राणा भाइभारदारका लागि प्रारम्भ भएको नेपालको शिक्षा पद्धति यतिबेला वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको बहससम्म आइपुगेको छ । हुन त शासकहरू यतिबेला ‘सबैका लागि शिक्षा’ भन्न बाध्य छन् । तुलनात्मक रूपमा शैक्षिक संरचना र शिक्षण संस्थाहरूको सङ्ख्यामा व्यापक वृद्धि र विस्तार भएको देखिए पनि यसको सार र चरित्रमा गुणात्मक रूपमा वृद्धि र विकास हुन सकेको छैन । असमान र अन्यायी शिक्षा पद्धतिले सिङ्गो समाज आक्रान्त बन्दै गएको छ । शैक्षिक क्षेत्रमा आर्थिक हैसियत र पहँुचको आधार बेग्लाबेग्लै बनाइएको छ । आज नेपालका शैक्षिक प्रतिष्ठानहरू बेरोजगारी उत्पादन गर्ने कारखानामा परिणत गराइँदैछ । फेरि पनि शिक्षालाई मुठ्ठीभर कुलीन वर्गको हातमा सीमित गरिँदैछ । आजको शिक्षाले समाजमा गहिरोसँग नकारात्मक प्रभाव पार्दैछ । शिक्षालाई नागरिकको नैसर्गिक अधिकार त भन्ने र लेख्ने कुराजस्तो मात्र हुँदैछ । शिक्षाप्रति यति सारो वितृष्णा बढ्नु देशको लागि गम्भीर विषय हो । युवा विद्यार्थीको विदेश पलायन डरलाग्दो गरी बढिरहेको छ । यसैले आजको नेपालको शिक्षा एउटा गम्भीर सङ्कटतर्फ मोडिँदैछ । नेपालको लागि यो असामान्य परिस्थिति हो ।
सिद्धान्ततः नेपालको वर्तमान शिक्षा प्रणाली गलत छ भन्ने कुरामा करिब–करिब एकमत देखिन्छन् तर यसको पुनर्संरचना कसरी ? यसको पुनर्संचना कसले गर्ने ? वैज्ञानिक शैक्षिक दृष्टिकोण कस्तो हुने ? यसबारे सोच्न ढिलो भइसकेको् छ । नेपालको शिक्षा क्षेत्रमा बाह्य हस्तक्षेप बढिरहेको छ । विदेशी सम्बन्धन, विदेशी पाठ्यक्रम, विदेशी लगानी र विदेशी नामले हाम्रो शैक्षिक क्षेत्र चौपट हुँदैछ । हामीले वा हाम्रा छोराछोरीले विदेशीका लागि पढिदिनुपर्ने जस्तो, विदेशीका लागि सोचिदिनुपर्ने जस्तो अवस्था बनाइएको छ । शैक्षिक क्षेत्रका नीति निर्माताहरू विदेशी शक्तिकेन्द्रको चङ्गुलमा परेको छर्लङ्गै देख्न सकिन्छ । शैक्षिक संस्था स्वयम्ले विदेशतिरै लालायित गराउने मनोविज्ञान पैदा गर्दैछ । यस्तो किन भइरहेको छ भने शिक्षामा राज्यको स्वामित्व र दायित्व कमजोर र करिब करिब शून्य बन्दै जानु हो । दलाल तथा नोकरशाही पुँजीपति वर्गको लगानी शिक्षा क्षेत्रमा गुणात्मक ढङ्गले वृद्धि हुनुले शिक्षा क्षेत्रमा माफियाकरण तथा भ्रष्टीकरणको चरम हालीमुहाली देखिन्छ । आज यदाकदा राज्यले शिक्षा क्षेत्रको बारेमा बोलिहाल्यो भने पनि त्यो लागू हुने अवस्थामा छैन ।
सही कुरा हो कि व्याख्या गर्नु ठूलो कुरा होइन, बदल्नु ठूलो कुरा हो तर नेपालको शिक्षाले बदल्ने काम गरेन । आफू पनि बदलिएन । झन् उल्टै युवा विद्यार्थीको बदला लिने काम गरेको छ । हाम्रा शिक्षाले विद्यार्थीलाई फ्रस्टेसन बाँडिरहेको छ, निरीह बनाइरहेको छ, भ्रष्ट बन्न पे्ररित गरिरहेको छ । ‘हात्ती पढेर ठूलो भा’को हो र’ जस्तो मनोविज्ञान बाँड्दैछ हाम्रो शिक्षाले । माओले भन्नुभएजस्तै विद्यालयले आफ्नो सबै कार्यमा विद्यार्थीहरूको विचारधारालाई रूपान्तरण गर्नेखालको उद्देश्य राख्नुपर्दछ । ज्ञान र व्यवहारलाई अलग गर्न नमिलेजस्तै शिक्षालाई श्रमबाट अलग गर्न मिल्दैनथ्यो तर नेपालमा परिवेश त्यस्ते छैन र रहेन पनि । व्यावहारिक, जनमुखी, व्यावसायिक शिक्षाको अर्को नाम नै श्रमशिक्षा हो । निश्चित कुरा हो कि अबको शिक्षा भनेको सिर्जना, निर्माण र उत्पादनमुखी शिक्षा हुनुपर्दछ । शिक्षाले समानताको कुरा गर्दछ तर समकालीन परिवेश ठीक उल्टो छ । नेपालको विद्यमान शिक्षामा असमानता र विभेदको खाडल गहिरिंदै गइरहेको छ । मुटु दह्रोगरी भन्ने हो भने नेपालमा यतिबेला दलाल तथा माफियाहरूको मनपरी चलिरहेको छ । शैक्षिक क्षेत्रमा आर्थिक ब्रह्मलुट चलिरहेको छ । शिक्षालाई अरबौँ सम्पत्ति आर्जन गर्ने थलो बनाइएको छ । विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीहरू पढेर के गर्ने ? के बन्ने ? कसैले पनि भन्न सक्ने अवस्था छैन, पूरै अन्यौलको अवस्था छ । यसर्थ, यी तमाम शैक्षिक विकृति र विसङ्गतिबाट उन्मुक्ति भनेको वैज्ञानिक समाजवादी शिक्षा प्रणाली अपनाउनु नै हो ।