गरे ।

भाद्र पहिलो साता सुनसरीको धरान उपमहानगरपालिकामा निषेधाज्ञा नै लगाउनुपरेको तथा मधेसका केही जिल्लामा पनि दुई धार्मिक समुदायबीच विवाद उत्पन्न भएको सन्दर्भ महानिरीक्षकहरूले उल्लेख गरेका थिए । नेपाल प्रहरीका महानिरीक्षक कुँवरले धार्मिक र पहिचानको मुद्दाले मुलुकको शान्ति सुरक्षामा चुनौती थपेको बताए । पहिचान र धार्मिक विवादले मुख्यतः तराई क्षेत्रको सुरक्षा अवस्थामाथि चुनौती रहेको कुँवरको भनाइ थियो । धार्मिक रूपमा धनुषा, महोत्तरी, सर्लाही, पर्सा र नेपालगञ्जमा सुरक्षा चुनौती उब्जिइरहेको उनको भनाइ थियो । सशस्त्र प्रहरीका महानिरीक्षक अर्यालले भने धार्मिक संघसंस्थाहरूले समाजमा गरिरहेका गतिविधिले मुलुकको शान्ति सुरक्षाको अवस्थामा कस्तो असर गर्छ भनेर विश्लेषण गर्न अति आवश्यक भइसकेको बताए ।

कोशी प्रदेशमा देखिएको पहिचान र धार्मिक मुद्दा कहाँसम्म पुग्ने भन्ने कुराको पनि समीक्षा गर्नुपर्नेमा पनि महानिरीक्षक अर्यालको जोड थियो । कोशी प्रदेशमा देखिएको सुरक्षा चुनौतीको समाधान कस्तो रूपमा गर्ने भन्ने निर्णय लिनुपर्ने उनको सुझाव थियो । कोशी प्रदेशको नामलाई लिएर विभिन्न जातीय संगठनहरूले आन्दोलन गरिरहेका छन् । त्यसलाई राजनीतिक दल निकट संगठनले पनि समर्थन गरिरहेका छन् । यस्तो अवस्थामा सुरक्षा चुनौती थपिइरहेको सुरक्षा निकायका प्रमुखहरूले बताएका हुन् । त्यस्तै धरान उपमहानगरपालिकामा मन्दिर र चर्चको विषयलाई लिएर विवाद भएको थियो । उक्त विवाद सकिन नपाउँदै गाई काटेको निहुँमा त्यहाँ विवाद हुँदा निषेधाज्ञा नै लगाउनुपरेको थियो । त्यस्तै, सर्लाहीको सदरमुकाम मलंगवामा भाद्र तेस्रो साता दुई धार्मिक पक्षबीच विवाद हुँदा कर्फ्यू लगाउनुपरेको थियो । तराईका अन्य जिल्लाहरूमा पनि धार्मिक संगठनका गतिविधि बढिरहेको र त्यो पहाडी क्षेत्रमा पनि फैलिन लागेको सुरक्षा निकायका नेतृत्वले बताइरहेका छन् ।

यसैबीच, सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ । गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएपछि स्थिति नियन्त्रण बाहिर गएको भन्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहीबार राति १० बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेका हुन् ।

‘आज मिति २०८०।०६।०४ गते बिहीबार राति १०ः०० बजेदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ, प्रजिअ यादवले जारी गरेको आदेशमा उल्लेख छ ।

साँझ भएको झडपमा आधा दर्जन घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ सेल अश्रुग्याँस प्रहार गरेको थियो । कर्फ्यू अवधिमा पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्टरबाबा पेट्रोल पम्म) सीमा क्षेत्रभित्र कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवम् अरु कुनै प्रकारको उच्छृंखल गतिविधि गर्न पाइने छैन ।

आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकताअनुसार बल प्रयोग गरी कानुनबमोजिम कारबाहीसमेत गरिने आदेशमा लेखिएको छ । डेढ साताअघि पनि दुई समुदायबीच झडपले उग्ररुप लिएपछि मलंगवामा कर्फ्यु लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।