0 COMMENTS

 कात्तिक १७, भोजपुर । भोजपुरका एक युवाहरूको समूहले देखाएको सामाजिक जागरण र समर्पण अहिले जिल्लामा प्रेरणाको विषय बनेको छ । विभिन्न पेसा व्यवसायमा आवद्ध ती युवाहरूले आफ्नो व्यस्त जीवनकाबीच पनि समाजका लागि केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।

करिब ७० जना युवाको सक्रिय सहभागितामा गठित ‘बिहानी फुटबल क्लब’ ले खेलकुदसँगै सामाजिक सेवामा पनि उत्कृष्ट योगदान दिइरहेको छ । उनीहरूले शहीद उद्यान, देउराली पार्कलगायतका स्थानमा दर्जनौँ राष्ट्रिय झण्डा राख्दै, ती झण्डाको नियमित हेरचाह र फेरबदल गर्ने काम निरन्तर गर्दै आएका छन् ।

क्लबका सचिव रिपेश भुजेलका अनुसार युवाहरू स्वतःस्फूर्त रुपमा रकम सङ्कलन गरेर सामाजिक काम गर्दै आएका छन् । त्योसँगै देउसी भैलो खेलेर सङ्कलित रकमबाट पनि सामाजिक काम गर्दै आएको भुजेलले जानकारी दिए । ‘हामी करिब ७० जना युवा मिलेर यहाँको सामाजिक काममा जुटेका छौँ’ सचिव भुजेलले भने, ‘यहाँका अधिकांश सामाजिक काममा हाम्रो संलग्नता छ । समाजमा केही उदाहरणीय काम गरौँ भनेर हामी एकजुट भएका हौँ ।’

युवाहरूले हरेक वर्ष बजार क्षेत्रको सरसफाइदेखि डेङ्गी नियन्त्रणसम्मका अभियान सञ्चालन गर्दै आएका छन् । बजार क्षेत्रमा विषादी छर्ने, सरसफाइ सचेतना फैलाउने र सार्वजनिकस्थल सफा राख्ने काममा उनीहरूको अग्रणी भूमिका रहँदै आएको छ ।

सामाजिक उत्तरदायित्वलाई खेलकुदसँग जोड्दै अघि बढेको ‘बिहानी फुटबल क्लब’ अहिले भोजपुरको युवा शक्ति र एकताको प्रतीक बनेको छ । युवाको यो सामूहिक प्रयासले स्थानीय समाजमा सकारात्मक सोच, स्वच्छ वातावरण र एकताको भावना फैलाउँदै गएको स्थानीय जानकारको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।