0 COMMENTS

भदौ ५, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आँपटारीस्थित नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्दैछन् । त्यसका लागि प्रधानमन्त्री प्रचण्ड आज मध्याह्न हवाई उडानमार्फत् चितवन जान लागेका हुन् ।

प्रधानमन्त्रीले हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना तथा मर्स्याङ्दी कोरिडोरको ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस) प्रविधिमा आधारित सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम रहेकोछ । नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो ।

सबस्टेसन २०७७ को असारमा ठेक्का लागेर २०८० को साउनमा निर्माण सम्पन्न भएको थियो । यसको कूल लागत एक अर्ब ५२ करोड छ । हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ । ७ अर्ब ९४ करोड कूल लागतमा निर्माण सम्पन्न भएको यो प्रसारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता छ ।

हेटौंडा-भरतपुर र भरतपुर-बर्दघाट दुई खण्डमा विभाजन गरी यसको निर्माण गरिएको थियो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ ।

दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।