0 COMMENTS

साउन २९, काठमाडौँ । सप्तकोशी र नारायणी नदीमा पानीको अत्यधिक बहाव बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ भने गण्डक ब्यारेजका पनि ३६ वटै ढोका खोलिएको छ । । आज बिहानको मापन अनुसार सप्तकोशीमा ४ लाख ५२ हजार ७१० क्यूसेक प्रति सेकेन्ड पानीको बहाब रहेको ब्यारेजस्थित प्रहरीले जनाएको छ ।

प्रहरीले पानीको बहाब बढेकै कारण सुरक्षा सतर्कता बढाईएको बताएको छ । यद्यपि सवारी साधन आवतजावत भने सहज ढंगले नै भइरहेको छ । प्तकोसीमा एक लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको सङ्केत मानिन्छ । त्यस्तै नारायणी नदीमा पानीको बहाव बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजको सबै ढोका खोलिएको हो । पानीको सतह खतरा नजिक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी अमित खड्काले जानकारी दिए । ब्यारेजमा अहिले २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको खड्काले जानकारी दिए ।

ब्यारेजका संरचना निकै नै पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिन्छ । नारायणी नदीको नारायणगढ पुलमा पानीको सतहले चेतावनीको तह पार गरेको छ । ११ मिटर पुगेपछि चेतावनीको तह मानिनेमा अहिले ११ दशमलव १५ मिटर पानीको प्रवाह रहेको छ । नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

प्रहरी प्रशासनलाई सम्भावित दुर्घटनाका लागि जिल्लामा तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जनाएका छन् । यसैबीच, कोशी, नारायणी, कर्णाली, बबई, महाकाली र यसका सहायक नदीको किनारामा बसोबास गर्ने नागरिकहरुलाई उच्च सतर्कता अपनाउन सरकारी निकायहरुले सार्वजनिक सूचना समेत जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।