0 COMMENTS

साउन २४, धनगढी ।  कैलालीमा अविरल वर्षासँगै चुरे पहाडमा आएको पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग अझै खुलेको छैन । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ को बुढीतोलास्थित भीमदत्त राजमार्ग भासिएकोमा मर्मतको काम नसकिएको हो । 

प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार सडक भासिएको ठाउँसम्म डोजर पुगेको छैन । भासिएको ठाउँ भन्दा अत्तरिया तिर पनि पहिरोहरु भएकाले सडक मर्मतमा समय लागेको हो । मंगलबार साँझ फेरि वर्षा सुरु भएको छ । वर्षाका कारण पहिरो हटाउने काम रोकिएको छ ।

सोमबार रातिको अविरल वर्षापछि पहिरोसँगै भासिएको भीमदत्त राजमार्ग सुचारु गर्न तीन वटा डोजरले काम गर्दै छन् । सुदूर-पश्चिमका ७ पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग नै भासिएपछि मंगलबारबाट तराई र पहाडको यातायात अवरुद्ध भएको छ । यात्रुहरु पैदल हिडर यातायातका साधान भएको ठाउँसम्म जाने गरेका छन् । बुढीतोला क्षेत्रमा भासिएको सडकबाट मान्छे पनि हिड्न सक्ने अवस्था छैन । बुढीलोलास्थित बाख्रा फार्मभन्दा करिब ३ सय मिटर दक्षिण अत्तरियातर्फ भावर भन्ने ठाउँमा पहिरो खस्दा सडक भासिएको हो ।

पहिरोले अवरुद्ध सडक खोल्न मंगलबार बिहानबाटै सडक डिभिजनको गोदावरीस्थित हेवी इक्पिमेण्ट डिभिजनका उपकरण तथा प्राविधिकहरु खटिएका छन् । तर, वर्षाका कारण सडक खोल्ने काममा बाधा आइरहेको छ । बुढीतोला र अत्तरिया दुबैतर्फबाट भारी उपकरणको प्रयोग गरेर छिटोभन्दा छिटो सडक सुचारु गर्ने प्रयास भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले बताएको छ । जमिनमुनी पनि पानीको अत्यधिक मात्रा रहेको हुनाले एकतर्फी यातायात चल्न सक्ने गरी सडक मर्मत गर्न समेत कठीन हुँदैछ । पहिरोका कारण जमिनमुनी ठूला ढुंगा र रुख रहेकाले पनि समस्या भइरहेको हो । 

बुधबारसम्म एकतर्फी यातायात सञ्चालन हुने दाबी गरिएको छ । तर, मंगलबार साँझ वर्ष सुरु भएकाले अझै समस्या हुने देखिएको छ । यातायात सुचारु गर्न समय लाग्ने देखिएमा वैकल्पिक पदमार्गको प्रयोग गरेर यात्रुलाई पैदल हिड्दै यातायात भएको ठाउँसम्म ल्याउने र गन्तव्यमा पुर्याउने काम हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।