असोज ४, काठमाडौँ । स्वाभिमान प्रकाशन गृह प्रा.लि. ले भोलि दिउँसो १ बजे होटेल हार्दिक (सद्भाव हल), बागबजार, काठमाडौँमा लेखक तथा साहित्यकार खेम थपलियाद्वारा लिखित ‘कम्युनिस्ट पार्टी संगठन’ नामक पुस्तकको सार्वजनिककीकरण एवम् विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
शुक्रबार स्वाभिमान प्रकाशन गृह प्रा.लि.का अध्यक्ष भीम चापागाईँले सम्पादकज्यू/समाचार प्रमुखज्यूलाई पत्रमार्फत विशेष अन्तरक्रिया कार्यक्रमको आफ्नो लोकप्रिय सञ्चार–माध्यमबाट समाचार संकलन तथा सम्प्रेषण गरी सहयोग गरिदिन हुन हार्दिक अनुरोध गरेका छन् । उक्त विशेष अन्तरक्रिया कार्यक्रममा वक्ता अतिथिहरु : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’, नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्की, नेकपा (एकीकृत समाजवादी) का महासचिव धनश्याम भुसाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, वरिष्ठ अभिवक्ता एकराज भण्डारी, राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी रहेका छन् ।
स्वाभिमान प्रकाशनका अध्यक्ष भीम चापागाईँद्वारा प्रेसित पत्रमा भनिएको छ, ‘स्वाभिमान प्रकाशन गृह प्रा.लि. प्रकाशनको क्षेत्रमा नयाँ उत्साह र ऊर्जाका साथ क्रियाशील प्रकाशन संस्था हो । नेपालका कम्युनिस्ट पार्टीहरु जटिल संगठनात्मक समस्यासित जुधिरहेको यतिबेला हाम्रो प्रकाशन संस्था स्वाभिमान प्रकाशन गृह प्रा.लि.द्वारा प्रकाशित एवम् लेखक तथा साहित्यकार खेम थपलियाद्वारा लिखित ‘कम्युनिस्ट पार्टी संगठन’ नामक नवीनतम् पुस्तकको निम्न मिति, स्थान र समयमा सार्वजनिककीकरण एवम् ‘कम्युनिस्ट पार्टी संगठन’ केन्द्रित विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । उक्त विशेष अन्तरक्रिया कार्यक्रमको यहाँको लोकप्रिय सञ्चार–माध्यमबाट समाचार संकलन तथा सम्प्रेषण गरी सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।’


 
             
			                             
			                            