0 COMMENTS

साउन २९, काठमाडौँ । बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गाईभैंसीको महामारी रोग लम्पी स्किन डिडिज् नियन्त्रण तथा रोकथामको लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन कार्ययोजना, २०८० मिति २०८०/०४/१० गते स्वीकृत गरी बागमती प्रदेशका १३ वटै जिल्लामा मिति २०८०/०४/२५ देखि २०८०/०४/३१ गते सम्म सञ्चालन हुने गरी शुभारम्भ गरेको छ । खोपको शुभारम्भ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु ललितपुर, काभ्रे, दोलखा, सिन्धुली, मकवानपुर, चितवन, धादिङ र नुवाकोट गरी ८ वटा विज्ञ केन्द्रहरुले आ-आफ्नो कार्यक्षेत्रका स्थानीय तहका पशु सेवा शाखाहरुसंगको समन्वय र सहकार्यमा कार्यक्रम सञ्चालन गरेका छन ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरको  आयोजनामा कालढुङ्गा गाईपालन तथा दूध डेरी फर्म काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकीमा रहेको पार्वती बोहराज्यूद्वारा सञ्चालन फर्ममा खोप शुभारम्भ कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमको अध्यक्षता भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका प्रमुख डा. राम प्रकाश प्रधानज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथि बागमती प्रदेश सरकार  कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री डा. राजेन्द्र मान श्रेष्ठज्यूले गर्नु भएको थियो । विशिष्ठ अथिति बागमती प्रदेश सभा सदस्य माननीय नुरज बज्राचार्य र माननीय रमा आले मगरज्यूले गर्नु भएको थियो । त्यसै गरी अतिथि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौडाका  निर्देशक डा. गौरीमान श्रेष्ठज्यूले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा भेटेरिनरी अस्पतालका पशु विकास अधिकृत  तथा सूचना अधिकारी बासुदेव नाथ,  पशु सेवा अधिकृतद्वय डा. निशा तिमल्सिना र डा. निशा सञ्जेल एवं चन्द्रागिरी नगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक डा. अमिक श्रेष्ठ र प्राविधिक नमुना पन्तको उपस्थिति थियो । उक्त कार्यक्रमामा स्थानीय गाईभैंसीपालक कृषकहरुको समेत उपस्थिति थियो ।

कार्यक्रमको सुभारम्भ बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री डा. राजेन्द्र मान श्रेष्ठज्यूबाट खोपकर्ता श्री यमलाल मरासिनीलाई लम्पी स्किन रोग विरुद्धको खोप तथा आवश्यक लजिष्टिक सपोर्टका सामाग्रीहरु हस्तान्त्रण गरी गरिएको थियो । सोही क्रममा कालढुङ्गा गाईपालन तथा दूध डेरी फर्ममा रहेका २२ वटा होलिष्टिन जातका गाईलाई लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको थियो ।

कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. गौरीमान श्रेष्ठज्यूले रोगको रोकथाम तथा नियन्त्रणको लागि खोप नै महत्वपूर्ण रहेकोले चालु आर्थिक वर्षको सुरुमा नै अभियानको रुपमा सुरु गरिएको साथै यस कार्यक्रमले प्रदेश लगायत मुलुक भरी नै लम्पी स्किन रोग न्यूनिकरणको लागि जनचेतना फैलाउने उद्देश्य रहेको बताउनु भयो ।त्यसै गरी आगामी दिनमा यस रोगलाई नियन्त्रण तथा रोकथामको लागि निर्देशनालयले कुनै कसर बाँकी नराख्ने र खोप कार्यक्रमलाई निरन्तरता दिइने कुरा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका विशिष्ठ अतिथि बागमती प्रदेश सभा सदस्य माननीय रमा आले मगरज्यूले कार्यक्रम ढिलो भएपनि पिडित कृषकहरुलाई राहत महसुस गराउनको लागि यो कार्यक्रमले थप हौसला प्रदान गर्ने कुरा व्यक्त गर्नु भयो । यस रोगको समयमै रोकथाम तथा नियन्त्रणका उपायहरु अवलम्बन गर्न सकेको भए यति ठुलो क्षति हुने थिएन तथापि ढिलै भएपनि रोगको असर नपरेको पशुवस्तुलाई अव जोगाउन थप मद्दत मिल्ने कुरा व्यक्त गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री डा. राजेन्द्र मान श्रेष्ठज्यूले रोग नफैलिएका स्थानका गाईभैंसीमा थप क्षति हुन नदिनको लागि अभियानले निकै महत्वपूर्ण भूमिका रहने र रोगको रोकथाम तथा नियन्त्रणको लागि  थप खोप आवश्यक भएमा मन्त्रालयले उपलब्ध गराउने बचन दिनुको साथै बागमती प्रदेशका सबै जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र राख्नको लागि समेत पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै फर्म सञ्चालक श्री पार्वती बोहराज्यूले ढिलै भएपनि कार्यक्रमले उत्साहित गरेको कृषकसंग सरकार साथमा रहेको अनुभूति गराएको छ र आगामी दिनमा खोप कार्यक्रमलाई निरन्तरता दिनु पर्ने  कृषकहरुलाई तालिमको व्यवस्था गरिनु पर्ने र कृषकको पहिचान हुने गरी कृषक परिचयपत्रको व्यवस्था गरिनु पर्ने माग राख्नु भएको थियो । त्यसै गरी गाईपालन गरेको आठ वर्षको अवधिमा आफ्नो फर्ममा काम गर्ने आठ दश जाना कर्मचारीहरुलाई फार्म मालिक बनाएको जानकारी दिनु भयो ।

कार्यक्रमका अध्यक्ष एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका कार्यालय प्रमुख डा. राम प्रकाश प्रधानज्यूले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा रहेका सम्पूर्ण गाईभैंसीपालक कृषक तथा उद्यमी दाजुभाई तथा दिदि बहिनीहरुले तीन महिना माथिका हालसम्म रोग देखा नपरेका र खोप नलगाएका गाई, भैंसी, गोरु, राँगा, पाडापाडी तथा बाच्चाबाच्छीहरुलाई नि: शुल्क खोप लगाई आफ्ना पशु धनको  सुरक्षा गरी खोप अभियानलाई सफल पार्न सबै सरोकारवालाहरुलाई हार्दिक अपिल गर्नु भयो ।

कार्यक्रम सञ्चालन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अधिकृत कृष्ण बाहादुर कार्कीज्यूले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।